नेपालको कम्युनिष्ट आन्दोलन र कमरेड पुष्पलाल

लोकपाटी न्यूज
  • विश्वेश्वर कट्टेलर/

 संविधान सभाको चुनाव हुनुपर्छ, यो कुरा राजाले पहिल्यै कवोल गरेको कुरा पनि हो, भनी आवाज उठाउँदा क. पुष्पलाल २०१४ सालमा आफ्नै पार्टीभित्र अल्पमतमा पर्नुभयो। त्यसपछि सघनरुपमा सुरु भएको नेपाली कम्युनिस्ट आन्दोलनको आरोह अवरोहले आज आइपुग्दा लामो फड्को मारेको छ। र, पनि नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलालका विचार आज पनि ताज छन्। आज पुष्पलाल स्मृति दिवसको अवसरमा उहाँप्रति भापूर्ण श्रद्धाञ्जलीका साथ यो आलेख प्रस्तुत गर्ने प्रयास भएको छ।

जनयुद्धले स्थापित गरेको मूल एजेण्डा र संयुक्त वाम आन्दोलनको मागअनुरूप संविधान सभाको निर्वाचन भई संघीय गणतन्त्र नेपालको संविधान २०७२ जारी गरेको पनि एक दशक हुन लागि सकेको छ। समाजवाद उन्मुख राज्य व्यवस्था स्थापना गर्दै समाजवादमा पुग्नका लागि अबका हरेक समय अत्यन्त महत्त्वपूर्ण र चुनौतीले भरिएका छन्। एउटा कमजोर आर्थिक सामाजिक धरातलमा रहेको नेपाली समाजको परिवर्तन आर्थिक समृद्धिको यात्राबाट मात्र सुरु हुन्छ र सम्भव छ। यो यात्रा कम्युनिस्ट आन्दोलनले मात्र तयार गर्न सक्दछ र त्यो यात्रा समाजवादी यात्रा नै हो। जसलाई नेपालको संविधानले समेत दिशा निर्देश गरेको छ।

आजको यो समय समाजवादी राज्यव्यवस्था कायम गर्ने यो आधारलाई मजबुत बनाउँदै, यसैबाट हामीले खोजेको शोषणरहित समन्यायीक समाज निर्माणका लागि फेरी एक पटक समुदायका हरेक तहतप्का उठ्न परेको छ, इमान्दारिताका साथ जुट्न परेको छ र समृद्ध नेपालको नक्सा कोर्नका लागि थपिएका चुनौतीहरूलाई सहजतापूर्वक स्वीकार्दै लक्षमा पुग्न सक्रिय रहन परेको छ। हामी आफूलाई कम्युनिष्ट हुनुमा गर्व गछौं भने पहिला आफैबाट रूपान्तरण सुरु गर्न र सुरु गरी यो अभियानको जिम्मा पुरा गर्न जरुरी छ।

पुष्पलालको पारिवारिक परिवेश

पुष्पलालको जन्म वि.सं. १९८१ साल असार ५ गते रामेछाप जिल्लाको भँगेरी गाउँको एक सामान्य परिवारमा बाबा भक्तलाल र आमा तुलसीमायाका माइलो छोराको रुपमा भएको थियो। उहाँ २०३५ साल साउन ७ गतेका दिन भारतमा निर्वासित जीवन बिताइरहेको स्थान गोविन्दबल्लभ पन्त अस्पताल उपचारका क्रममा निधन भएको थियो। प्रजापरिषद्ले १९९७ मा छरेको राजनीतिक पर्चाको निहुँमा उहाँका दाजु शहीद गंगालाल लगायत दशरथ चन्द्र धर्मभक्त, शुक्रराज जस्ता होनहार युवाहरूको हत्यापछि उहाँको बाल मस्तिष्कमा विद्रोहको आगो जल्न पुग्यो।

पुष्पलालले एसएलसीसम्म काठमाडौंमा नै शिक्षा हासिल गर्नुभएको र उच्च शिक्षा हासिल गर्न भने भारतको कलकत्ता जानुभएको थियो। तर उहाँ त्यहाँ पढाइतिर नलागी राजनीतितिर लाग्नुभयो।

लेनिनको प्रसंगसँग मिल्दो

राजनीतिमा लाग्ने कुरा वातावरणले पनि तय गर्ने रहेछ भन्ने कुरा लेनिन र पुष्पलालका घटनाबाट अध्ययन गर्न सकिन्छ। सन् १८८६ मा लेनिनका पिताको अकस्मात् निधन भयो। यो पीडा बिर्सन नपाउँदै मार्च १९८७ मा रुसी जारशाही अलेक जेन्डर तृतीयको हत्याको आरोपमा उनका दाजु अलेक जेन्डरलाई पिवर्गबाट गिरफ्तार गरी त्यसको दुई महिनामा नै फाँसी दिइयो। उनका दाजुको क्रान्तिकारी विचारका अन्यन्य फलोहर लेनिन अब क्रान्तिका नेता बन्ने निर्णयमा पुगेर क्रान्तिको लागि होमिए। ठीक त्यही किसिमको प्रवेश भयो, क. पुष्पलालको पनि। किनकि उनका दाजु गंगालाल श्रेष्ठलाई पनि फासी दिएपछि आफ्नो अध्ययन छाडेर राजनीतिमा लाग्नुभएको थियो।

पुष्पलाल र राष्ट्रिय काँग्रेस

राणा विरोधी अभियानका सिलसिलामा जन्मिएको राष्ट्रिय काँग्रेसमा रहेर उहाँले सक्रिय राजनीति सुरु गर्नुभयो। १९४७ अप्रिल ९ र १०मा सम्पन्न दोस्रो काँग्रेसबाट उहाँ सचिव बन्न पुग्नुभयो। २००४ सालमा नेपाल राष्ट्रिय काँग्रेसले नागरिक तथा राजनीतिक अधिकार र बन्दीहरूको रिहाइको माग राख्दै देशव्यापी सत्याग्रहको कार्यक्रम घोषणा गर्‍यो। पुष्पलाललाई दोस्रो सम्मेलनले राष्ट्रिय काँग्रेसको केन्द्रीय सचिव बनायो र काठमाडौंमा सत्याग्रहको नेतृत्वको जिम्मा दियो। सत्याग्रहको नेतृत्वकाक्रममा पुष्पलाल पक्राउ परी जेल यातना भोग्नुभयो। २००५ मा जेलबाट छुटेपछि उहाँ नेपाल बस्न पाउनुभएन। भारतमा पुगी मार्क्सवादी साहित्यको अध्ययन गर्न थाल्नुभयो।

नेपालको आर्थिक सामाजिक र राजनीतिक परिवेशलाई आत्मसाथ गरिरहेका क. पुष्पलालले नेपालको क्रान्तिका लागि मार्क्सवाद आवश्यक छ र यसबाट मात्र क्रान्ति सफल हुन्छ भन्ने निचोडमा पुग्नुभयो। उहाँको अथक प्रयास र साथीहरूको अनवरत सहयोग पश्चात् २००६ सालमा मार्क्सवादी संगठनको रुपमा नेपाल कम्युनिष्ट पाटी स्थापना गरी त्यसको संस्थापक महासचिव बन्नुभयो।

पार्टी स्थापनाका पृष्ठभूमि

जहानियाँ राणा शासनको अँध्यारो र कष्टपूर्ण जागिरे पारिवारिकस्थिति राजनीति स्वतन्त्रताको लागि आवाज उठाउँदा दाजु गंगालाललाई शासकहरूले गरेको हत्या, परिवर्तनका लागि आन्दोलित नेपाली जनताको चाहनालाई समेत उहाँले राम्रोसँग बुझेर उहाँ कम्युनिष्ट आन्दोलनमा लाग्नुभएको थियो।

त्यसबेला चिन, भियतनाम, कोरिया आदि देशहरूमा चलिरहेको र पुरा भएका क्रान्तिको गहिरो अध्ययन उहाँमा थियो। यसको साथै अशिक्षा, अन्धकार र कुरीतिमा फसेको जटिल नेपाली समाज र त्यस समाजभित्र हुने वर्ग विभेदका बारेमा पनि उहाँले गहिरो अध्ययन गर्नुभएको थियो। यी सबै कुराको अध्ययनबाट उहाँले नेपालको निम्ति नौलो जनवादी क्रान्तिको सिद्धान्त प्रतिपादन गर्नुभएको थियो। जुन सम्पूर्ण शोषित, उत्पीडित श्रमजीवी जनताको पक्षमा थियो। शोषक, सामन्तवाद, साम्राज्यवाद, विस्तारवाद र नवउपनिवेशवादका विरुद्ध थियो।

लेनिनको जन्मदिन २२ अप्रिल पारेर सन् १९४९ तदनुसार १० वैशाख २००६ सालमा आफ्ना ४ जना सहयोगी साथीहरूलाई साथमा लिएर उहाँकै नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीका ५ सदस्यीय केन्द्रीय संगठन समिति बनाउनुभयो। समितिका अन्य सदस्यहरूमा क. नरबहादुर कर्माचार्य, नारायणविलाश जोशी, निरञ्जन गोविन्द वैद्य र मोतीदेवी(दुर्गा) श्रेष्ठ थिए। सोही दिन उहाँले तयार पार्नुभएको दस्ताबेज पनि पारित भएको थियो।

शिक्षाबाट कामको थालनी

‘समाज एकोहोरो र अन्धो जस्तै छ। उसलाई चेतना आवश्यक छ।’ चेतना दिने ज्ञानको स्रोत पाइने अवस्था छैन। त्यसमा पनि कम्युनिष्ट पार्टीको बारेमा श्रमजीवी जनताको पक्षमा बोल्ने र लेख्ने सामग्री त छदै थिएन। त्यसबेला नेपाली भाषामा कुनै पनि मार्क्सवादी साहित्यिक रचनाहरू लेखिएका थिएनन्। समुदाय शिक्षा र चेतनाबाट विमुख जस्तै थियो। स्रोत सामग्रीहरू शून्य जस्तै थियो। उहाँले आफ्नो कामको थालनी साहित्य सिर्जनाबाट सुरु गर्नुपर्दछ भन्ने ठानेर मार्क्सवादी साहित्यिक रचनालाई नै पहिलो प्राथमिकता दिनुभयो।

नेपालको पहिलो मार्क्सवादी साहित्य

मार्क्स र एंगेल्सद्वारा लेखिएको कम्युनिष्ट मेनुफेस्टो (घोषणापत्र)लाई नेपालीमा उल्था गर्नुभयो। त्यसको भूमिकामा तत्कालीन नेपाली समाजको द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी दृष्टिकोणले विश्लेषण गर्दै नेपाली समाजको रूपान्तरणका लागि कम्युनिष्ट सिद्धान्त अपरिहार्य रहेकाले कम्युनिष्ट संगठन निर्माणमा जोड दिनुभयो। यो नै नेपाली भाषामा प्रकाशित पहिलो मार्क्सवादी साहित्य पनि थियो।

नेपालको पहिलो कम्युनिष्ट दस्तावेज

उहाँले ‘नागरिक स्वतन्त्रता सम्पूर्ण वर्गलाई आवश्यक अतः क्रान्तिकारी नागरिक स्वतन्त्र समिति बनाऊ’ ! भन्ने शीर्षकमा नेपाल कम्युनिष्ट आन्दोलनको पहिलो दस्तावेज तयार गरी पार्टी स्थापना बैठकमा पारित गरी प्रकाशित गर्नुभयो। त्यसपछि पार्टी घोषणा पत्र र पार्टीको कार्यक्रमको रुपमा‘नयाँ जनवादका निम्ति नेपाली जनताको क्रान्तिको बाटो’ भन्ने दस्तावेज तयार गर्नुभयो।

यी सबैको मुख्य सारको रुपमा : ‘मार्क्सवाद लेनिनवाद भक्तिवाद होइन। यो कार्यक्षेत्रको निम्ति मार्गदर्शक हो। अतः आफ्नो राष्ट्रिय विशेषताको आधारमा हामीले मार्क्सवादलाई आफ्नो समाजमा लागु गर्न सक्नुपर्दछ। यसको अभावमा देशमा क्रान्तिकारी पार्टी बन्न सक्दैन र हामीले नेपाली जनताको संघर्षको नेतृत्व गर्न सक्नेछैनौं।’भन्ने जस्ता कुराहरू नेपाली क्रान्तिका आधारभूत नीति सिद्धान्त र कार्यक्रममा समावेश गर्नुभयो, जसले आज पर्यन्त नेपाली समाजलाई राजनीतिक नेतृत्व प्रदान गरिरहेको छ।

समकालीन नेपाल र नेपाली क्रान्तिको चरित्र निरूपण

उहाँले समकालीन नेपालको चरित्रको निरूपण गर्दै ‘दरबारद्वारा नेतृत्व गरिएको नेपालको सामन्ती वर्ग तथा अन्तर्राष्ट्रिय पुँजीवाद, खास गरेर भारतीय एकाधिकारवाद तथा अमेरिकी साम्राज्यवादद्वारा भइरहेको शोषणले गर्दा हाम्रो देशको सामाजिकस्थिति आज पनि अर्धसामन्ती तथा अर्धऔपनिवेशिक छ,’ भनी व्याख्या गर्नुभयो। यसै आधारमा नेपाली समाजको आधारभूत र प्रधान अन्तर्विरोधको निर्क्योल पनि गर्नुभयो।

नेपाली क्रान्तिको चरित्र निरूपण गर्दै ‘आजको नेपालको क्रान्तिको चरित्र सामन्तवाद तथा साम्राज्यवाद विरोधी चरित्र हो। यो क्रान्ति सर्वहारा क्रान्ति नभई मजदुर वर्गको नेतृत्वमा किसान र मजदुरको एकताको आधारमा सम्पूर्ण क्रान्तिकारी वर्गहरूलाई एकबद्धता गर्दै चलाइने पुँजीवादी जनवादी क्रान्ति हो।’ भनी व्याख्या गर्नुभएको छ। यस विश्लेषणलाई २०६२/६३को क्रान्तिसम्म नेपाल कम्युनिष्ट आन्दोलनले अंगालिरह्यो।

नेपाली क्रान्तिको लक्ष र क्रान्तिको बाटो निर्धारण

उहाँले नेपाली क्रान्तिको लक्ष्य निर्धारण गरेर क्रान्तिलाई अगाडि लाने, क्रान्तिको बाटो निर्धारण गर्दै दीर्घकालीन सशस्त्र क्रान्तिको कुरा उठाउनुभएको थियो, नेपाली क्रान्तिका शत्रु र मित्र शक्तिको निर्क्योल गर्दै ‘राष्ट्रियरुपमा देशीय सामन्ती भूमिपति वर्ग, साम्राज्यवाद तथा भारतीय एकाधिकार पुँजीवाद परस्त शक्तिहरू र अन्तर्राष्ट्रियरुपमा साम्राज्यवाद र भारतीय एकाधिकार पुँजीवाद नै जनवादी क्रान्तिका मुख्य दुस्मन शक्तिकारुपमा परिभाषित गर्नुभएको थियो, भने मजदुर वर्ग क्रान्तिको नेतृत्वदायी शक्ति हो र गरिब तथा सुकुम्वासी किसान मजदुर वर्गको सबैभन्दा भरपर्दो मित्र शक्ति हो, मध्यम वर्गीय किसान, शहर बजारका मध्यम तथा निम्न मध्यमवर्ग जनवादी क्रान्तिका मुख्य सहायक शक्ति हुन्, अन्तर्राष्ट्रिय मजदुर आन्दोलन र जनवादी आन्दोलन, विशेष गरी भारतीय जनवादी आन्दोलन क्रान्तिका मित्र शक्ति हुन् र विशेषरुपमा प्रवासी नेपालीहरू पनि जनवादी क्रान्तिका सहायक शक्तिहरू हुन्’ पुष्पलालका छानिएका रचना भाग १ भनी व्याख्या गर्नुभएको छ।

गोरखासँग जोडिएको प्रसंग

यसै सिलसिलामा २००९ सालमा उहाँले गोरखामा आएर पार्टी सम्पर्क स्थापना गर्नुभयो। २०११ सालमा उहाँकै प्रयासले गोरखामा क. वैकुण्ठ कट्टेलको नेतृत्वमा कम्युनिष्ट पार्टी स्थापना हुन पुग्यो। कम्युनिष्ट पार्टीको निर्देशनमा गोरखाका विभिन्न ठाउँमा विभिन्न किसिमका आन्दोलन भए। यहाँ त्यसबारे उल्लेख गर्न सम्भव छैन।

२००६ पार्टी स्थापनापछिको सक्रियता

पार्टी स्थापनापछि उहाँ संगठन निर्माण र राणा विरोधी आन्दोलनमा लागि ००७ सालको क्रान्तिमा सरिक हुनुभयो। नेहरु, त्रिभुवन, राणा र काँग्रेसबीच भएको दिल्ली सम्झौता धोका भएको ठहर गर्दै आन्दोलनलाई निरन्तरता दिन आह्वान गर्नुभयो। २००७ सालको परिवर्तनपछि नेकपामाथि पहिलो पटक माघ १०, २००८ मा प्रतिबन्ध लागि ४ वैशाख २०१३मा प्रतिबन्ध फुकुवा भएको थियो।

त्यसबेला डा. केआई सिंहले ठुलाठालु, हुनेखाने र शोषक सामन्तका विरुद्ध विद्रोह गरे। त्यस विद्रोहलाई समर्थन गर्नुपर्ने विचारलिई त्यसको समर्थनमा नेकपाले पर्चा छर्ने र प्रदर्शनमा भाग लिने कामसमेत गरेको थियो।

पछि टंकप्रसाद आचार्य प्रधानमन्त्री हुँदाका बखत शान्तिपूर्ण आन्दोलन र वैधानिक राजतन्त्र मान्ने सर्तमा पार्टी फुकुवा भएको थियो। नेकपाको प्रथम महाधिवेशन २०१० साल माघमा भयो। पाटन र काठमाडौं गरी दुई ठाउँमा भएको ९ दिने महाधिवेशनले कमरेड मनमोहन अधिकारीलाई महासचिव र कमरेड पुष्पलाल श्रेष्ठसहित पाँच जनाको पोलिटब्युरो गठन गर्‍यो। महाधिवेशनमा पार्टीले लिएको नौलो जनवादी क्रान्तिको सिद्धान्त अल्पमतमा पर्‍यो। कमरेड मनमोहनले अघि सारेको संशोधित नौलो जनवादी कार्यक्रमलाई पारित गर्‍यो। यस महाधिवेशनमा पुष्पलालले आफ्नो क्रान्तिको सिद्धान्तप्रति दरिलो अडान राख्नुभयो।

बुझ्नभन्दा आरोप लाउने धेरै

कमरेड पुष्पलाल जीवनभर निरंकुश राजतन्त्र तथा तानाशाही पञ्चायती व्यवस्थाका विरुद्ध जुझिरहनु भयो। पञ्चायती निरङ्कुशता विरुद्धको आन्दोलनलाई काँग्रेस र कम्युनिष्ट पार्टी मिलेर मात्र हटाउन सकिन्छ। यी दुई पक्षहरूबीच कार्यगत एकता अनिवार्य छ भन्ने उहाँको बस्तुवादी विचार, सोच र धारणालाई न त कहिल्यै काँग्रेसले बुझ्यो, न त कम्युनिष्ट घटकहरूले नै बुझे। उल्टो उहाँमाथि कम्युनिष्ट घटकहरूले नै काँग्रेस परस्तको आरोप लगाउन पुगे।

२०३० सालमा त मोहनविक्रम सिंहले गद्दार पुष्पलाल भन्ने पुस्तक नै लेखे। जब कि, २०४६ सालमा उहाँकै लाइन समात्दै कम्युनिष्ट र काँग्रेस मिलेर निरंकुश तानाशाही पञ्चायती व्यवस्था ढाल्न सम्भव भयो र बहुदलीय व्यवस्था स्थापना हुन पुग्यो। २०६२/६३मा कम्युनिष्ट र काँग्रेस मिलेर राजतन्त्र ढालेर गणतन्त्र ल्याउन सफल भए। संयुक्त भएर नै संविधान सभाको चुनाव पनि भयो। संयुक्त भएर नै समाजवाद उन्मुख भनी लेखिएको नेपालको संविधान बन्न पुग्यो। सधैँ आफ्नो पार्टीभित्र आफ्ना विचारले हारिरहँदा पनि उहाँले आफ्नो राजनीति हार कहिल्यै मान्नुभएन। आफ्ना सिद्धान्त, विचार र निष्ठाप्रति उहाँको दृढता चट्टानिखालको थियो।

लिनुपर्ने शिक्षा

राजनीति जीवनमा आउने सबैखाले कठिनाइलाई चुनौती दिँदै आफ्नो अडानमा डाँडाको सतिसाल जस्तो गरी उभिन, क.पुष्पलालको जीवनबाट सबैले सिक्नु पर्ने प्रमुख शिक्षा हो। उहाँले त्यसबेला गर्नुभएको समाजको वर्ग विश्लेषण नै आजको समाजपरक बाटो बनिरहेको छ। समाज यति अगाडि बढिसक्दा पनि पुनः वस्तुवादीरुपमा समाजको वर्ग विश्लेषण आजसम्म पनि हुन सकेको छैन। आजको समय सापेक्ष वर्ग विश्लेषण गरी अगाडि बढ्न आवश्यक छ।

क. पुष्पलालले निरङ्कुश तानाशाही पञ्चायती व्यवस्थालाई ढाल्ने एक मात्र सही उपाय संयुक्त जनआन्दोलन हो र सबै पञ्चायत विरोधी शक्तिहरू एक रहनु पर्ने कुरालाई बारम्बार जोड दिइरहनुभयो। उहाँले पार्टी निर्माण र परिचालनमा तीन ‘स’- सिद्धान्त, संगठन र संघर्षको सिद्धान्त अगाडि सार्नुभयो।

ख. अरू पार्टीहरू सम्झौताका साधन हुन्, हाम्रो पार्टी क्रान्तिको साधन हो- कम्युनिष्ट पार्टी र अन्य पार्टी बिचको फरक देखाउनु भएको थियो। भने कम्युनिष्ट पार्टी नेता प्रधान होइन नीति प्रधान हो- भन्दै नीतिको महत्त्व प्रष्ट पार्नुभएको थियो। (पुष्पलाल-नेपाल कम्युनिष्ट र यसको कार्य पद्धति-२०३०,

ग. जनवाद र केन्द्रीयता पार्टी संगठनका दुई पहलुहरु हुन्। यी तराजुका दुई पल्ला हमेसा सन्तुलित हुनु पर्दछ। यसमा बेथिति आएमा पार्टी जीवनमा नै बेथिति देखा पर्दछ भन्दै- जनवाद र केन्द्रीयताको सन्तुलनको महत्त्व बुझाउनु भएको थियो। (पुष्पलाल नेपाली जनआन्दोलन एक समीक्षा पृठ ६)

घ. हाम्रो पार्टी वर्ग समन्वय वा वर्ग सम्झौताको पार्टी होइन, यो पार्टी सर्वहारा वर्गको वर्गीय संघर्षको हतियार हो।

ङ. पार्टीको सिद्धान्त र राजनीति त्यो शक्ति हो, जसले पार्टीलाई जीवन प्रदान गर्दछ।

च. अल्पमत र बहुमत पार्टी जीवनमा देखिने प्रक्रिया हुन्। यसलाई बुझेर हामीले अल्पमतको कदर र बहुमतको निर्णयलाई पार्टी फैसला मानेर शिरोधार्य गर्न सके मात्र हामीलाई व्यवहारमा जाने बाटो खुल्दछ भन्नुभएको छ।

र, अन्तमा: क.पुष्पलाल, नेपाल कम्युनिष्ट पार्टीका विचारक संगठक र संस्थापक हुनुहुन्छ। उहाँले मार्क्सवादी दर्शन, सिद्धान्त, राजनीति र अर्थनीतिलाई गहिरोसँग बुझ्नुभएको थियो। कम्युनिष्ट पार्टी सञ्चालन र निर्माणका विशिष्ट मान्यताहरूको विकास गर्नुभयो। उहाँले सधैँ पार्टीमा क्रान्तिकारी धारको नेतृत्व गरिरहनु भयो। कम्युनिष्ट पार्टीलाई जनअधिकारका निम्ति लडिरहने पार्टीको रुपमा स्थापित गर्नुभयो।

उहाँ नेपाली जनतालाई आर्थिक सामाजिक र जर्जर सांस्कृतिक कुरूपबाट मुक्त गराउन चाहनु हुन्थ्यो। जीवनभर लगनशीलता सक्रियता तत्परता र तन्मयताका साथ पार्टी कामप्रति उहाँ अविचल र निरन्तर लागिरहनु भयो। कम्युनिष्ट क्रान्तिकारी र नेताको रुपमा पुष्पलालको उदाहरणीय कार्यशैलीबाट हामीले थप उर्जा प्राप्त गर्नुपर्दछ। नेपाली इतिहासको ऐतिहासिक भौतिकवादी लेखनको प्रारम्भ गरी नेपाली इतिहासको पुनः व्याख्या र खोजको आवश्यकता बताउनुभयो।

बदलिँदो परिस्थितिलाई दृष्टिगत गरी बस्तुगत अवस्थाको सही पहिचान गर्ने, सही विश्लेषण गर्ने, सही निष्कर्ष निकाल्ने, क्षमताको वृद्धि गर्न तद्अनुरुप शैक्षिक सामग्री चयन गर्ने जस्ता गुण उहाँको जीवनबाट हामीले ग्रहण गर्नुपर्छ। साझा जीवन उच्च विचारका धनी क. पुष्पलाल सधैँ निजी स्वार्थभन्दा माथि रहेर देश जनता र क्रान्तिका पक्षमा सतिसाल जस्तै उभिइरहनु भयो।

उहाँ एउटा सच्चा र इमान्दार कम्युनिस्ट हुनुहुन्थ्यो। मृत्यु शय्यामा हुँदा पनि उहाँले पार्टीभन्दा ठूलो केही देख्नुभएन। दुइटा रोटी खाएर पेटी गञ्जी र लुगिंको भरमा भए पनि उहाँले आफ्नो सम्पूर्ण जीवन अध्ययन, अनुसन्धान र पार्टी निर्माणमा बिताउनुभयो। हामीलाई आजको दिनले उहाँको जीवन स्मृति गरी एउटा सच्चा क्रान्तिकारी बन्न प्रेरणा प्रदान गरिरहन सकोस्, यही उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दछौं।

लेखक : कट्टेल पुष्पलाल स्मृति प्रतिष्ठान गोरखाको अध्यक्ष हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्