अतिरिक्त मूल्य
१. अतिरिक्त मूल्य पुँजीवादी उत्पादन पद्धति अन्तर्गत पुँजीपतिले मजदुरको श्रमबाट नाफा आर्जन गर्ने एक तरिका हो। मार्क्सले आफ्नो विश्वप्रसिद्ध ‘पूँजी’ मार्फत् पहिलोपटक अतिरिक्त मूल्यको रहस्योद्घाटन गरेका थिए।
२. प्रत्येक उत्पादन पद्धतिमा (Mode of Production) ‘उत्पादक शक्ति’ र ‘उत्पादन सम्बन्ध’ यी दुई विपरित पक्ष हुन्छन्। यिनै पक्षहरूको आपसी सङ्घर्ष र अन्तक्र्रियाका कारण एउटा निश्चित सामाजिक व्यवस्था बिघटन हुने, अर्को नयाँले जन्म लिने त्यसको आर्थिक आधार खडा हुने र आर्थिक आधारको जगमा राजनीति, धर्म, संस्कृति जस्ता उपरी संरचनाको निर्माण हुने गर्दछ।
३. पुँजीवादी उत्पादन पद्धतिका दुई विपरित पक्षको सवालमा ‘उत्पादक शक्ति’ (Productive Force) भनेको उत्पादन कार्यमा उत्पादनका साधन (कामको लागि प्रयोगमा आउने साधनहरु जस्तो कि मेशिन, औजार, प्रविधि आदि) चलाउने सर्वहारा वर्ग हो। उत्पादक शक्तिमा निर्जीव साधनको भन्दा पनि तिनलाई सञ्चालन गर्ने शिपयुक्त मजदुरको भूमिका प्रमुख हुन्छ। उत्पादन कार्यका सिलसिलामा मजदुर उत्पादनका साधनमा स्वामित्व कायम गर्ने पुँजीपति वर्गसँग उत्पादन सम्बन्धमा जोडिन पुग्छ। वर्गीय समाजमा ‘उत्पादन सम्बन्ध’ (Relation of Production) भनेको हुने र नहुनेबीचको सम्पत्ति सम्बन्ध (Property Relation) हो।
४. पुँजीवादी उत्पादन प्रक्रियामा सबैभन्दा पहिले हुने दुई पक्षबीचको संझौता बमोजिमको ज्याला (Wages) निर्धारण हो। ज्याला भनेको पुँजीपतिले मजदुरको श्रमशक्तिको खरिद गरेवापत मजदुरलाई नगदमा दिने भुत्तानी हो।
५. मजदुरले ज्यालावापत बेच्ने ‘श्रम’ (Labour) होइन, ‘श्रमशक्ति’ (Labour Power) हो। श्रम र श्रमशक्तिबीच भिन्नता छ। श्रम भनेको व्यक्तिले आफ्नो आवश्यकताको पूर्तिका लागि गर्ने काम हो। श्रमवापत मानिसले कुनै मूल्य पाउँदैन। पुँजीपतिलाई बेच्ने श्रम जसवापत मजदुरले मूल्य (ज्याला) प्राप्त गर्दछ, त्यो नै श्रमशक्ति हो।
५. जुन वस्तु पुँजी बजारमा बेचिन्छ, त्यो ‘माल’ (Commodity) हो। मजदुरको श्रमशक्ति पुँजी बजारमा बेचिने हुनाले त्यो माल बन्न जान्छ। तर श्रमशक्ति अन्य मालभन्दा भिन्न एक अमूर्त माल हो। त्यो मजदुरको शारिरिक श्रम र मानसिक श्रमको कुल जोड हो।
६. श्रमशक्ति दुई अवस्थामा मात्र माल बन्दछ :
क) श्रमशक्ति बेच्नका लागि मजदुर स्वतन्त्र हुनुपर्दछ। पुँजीवादी व्यवस्थामा नै उसले यो स्वतन्त्रताको हक पाएको हुन्छ। दासकालीन र सामन्तवादी उत्पादन पद्धतिमा श्रमिकहरु श्रमशक्ति बेच्न स्वतन्त्र थिएनन्। तिनको श्रमशक्तिमाथि दास मालिक र सामन्तको स्वामित्व थियो।
ख) मजदुर सर्वहारा वर्गमा परिणत भएको हुनुपर्छ। उ सम्पूर्ण साधनस्रोतबाट बञ्चित हुनुपर्दछ र श्रमबाहेक बेच्नका लागि उसँग केही बाँकी हुनु हुँदैन।
७. ज्याला निर्धारण अथवा श्रमशक्तिको खरिदबिक्री प्रक्रियामा एक आपसमा मोलतोल गरेको अवस्थामा श्रम शक्तिका मालिक मजदुर र नगद सम्पत्तिका मालिक पुँजीपति दुवैको हैसियत समान हुन्छ। समान हैसियत भएकाबीच नै लेनदेन हुने हो।
८. श्रमशक्तिको खरिदको प्रक्रिया टूङ्गिएपछि दुईबीचको समान सम्बन्ध असमानतामा बदलिन्छ। श्रमशक्ति मजदुरको शरीरसँगै जोडिने माल हुँदा एउटा पक्ष आदेश दिने र कजाउने र अर्को पक्ष कजिने हुन जान्छ। बजारमा अन्य माल किने जस्तो क्रेता र विक्रेताबीचको तेर्सो (Horizontal) सम्बन्ध नभएर श्रमशक्तिको खरिदपछि ठाडो (Vertical) सम्बन्ध हुन जान्छ।
९. धेरैले के सोच्दछन् भने मजदुरलाई दिएको ज्याला नै श्रमशक्तिको मूल्य हो। पुँजीपतिले यही दावी गर्दछ र मजदुरले पनि यही सोचेको हुन्छ। मजदुरले आफ्नो परिश्रमको मूल्य ज्यालामा भुक्तानी पाएको ठान्दछ। तर व्यवहारमा मजदुरले पुँजीपतिलाई श्रमशक्तिको मूल्यभन्दा बढी मूल्य उत्पादन गरिदिएर आफू ठगिएको हुन्छ। उसले श्रमशक्तिको पुरा मूल्य पाएको हुँदैन।
१०. यही कुरालाई माक्र्सले अतिरिक्त मूल्यको सिद्धान्तद्वारा छर्लङ्ग पारिदिएका छन्। मार्क्सका अनुसार जसरी अरू मालको मूल्य त्यसमा खर्चिने श्रमकालका आधारमा निर्धारित हुन्छ, श्रमशक्ति पनि माल भएकाले यो काम गर्दा लागेको समय (श्रमकाल) का आधारमा निर्धारित हुनुपर्ने हो। तर श्रमशक्ति छुट्टै नदेखिने र मजदुरसँग जोडिने भएकाले यसलाई अरू माल झैँ जोख्न या गन्न मिल्दैन। कति श्रमकालकोे ज्याला कति श्रमशक्ति बराबर हुन्छ, त्यो थाहा पाउन सकिँदैन। त्यस परिस्थितिको फाइदा पुँजीपतिले उठाउँछ। पुँजीपतिले ज्याला तोक्दा कम श्रमशक्तिको तोक्दछ तर दिनभरि काम गराएर अतिरिक्त श्रमशक्तिको मूल्य हडप्छ।
११. यस सवाललाई उदाहरणद्वारा पुष्टि गर्न सकिन्छ। मानिलिउँ, मजदुर र पुँजीपतिले १० घण्टाको समय तोकी त्यसका लागि रु १००० ज्याला निर्धारण गर्दछन्। तर मजदुरले यो १० घण्टामा रु.२००० बराबरको माल उत्पादन गर्दछ। यसअनुसार मजदुरको ज्याला बराबरको श्रमकाल केवल ५ घण्टा हुन्छ। उक्त श्रमकाल आवश्यक श्रमकाल हो। ज्याला वापत उसले यो गर्नै पर्ने हुन्छ। बाँकि ५ घण्टाको श्रमकालमा भने मजदुरले सित्तैमा काम गर्नु पर्ने हुन्छ। यस अतिरिक्त श्रमकालमा आर्जित गरेको मालको मूल्य ‘अतिरिक्त मूल्य’ (Sorplus Value) हो जुन पुँजीपतिको गोजीमा जान्छ। यो नै पुँजीपतिको नाफा हो। यसरी पुँजीपतिले मजदुरको श्रमबाटै नाफा आर्जन गर्दछ।
१२. मजदुरको अतिरिक्त श्रमको मूल्य नै पुँजीपतिले प्राप्त गर्ने नाफा हो भन्ने कुरा कताबाट थाहा पाइन्छ त ? यो उत्पादित मालको बजार मूल्यबाट थाहा लाग्छ। पुँजी दुई प्रकारको हुन्छ – स्थिर र चल्ती। कारखाना मेशिन आदि स्थिर पुँजीमा पर्दछन्। स्थीर पुँजीले अतिरिक्त मूल्य उत्पादन गर्दैन, यो गर्ने चल्ती पुँजी (श्रमको भुक्तानी) ले नै हो। उत्पादनमा जति खर्च गर्यो त्यति नै मूल्य बराबरको माल उत्पादन हुने भए, कुनै पनि पुँजीपति उत्पादन कार्यमा सरिक हुने थिएन।
समाजवादी अर्थव्यवस्था
१. समाज विकासको चरणमा समाजवादी अर्थव्यवस्था पुँजीवादपछि आएको विश्व इतिहासमा सबैभन्दा पछिल्लो अर्थव्यवस्था हो।
२. हिजो मार्क्स–एङ्गेल्सले पुँजीवाद चरम उत्थानमा पुगेर त्यसले सर्वहारा वर्गमाथि अधिक उत्पीडन गर्नुका साथै समाजमा अधिक दरिद्रीकरण सृजना गरेका बखत मजदुर वर्गको मुक्तिका खातिर पुँजीवादको विकल्पका रूपमा समाजवादको परिकल्पना गरेका थिए। त्यतिखेरका लागि यो एक सपना थियो। तर लेनिन–स्टलिनले त्यसलाई व्यवहारिक रुप दिए। त्यसपछि धेरै देशमा समाजवादी अर्थव्यवस्थाको उदय भयो र कतिपय देशहरु यसको प्राप्तिका लागि अझै सङघर्षरत छन्।
३. अहिलेसम्मको अनुभवबाट समाजवादी अर्थव्यवस्था सर्वहारा वर्गको नेतृत्वमा मजदुर किसान र अन्य उत्पीडित जन समुदायको सहयोगमा सञ्चालित हिंसात्मक क्रान्तिबाट पुरानो वर्गीय शासन व्यवस्थालाई पल्टाएर जनवादी अधिनायकत्व वा सर्वहारा अधिनायकत्व स्थापित गरेर मात्र प्राप्त भएको छ।
४. सुधारवादी र संसदवादीहरुले शान्तिपूर्ण सङ्क्रमणबाट समाजवाद हासिल गर्न सकिने कुरा गरेका छन्। तर यो अहिलेसम्म व्यवहारसिद्ध भएको छैन।
५. समाजवादी अर्थ व्यवस्थामा राज्यको स्वरूप ‘सर्वहारा अधिनायकत्व’ हुन्छ। विभिन्न वर्ग मिलेर बनेको राजसत्ताले समाजवादको रक्षा र विकास गरी साम्यवादको मन्जिलमा पुर्याउन सक्दैन।
६. समाजवाद बहुमत सङ्ख्यामा हुने उत्पीडत जनताको राजसत्ता हो। अधिनायकत्व जनतामाथि हुँदैन, पुँजीवादी व्यवस्थाको पुनरुत्थान गर्न चाहने, समाजवादी अर्थव्यवस्थालाई भाँड्ने, भ्रष्टाचार र समाजविरोधी गतिविधि गर्ने आदि मुठ्ठिभर व्यक्तिका लागि मात्र हुन्छ।
७. समाजवादी अर्थव्यवस्थामा सामन्त र ठूला पुँजीपतिका सम्पत्तिको राष्ट्रियकरण र उत्पादनका साधनको सामुहिकीकरण हुन्छ। समाजवादी अर्थव्यवस्था उत्पादक शक्ति नै उत्पादन साधनको मालिक हुने अर्थव्यवस्था हो।
८. समाजवाद भनेको पुँजीवाद र साम्यवादबीचको सङ्क्रमण काल हो। सङ्क्रमणकाल भनिए पनि यो लामो समयसम्म रहन सक्छ। सुरुको अवधिमा समाजमा पुँजीवादका केही विशेषताहरू रहिरहन्छन् जस्तो कि माल उत्पादन, मूल्यको नियम, ज्याला, नाफा, आदि। चरणवद्ध रूपमा निजी सम्पत्तिलाई न्यूनीकरण गर्दै सामुहिकताको मात्रा बढाउँदै लगिन्छ।। काम अनुसारको वितरण प्रणाली लागु गर्दै गइन्छ।
९. समाजवादमा योजनाबद्ध अर्थतन्त्र हुन्छ र लगानी उत्पादक क्षेत्रमा गरिन्छ।
१०. त्यहाँ अनिवार्य श्रम र कामअनुसार ज्याला दिने पद्धति हुन्छ। समाजमा श्रमप्रति सम्मान हुन्छ।
११. समाजवादी अर्थतन्त्रमा विज्ञान प्रविधिलाई काम खोस्ने हतियारका रूपमा होइन, श्रमिकलाई सघाउने, आराम दिने र अधिक उत्पादन लिने साधनका रूपमा उपयोग गरिन्छ।
१२. समाजवादी अर्थतन्त्रमा लैङ्गिक, जातीय, धार्मिक, क्षेत्रीय आदि सबै प्रकारका विभेदको अन्त्य हुन्छ। किसान र मजदुर, शहर र गाउँ, बौद्धिक र शारिरिक श्रमबीचको भिन्नता आदि मेटाउँदै लगिन्छ।



लोकपाटी न्यूज

