काठमाडौं। सहिद स्मारक ‘बी’ डिभिजन फुटबल लिग अन्तर्गत सरस्वती युथ क्लबले दोस्रो जित हात पारेको छ। शुक्रबार एन्फा कम्पलेक्समा भएको खेलमा खुमलटार युथ क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै सरस्वतीले दोस्रो जित हात पारेको हो।
सरस्वतीको जितमा अनिस परियार र अर्जुन गुरुङले एक/एक गोल गरे। खुमलटारका लागि एकमात्र गोल सविन केसीले गरे। सविनले २७ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए।
तर सरस्वतीले एक गोलको अग्रतालाई उल्टाएर दुई गोल गर्दै खेल जित्यो। अनिसले ४९ औं मिनेटमा सरस्वतीका लागि गोल गर्दै खेल १/१ को बराबरीमा पुर्याए। निर्धारित समयको ५ मिनेट बाकी छदा ८५ औं मिनेटमा अर्जुनले गोल गर्दै सरस्वतीलाई जित दिलाए।
सरस्वतीको यो चार खेलमा दोस्रो जित हो भने उसले दुई खेलमा बराबरीको नतिजा निकालेको छ। सरस्वतीले चार खेलबाट ८ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ।



लोकपाटी न्यूज

