काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी) ले नेपाललाई २ सय ५ रनको लक्ष्य दिएको छ। यूएईको सारजाहमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४ रन बनायो।
पीएनजीका चार्ल्स अमिनीले ५९ रनको अर्धशतकीय इनिङ खेले। सोमपालको ओभरमा दिपेन्द्रको हातबाट आउट हुनुअघि उनले ८२ बल खेल्दै ७ चौका प्रहार गरे। यस्तै ओपनर टोनी उराले २७ तथा लेगा सियकाले २५ रन बनाए। चद सोपरले ३५, नोरमान भानुले २३ असद भालाले १९ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।
नेपालका सोमपाल कामीले ३ विकेट लिए । यस्तै सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले समान १/१ विकेट लिए। नेपाल आज पीएनजीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ। पीएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने योजनामा रहेको छ।



लोकपाटी न्यूज

