महिला विश्वकप : वेष्ट इण्डिजविरुद्ध अष्ट्रेलियाको फराकिलो जित

लोकपाटी न्यूज

काठमाडौं। न्यूजिल्याण्डमा जारी आईसीसी महिला एकदिवसीय विश्वकप अन्तर्गत अष्ट्रेलियाले लगातार जित निकालेको छ। मंगलबार भएको खेलमा वेष्ट इण्डिजलाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले लगातार जित हात पारेको हो।

वेष्ट इण्डिजले दिएको १ सय ३२ रनको सामान्य लक्ष्य पछ्याएको अष्ट्रेलियाले ३०.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो। उसका लागि राचायल हायनेसले सर्वाधिक अविजित ८३ रनको योगदान दिइन्। त्यस्तै, बेथ मुनीले नटआउट २८ रन बनाएर आफ्नो टिमलाई जित दिलाइन्।

वेष्ट इण्डिजका लागि बलिङमा हेली म्याथ्यूज, समिलिया कोनेल र चिनेले हेनरीले एक/एक विकेट हात पारिन्। त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको वेष्ट इण्डिजले ४५.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३१ रन बनाएर अलआउट भयो।

वेष्ट इण्डिजका लागि कप्तान स्टाफानिया टेलरले सर्वाधिक ५० रनको योगदान दिइन्। अष्ट्रेलियाका लागि बलिङमा इलियसे पेरी र असलेघ गार्डनरले समान तीन, जेस जोनसेनले दुई र मेगन स्चुटले एक विकेट हात पारिन्।

आजको जितसँगै अष्ट्रेलियाले चार खेलबाट आठ अंक जोड्द्र तालिकाको शीर्ष स्थानमा रहेको छ। त्यस्तै, आजको हारसँगै वेष्ट इण्डिज चार खेलमा दुई मा जित र दुई हारबाट चार अंक जोड्दै तालिकाको पाँचौ स्थानमा रहेको छ।