- विश्वेश्वर कट्टेल
दर्शन पद्धतिको सिद्धान्त हो। सिद्धान्त पद्धति र व्यवहारबाट प्राप्त ज्ञानको सङ्ग्रह हो। ज्ञान परिवर्तनको नियम हो। परिवर्तन समयको परिणाम हो। समय आवश्यकताको बोध हो। आवश्यकता जीवनको बोध हो। जीवन बोध नहुनेलाई आवश्यकता बोध हुँदैन। आवश्यकता सम्प्रेषण गर्ने साधन भाषा हो। भाषाको आफ्नै रूप र आकार हुँदैन। भाषा त आवश्यकता बोध गराउने साधन न हो। के, कसरी, कस्ता तरिका वा पद्धति अपनाएर आवश्यकता बोध गराउन सकिन्छ भनी विकास गरिएका साधनका प्रकारहरू नै भाषाका रूप हुन्। जीवले पहिला आफू जिउँदो भएको बोध गराउँछ। त्यसपछि उसको आवश्यकता जाहेर गर्दछ। जब आवश्यकता प्राप्त गर्दछ, थप आवश्यकताका लागि थप तरिका अपनाउँछ। यही निरन्तर क्रमले भाषाको विकास जीवको विकासक्रमको एक हिस्सा बन्दै आयो।
जीव मध्ये सबैभन्दा सङ्घर्षशील जीव मानिस थियो। मानिसले एकपछि अर्को सङ्घर्ष गर्दै र सफलता प्राप्त गर्दै, आफ्ना आवश्यकताका क्षेत्रहरू बढाएको थियो। सुरुमा त मानिसले एकअर्कालाई देख्यो, सुन्यो, जान्यो र बुझ्यो। यसैक्रममा हाउभाउ कटाक्षदेखि आकार प्रकार हुँदै मानिसले भाषालाई चित्र, लिपी, साहित्य विधा र धाराको रूपमा विकास गर्दै आज यो अवस्थामा आइपुगेको छ। अझै मानिसका आवश्यकताहरू झन् महत्त्वाकांक्षी बन्दै छन्। भाषा र साहित्यका पाटा-पक्ष पनि यही अनुरूप विकास हुँदै छन्। आशा छ, अबको साहित्य विज्ञानको पक्षपाती हुनेछ र भ्रमको अस्थित्व समाप्त गर्नेछ।
भाषा के हो ? यसको विभिन्न व्याख्या गरिए पनि यस आलेखको सन्दर्भमा भाषा भन्नाले ‘एकले भन्न खोजेको कुरा अर्कोले बुझ्नु’ हो। भाषा माध्यम हो। यो आफै प्रयोग हुने वस्तु हैन। यो प्रयोग गरिने साधन हो। सृष्टिका हरेक जीवका आफ्नै भाषा हुन्छन्। हरेक भाषा अभिव्यक्ति गर्ने तौरतरिका पनि आफ्ना आफ्नै हुन्छन्। तर, मानिसले मात्र यसको विकास र विस्तार गर्न सक्यो। यसबाट भरपुर फाइदा लियो। र, आफ्नो सभ्यता सोच्न सिक्यो, सक्यो।
साहित्य सोचको प्रतिबिम्ब हो। सोच्ने तरिका अनुसार साहित्य निर्माण हुन पुग्दछ। सोच्ने सोचाइको वातावरण भने वस्तुगत परिवेश, समय र घटनाहरूले सिर्जना गर्दछन्। साहित्य कार्य व्यवहारले प्रदान गरेको ज्ञान र शिक्षाको नतिजा पनि हो। कामले काम सिकाउँछ। हाम्रो जीवन पद्धतिको बोलीमा बाँचेका यी भनाइले नै सभ्यताको अभ्युदय गरे। जुन, आज सम्म जीवन्त छ र भोलि पनि हुन्छ। मानिसले आफ्नो कार्य सफल तुल्याउन साहित्यको सिर्जना गर्न पुग्यो।
मानिसका अनुभूतिलाई सोचमा र सोचलाई व्यवहारमा रूपान्तरण गर्नेक्रममा दर्शनको प्रादुर्भाव भयो। दर्शनलाई मानव भावनामा अन्तर्निहित गराई फल्न, फुल्न र फैल्याउने साधनको रूपमा साहित्य सिर्जना हुन पुग्यो। मानिस विकासशील प्राणी भएकाले भाषा पनि विकसित हुने नै भयो। भाषाको अन्तर वस्तुभित्रको सोच, चिन्तन र दर्शनका आधारमा त्यो साहित्य कुन कोटीको हो र त्यो साहित्यले कसको सेवा गरिरहेको छ भनेर बुझ्न नसकिएसम्म सत्य र असत्य छुट्टाउन सकिँदैन। सत्य उज्यालो हो भने असत्य अँध्यारो हो। सत्य जीवन्त हुन्छ, असत्य काल्पनिक हुन्छ। सत्यले प्रमाणलाई प्रधान ठान्दछ, असत्यले भावना प्रधान ठान्दछ।
मानिसले प्रकृतिको पद्धतिलाई जीवन व्यवहारमा उतार्ने काम गर्यो। सभ्यताको सिँढी बनाउन प्रयोग गर्दै, सफलता असफलता भोग्दै यहाँसम्म आइपुगेको छ। यस समय मानव सभ्यताभित्र दुई धार बेजोडले हुर्किएको छ। एउटा भौतिकवादी र अर्को अ-भौतिकवादी धार। भौतिकवादीहरू वस्तुगत संसारलाई प्रधान ठान्दछन्। सबै समस्याको स्रोत पनि भौतिक जगतभित्र नै छ र यसको समाधान पनि यही जगतभित्रको खोजबाट प्राप्त गर्न सकिन्छ भन्दछन्।
अ-भौतिकवादी धारहरू भने समस्या यो जगतको हैन, यो समयको मात्र पनि हैन, यो त पूर्व जन्मदेखिको निरन्तरता हो, जुन कुरा अर्को अलौकिक संसारमा बस्ने शक्तिशाली व्यक्तिहरूको हातमा छ। उनीहरूलाई खुसी पार्न सके सबै समस्या समाधान हुन्छ। खुसी पार्न सकिएन भने झन् समस्या थपिन्छ। उनीहरूले जे दिन्छन्, त्यो खाने हो। जे गर भन्दछन्, त्यो गर्ने हो। हामी निरीह छौ, हाम्रो कुनै अस्थित्व हुँदैन भन्दै धर्मभिरूँहरू मनपरी तन्त्र चलाउँछन्। उनीहरूको भक्ति भावमा सबैलाई लाग्न डर र त्रास सिर्जना गरेर भए पनि प्रेरित गर्दछन्। आफूलाई दिव्य शक्तिको प्रतिनिधि ठान्दछन् र मनपरी तन्त्र चलाउँछन्।
मृत्युदेखि कुनै पनि जीव डराउँछ नै, त्यसमा पनि सबैभन्दा डरपोक र कायर जीवमा मानिस पर्दछ। मानिस यत्रो वैभवको मालिक बनेको छ। यसको मस्त सदुपयोग उसको जीवन लक्ष्य बनेको हुँदा जसरी पनि बाँच्ने उसको सोच हुन्छ। ऊ सधैँ (धेरै जुनीसम्म) बाँच्नका लालचाले अर्को लोक छ भन्ने किम्बदन्तीमा विश्वास गर्न पुग्दछ। उसलाई जहिले पनि तेस्रो अदृश्य शक्तिले बचाउँछ भन्ने काल्पनिक दैविक शक्तिको विश्वास गर्दछ। यो जन्ममा मात्र हैन, अर्को जन्मा पनि सुखसयलको जीवन जिउने इच्छा उसको छ। मानिसका प्रकृतिले नै दिएका कमजोरीको फाइदा उठाउँदै धर्मको नाममा मस्तको श्वेत व्यापार गरिरहेछन्। धर्मका नाममा उनीहरू कथाका रूपमा खडा गरिएको एउटा काल्पनिक दुनियाँमा विश्वास गर्दछन्। कर्मप्रति हैन, धर्मप्रति आस्था जगाउँछन्। यसको मुख्य कारण डर हो। डरले नै मानिसलाई पशुतुल्या जीवन बाँच्न बाध्य पारिरहेछ। ठगहरू साधुसन्तको नाम धारणा गरेर अरबौं सम्पत्तिको मालिक बनेका छन्। हजारौं हजार मानिसको जीवन लुटेका छन्। राज्य ठगको पक्षमा छ। किनकि अधिकांश जनता ठगकै पक्षमा छन्। मार्क्सले धर्मलाई अफिमको नशाको रूपमा त्यसै तुलना गर्नुभएको छैन।
भाषा जसले प्रयोग गर्न जान्यो, त्यही ठूलो बन्न सक्ने साधन हो। आज समाजमा यो धार्मिक अन्धविश्वासले किन राज गरिरहेछ ? यसको कारण साहित्य नै हो। त्यस्ता साहित्य सिर्जना गरिएका छन्, हरेक झुटलाई विज्ञानको नाम दिइएको छ। विज्ञानसँग तुलना गरेर झुटलाई सत्यमा बदल्ने प्रयास गरिएको छ। सुन्दर भाषा, शैली, लवज र हाउभाउले काल्पनिक जीवनको रेखा कोरिएको छ। शान्तिको खोजी भनेर धर्मको लुट चलेको छ। भाषा साहित्यको सौन्दर्यता, अफिमको नासा बोकेर जनताको मन मस्तिष्कमा पसेको छ। हजारौं वर्षदेखि चलेको यो चलन सानोतिनो जोड घटाउले कुनै परिवर्तन गर्न सक्ने सङ्केत छैन। त्यसैले यसका विरुद्ध जानुभन्दा कि भाग्न, कि बिच धारको बाटो समाप्त, कि झुटको दुनियाँमा लट्ठिन बाध्य छन् मानिसहरू।
उसो भए के भौतिकवादी साहित्य कोरिएको छैन त ? छ। किन नहुनु। सृष्टिको उषाकालसँगै धर्म भ्रमको व्यापार हो भन्ने साहित्यहरू लेखिए। सत्य के हो भन्ने साहित्यहरू लेखिए। वास्तवमा झुट त्यस बेलाका बलशाली शक्तिशाली शासक र तिनका आसेपासे चम्चा भरौटेहरूलाई चाहिएको थियो। उनीहरूको लुट साम्राज्य सजाउन चाहिएको थियो। भौतिकवादी साहित्य हामी अहिले त्यसलाई प्रगतिवादी वा प्रगतिशील साहित्य भन्दछौ, त्यो समयसापेक्ष हुर्कन फस्टिन सकेन। त्यो बलशालीको कोप विभाजनमा पर्यो। राजा र उनका भारदार, ठेकेदार चौकीदार र समाजमा कहलिएका ठूला ठालु भन्नेहरूको कोप भाजनमा पर्यो। त्यस्ता लाखौंलाख साहित्य डढाइए। हप्तौंसम्म दन्दनी आगो बालेर पोलिए। साहित्य कारलाई कि त मृत्यु दण्ड दिइयो, कि त मर्न विवश तुल्याइयो। कि त पलायन हुन बाध्य पारियो। र पनि लुकी छिपी प्रगतिशील साहित्यहरूको लेखन भने रोकिएन। तर, त्यसले जुनरूपले समाजमा सत्यको बिउ रोप्न पर्दथ्यो, त्यो गर्न सकेन।
नेपालको प्रगतिशील साहित्यको इतिहास हेर्दा पनि राणा शासनपछि केही वर्ष मुस्कुराउन पाएको साहित्य पञ्चायती व्यवस्थासँग मुर्झाउन पुग्यो। प्रगतिशील साहित्यको फूलबारी तहसनहस परियो। कुना कन्दराहरू फुलेका फूलहरूले साहित्य फाँटमा उपस्थिति देखाउन सकेपनि आम जनतामा धार्मिक अन्धकारभित्र सशक्त चेतनाको ज्योति लिएर जान सकेन। र, पनि प्रगतिशील गीतले क्रान्तिका भाका गाउन छोडेन। प्रगतिशील साहित्यले जनताको पक्षमा लेख्न छाडेन। आज पनि यहीक्रम निरन्तर छ। समय सापेक्ष घटबढ वा स्वरूपमा परिवर्तन होला, तर पद्धतिमा परिवर्तन पाइँदैन।
साहित्य विकासको द्योतक हो। मानिस लगायत यो चराचर जगतमा रहेका हरेक जीवनहरू प्राकृतिक तत्त्वबाट निर्मित छन्। तिनीहरू प्रकृतिसँग निरन्तर सङ्घर्ष गर्दै सम्झौता गर्दै सङ्घर्ष गर्दै यो अवस्थामा आइपुगेका हुन् र यो आज पनि निरन्तर छ। मानिसले हिँड्नका लागि खुट्टा, देख्न आँखा, सोच्नका लागि दिमाग, (मस्तिष्क वा गिदी), श्वास प्रश्वासका लागि नाक, सुन्न कान, खान मुख, काम गर्नका लागि हात, अनुभूत गर्न छाला… आदिको विकासका लागि लाखौं वर्षदेखि गर्दै आएको सङ्घर्ष-अभ्यासको परिणाम आजको अवस्था हो।
डरको अनुभूति दिने, खुसी अनुभूति दिने, आवश्यकता बोध गराउने, सम्भावनाको जनाकारी गराउने, कामुकता प्रदर्शन गर्ने, चिच्याउने, कराउने, प्रकृतिको आवाज सुन्ने, आफू पनि गुनगुनाउने, माया प्रेमका अनुभूति दर्साउनेक्रममा नै मानिसले बोल्न सिक्यो। बोली बुझ्न भाषा र भाषा चिन्न लिपिको विकास गर्यो। बोलीको विकासका लागि उसले देखेका, भोगेका, सुनेका र सुँघेका कुराहरूको अभिव्यक्त गर्नेक्रममा जुन विधि, पद्धति र तौरतरिका प्रयोग गर्यो, त्यसबाट भाषा र साहित्यको उत्पत्ति र विकास हुन पुग्यो।
ज्ञानको युग
अनुभव र अनुभूतिका आधारमा प्राप्त ज्ञानलाई संहिता गर्नेक्रममा भाषाले साहित्यको रूप लिन पुग्यो र यसको प्रयोग अनि विकास हुन पुग्यो। भाषाले मानिसलाई आधुनिक युगमा प्रवेश गरायो। दुःख चिन्न सिकायो। सुख खोज्न हौस्यायो। मानिसले हिजो चिन्न पायो। आज के छ बुझ्यो र भोलि के हुन सक्ला अनुमान गर्न थाल्यो। साहित्यले मानिसका सोच, विचार, जिज्ञासा र कौतूहललाई वर्तमान, भूत, र भविष्यको रूपमा सजाउने काम गर्यो। खोतल्ने काम गर्यो। अनुभवको संहिता करण गर्यो। इतिहास कोर्यो। ज्ञानको युगको सुरुवात गरायो।
अनुभवबाट शिक्षा लिने र ज्ञानको हस्तान्तरण गर्ने जस्ता कार्यसँगै पैदा भएका मानवीय सोच र प्रवृत्तिका रूपमा देखा पर्ने दृष्टिकोण, सो अनुरूपका दर्शनहरू र तन्का नियमहरू मानव सभ्यताको कोसेली बनेर समाजमा आउन थाल्यो। विचार मन्थन हुन थाल्यो र विचार युद्ध सुरु भयो। दर्शनबारे बहस छलफल हुन थाल्यो। यसले एकातर्फ ज्ञानको भण्डारमा थप नयाँ ज्ञान राशिहरू थुपार्दै लग्यो भने अर्कोतर्फ भाषा साहित्यलाई विधागत रूपमा विकास गर्न थाल्यो। भाका, लय र भाव भङ्गिमा दुःख, सुख र सुस्केरा र खुसीका अनुभूति प्रकट भए।
यही भाषा कहिले कर्णप्रीय गीत र सङ्गीतमा आबद्ध भएर मानिसको मन लुट्ने बन्न पुगे। आँसु हाँसो र सुख दुखको साथी माया पिरतीको सारथि साहित्य बन्न पुग्यो। लोक लहरी र भाकाहरू गाउँबस्ती र बेसीहरूमा लेक, पहाड र तराईहरूमा गुन्जन थाले। यो मानिसको सामाजिक सांस्कृतिक सम्बन्धको पर्याय बन्न पुग्यो। भाषाले नै विज्ञानको विकास गरायो। थप नयाँ खोज अनुसन्धान हुन थाले। भाषाले नै वैज्ञानिक क्रान्तिको सुरुवात गर्यो। विकास सभ्यताको परिचायक बन्न पुग्यो। साहित्यले मानव सभ्यतालाई अगाडि बढाउन नेतृत्व प्रदान गर्यो।
र, अन्तमा,
साहित्य आफै दर्शन होइन। यो त दर्शनलाई अभिव्यक्त गर्ने साधन हो। दर्शन के हो ? देख्नु हो। देख्ने शक्ति आँखामा मात्र हुँदैन। यो शक्ति ज्ञान दिने इन्द्रियहरू सबैमा छ। जसलाई हामी ज्ञानेन्द्रिय (आँखा, नाक, कान, छाला र जिब्रो) भन्दछौ। जीवित बस्तुलाई भोक लाग्छ। भोक मेटाउन ऊ सक्रिय रहन्छ। प्राणी वनस्पति जुनसुकै हुन्। उनीहरू बढ्नु छ। विकास हुनु छ। उनीहरू बाँच्नका लागि संघर्ष गर्न जरुरी छ। यही क्रिया प्रतिक्रिया नै विकासको आधार बन्न पुग्दछ। समग्र पक्षमा समाहित भएको भाषा साहित्य आज मानव सभ्यताको पहिचान बने पनि समय सापेक्ष सत्यको प्रतिनिधित्व गर्न सकेको छैन।
प्रकृतिका पद्धतिभित्रका जटिलताको अपव्याख्या गरेर भाषा साहित्यको जुन दुरुपयोग भएको छ, आजको विज्ञान जगतले विस्तार विस्तार त्यसलाई नकाम सिद्ध गर्दै अगाडि बढेको छ। योक्रम यही रुपमा गयो भने एक दिन धर्मको नाममा हुने भ्रमको विकास भाषा साहित्य रुपी साधनबाट नै नाम निसान मेटाउन अवश्य सक्ने छ। सोच विज्ञानको। सत्य विज्ञानको र भाषा साहित्य विज्ञानको बनेर जुन दिन मानव सभ्यताको रथ अगाडि बढाउने छ, त्यो समय सत्यको जीत हुनेछ, भ्रमको अन्त हुनेछ। अस्तु … । क्रमशः ….. ।



लोकपाटी न्यूज

