यू-१९ राष्ट्रिय क्रिकेटका लागि सुदूरपश्चिमको टोली घोषणा

Cricket
लोकपाटी न्यूज

कैलाली। मुख्यमन्त्री कप १९ वर्षमुनिको राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ। सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टका अनुसार प्रतियोगिताका लागि १४ सदस्यीय टोली घोषणा गरिएको हो।

टोलीमा स्नेहा महरा, मनिषा चौधरी, अन्नु कडायत, जानकी थापा, सुधा धामी, पवित्रा धामी, यशु पाण्डेय, यशोदा विष्ट, मनिषा बोहरा, सीमा कुँवर, आयुष्मा धानुक, रमा बुढाथोकी, अनिता जोशी र राधिका पुजारा रहेका छन्। यस्तै लक्ष्मी महर, कषिश पाल, चेतना कुँवर र मनिषा बोहरा वैकल्पिक खेलाडीको रुपमा छनोट भएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ।

बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा १४ जनाको टोली घोषणा गरिएको सुदूरपश्चिम क्रिकेट प्रशिक्षक जानकी कुमारी भट्टले बताए। नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रदेशको सहयोगमा यही चैत ६ गतेदेखि धनगढीमा १९ वर्षमुनिको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता हुदैछ। १९ वर्षमुनिको मुख्यमन्त्री कप महिला क्रिकेट प्रतियोगिता पहिलो पटक आयोजना गरिएको हो।

धनगढीको फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा मुलुकको सातै प्रदेशको सहभागिता रहनेछ। उद्घाटन खेलमा सुदूरपश्चिम र कर्णालीबीच प्रतिस्पर्धा हुने छ। प्रतियोगिताले महिला क्रिकेट खेलाडी उत्पादन र विकासमा सहयोग पुग्ने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बताए।