पेरिस कम्युनको घटना विकासलाई नजिकबाट नियाली रहेका र मार्ग निर्देशन गर्दै रहेका मार्क्सले ‘पेरिस कम्युन’ तथा ‘सिभिलवार इन फ्रान्स’ नामक रचनाहरूमा मजदुर वर्गको यस ऐतिहासिक विजय, त्यसका उपलब्धि तथा कमीकमजोरी र त्यसको पतनका कारणहरूको विस्तृत विश्लेषण गर्नुका साथै त्यसबाट आगामी दिनहरूमा सत्ता प्राप्तिपछि श्रमजीवी वर्गले अपनाउनु पर्ने आम नीति प्रस्तुत गरेका छन्। उनका अनुसार, पराजयको प्रमुख कारण तत्कालीन फ्रान्सेली सर्वहारा वर्गको वैचारिक तथा संगठनात्मक कमजोरी, वैज्ञानिक विचारधाराबाट लैस राजनैतिक पार्टी नेतृत्वको अभाव, क्रान्तिको संरक्षणका लागि स्पष्ट कार्यनीतिको अभाव, दृढसंकल्प राजनैतिक तथा सैन्य नेतृत्वको अभाव, प्रतिक्रान्तिविरुद्धको संघर्षमा ढुलमुलपन र बैंकहरू बारेको गलत बुझाई जस्ता प्रमुख कारण थिए। यसका साथै बाकुनिन समूहको प्रभावमा रहेका लियोन लगाएका औद्योगिक शहरहरूका मजदुरहरूले साथ नदिनु, अन्य रिपब्लिकन पूँजीपति राजनैतिक समूहहरूको मजदुर विरोधी व्यवहार तथा किसानहरूको साथ नपाउनु प्रमुख कारणहरू थिए। जसले गर्दा क्रान्तिको प्रतिरक्षाका लागि संगठित संयुक्त शक्ति निर्माण हुन सकेन। कम्युनार्डहरू अन्तिम क्षणसम्म बहादुरी पूर्वक लडे तर देशभित्र र बाहिरका पूँजीवादीहरूको संगठित शक्तिको अगाडि टिक्न सकेनन्।
पहिलो सर्वहारा क्रान्ति : पेरिस कम्युन
पेरिस कम्यूनको पतन र त्यस दौरान श्रमजीवी वर्गबाट भएका कमजोरीको विश्लेषण गर्दा मार्क्स के निचोडमा पुगे भने श्रमजीवी वर्गले सत्ता लिएपछि पुरानो राज्य संयन्त्रलाई यथावत् राखी त्यसलाई सर्वहारा वर्गको सत्तामा परिणत गर्न सकिँदैन। क्रान्तिको सम्पन्नतापछि पुरानो राज्य संयन्त्रलाई समाप्त गरी नवनिर्माणका लागि संक्रमणकालीन अवधिमा आफ्नै राज्यसत्ता कायम गर्नु पर्दछ। यो सर्वहारा वर्गको राज्यसत्ता (सर्वहारा अधिनायकत्व) हुने छ। (मार्क्स- सिभिलवार इन फ्रान्स)। तर, पछिका क्रान्तिकारीहरूद्वारा सर्वहारा वर्गको संक्रमणकालीन राज्यसत्ता (सर्वहारा अधिनायकत्व)बारे मार्क्सको यस प्रस्थापनाको व्यापक अपव्याख्या गर्दै ‘अधिनायकत्व’ शब्दलाई मार्क्सले भनेजस्तो राज्यसत्ताको पर्यायवाचीको रूपमा नभई अनिवार्य आवश्यक दमनकारी संयन्त्रको रूपमा प्रयोग गरियो। मार्क्सको परिकल्पनामा ‘वैज्ञानिक साम्यवाद’ समाजको राज्यसत्ता विहीन अवस्था हो अर्थात् वर्गीय शोषण दमनको संयन्त्रका रूपमा रहने राज्यसत्ता समाप्त गरी नागरिक प्रशासन कायम गरिने अवस्था हो। तर, पेरिस कम्युनको अनुभवबाट मार्क्स यस निचोडमा पुग्नु भयो कि, ‘विगतका शोषक वर्गहरूद्वारा शोषित वर्गको दमन र राज्यमाथि कब्जा राखिराख्न खडा गरिएको हतियार, अर्थात् राज्यसत्ता, श्रमजीवी वर्गका स्वार्थ संरक्षणको हतियार बन्न सक्दैन र शोषित वर्गको हितमा काम गर्न सक्दैन। त्यसकारण नयाँ निर्माणको लागि त्यसलाई समाप्त गर्नु पर्छ। यसलाई सही अर्थमा बुझ्नु हाम्रो आजको अवस्थामा विशेष महत्त्व राख्छ, जहाँ सत्ता कम्युनिष्टको हातमा छ। तर, त्यसलाई परिचालन गर्ने राज्य संयन्त्र पुरानै छ। आवश्यकता छ, यो अवस्था परिवर्तन गर्न व्यवहारिक बाटो खोज्ने।
पेरिस कम्यूनको निचोड
पेरिस कम्यूनको पराजयबाट प्राप्त सर्वाधिक महत्त्वको शिक्षा हो- सर्वहारा क्रान्तिको संरक्षण वैज्ञानिक समाजवादी सिद्धान्तबाट निर्देशित श्रमजीवी वर्गको संगठित पार्टी तथा आम श्रमजीवी जनताको एकत्वबिना सम्भव छैन। सन् १९७०को दशकमा विभिन्न विकसित पूँजीवादी देशहरूमा यस्ता पार्टी संगठित गर्नु अपरिहार्य आवश्यकता भइसकेको थियो। ज्युँ ज्युँ अन्तर्राष्ट्रिय सर्वहारा आन्दोलन बढ्दै गयो र सर्वहारा वर्गको क्रान्तिकारी जमातमा मार्क्सवादको प्रभाव बढ्दै गयो। धेरै देशहरूमा कम्युनिष्ट पार्टीहरू खोलिए पनि। तर, यसका साथै मार्क्सवादका विरोधी अराजकतावादीहरू, निम्न मध्यम वर्गीय काल्पनिक समाजवादीहरू र संशोधनवादीहरूबाट यसमाथि चौतर्फी आक्रमण पनि बढ्दै गयो।
सन् १८४० को दशकमा सर्वहारा आन्दोलनको वैज्ञानिक विचारधाराको रूपमा मार्क्सवादको उदय, सन् १८६४ मा प्रथम अन्तर्राष्ट्रिय मजदुर संगठनको जन्म जस्ता ऐतिहासिक घटना र सन् १८७१ मा पेरिसमा पहिलो सर्वहाराको राज्य स्थापना, विश्वभरिका मजदुर तथा शोषित पीडित जनताद्वारा त्यसको समर्थन र त्यसको दमनविरुद्ध युरोप, अमेरिका आदि सम्पूर्ण देशहरूमा जबरजस्त संघर्ष जस्ता तीन महान घटनाहरूले अन्तर्राष्ट्रिय सर्वहारालाई एउटै वर्गका रूपमा संगठित र स्थापित भइसकेको र एउटा पूर्ण र स्वतन्त्र सामाजिक वर्गको रूपमा स्थापित भइसकेको प्रमाणित राख्नुकासाथै आफ्नो मुक्तिका लागि पूँजीवाद विरुद्ध संघर्ष गर्न र त्यसको एकाधिपत्य समाप्त गरी मजदुर वर्गको राज्यसत्ता स्थापित गर्न सर्वहारा वर्ग सक्षम भइसकेको प्रमाणित गर्यो। मार्क्सका शब्दमा, ‘पेरिस कम्युन उन्नाइसौं शताब्दीको महान सर्वहारा आन्दोलनको एउटा उद्दीप्त रूप’ थियो। (लेशन अफ द पेरिस कम्युन मस्को १९६७)। मार्क्सवादी विचारधाराको विस्तार र कम्युनिष्ट घोषण पत्रको प्रकाशन तत्कालीन युरोपेली मजदुर आन्दोलनको प्रेरणा श्रोत हुनका साथै सन् १९५०का दशकको युरोप व्यापी महान मजदुर आन्दोलनहरूको प्रेरक पनि थियो। सन् १८६०को दशकभरि इटली, जर्मन, फ्रान्स जस्ता युरोपियन देशहरू अभूतपूर्व मजदुर आन्दोलनको चपेटामा परे। तर, प्रतिक्रियावादी पूँजीवादी संयुक्त शक्तिद्वारा यी आन्दोलन दबाइए र आन्दोलित आम जनताको नृशंस दमन गरियो।
दुर्भाग्यवस् कम्युन प्रुधौं सहितका अराजकतावादी र अन्तर्राष्ट्रियतावादीहरूमा विभाजित थियो। अराजकतावादीहरूले कम्यूनको अर्थात् मजदुर सत्ताको विरोध गरेका थिए। यसका साथै क्रान्तिकारीहरू बीच लक्ष्यलाई लिएर कुनै साझा अवधारणा विकसित भइसकेको थिएन। यी सब कारणले गर्दा २८ मे १८७१ मा सर्वहारा वर्गको पहिलो राज्य पेरिस कम्युन ढल्यो। त्यसपछिको आम नरसंहारमा तीस हजार मानिस मारिए, पचास हजारलाई कैद गरियो र अनेकौंलाई न्यू क्यालिडोनियामा निर्वासित गरियो। कम्युनार्डहरूलाई भित्ताहरूमा चिनियो। यसरी मजदुरको पहिलो राज्यको दुःखद अन्त भयो। कम्युन दबाउन गरिएको नरसंहारको घटनाबारे मार्क्सले भनेका छन्- ‘बुर्जुवाको सभ्यता र न्यायपरायणता त्यस बेला भयानक आँधीको रूप लिएर अगाडि आउँछ, जब शोषित पीडित वर्गका दास र नोकरहरू आफ्नो मुक्तिका लागि मालिकहरूको विरुद्ध उठ्छन्। त्यसवेला तिनको सभ्यता र न्यापरायणता आफ्ना नकाबभित्रबाट निस्केर बदला लिन क्रूर अत्याचार र निर्मम दमनमा ओर्लिन्छ। त्यसवेला त्यस महान सभ्यताको सामु सबभन्दा ठूलो समस्या हुन्छ। युद्धपछि तिनले लगाएका लासका चाँङहरुलाई कसरी ठेगान लगाउने।’ (मार्क्स – सिभिलबार इन फ्रान्स)
पेरिस कम्युन भएको डेढ सय वर्ष पुग्दैछ। तर, उन्नाइसौं शताब्दीको उत्तरार्द्धको पेरिस कम्युनले बिसौं शताब्दीका मजदुर आन्दोलन तथा समाजवादी क्रान्तिका लागि व्यापक वैचारिक तथा व्यवहारिक आधार भूमि तयार गरेको थियो र एकाइसौं शताब्दीको वर्तमान चरणमा पनि श्रमजीवी आन्दोलनका लागि यसका आधारभूत पक्षहरू त्यतिकै सान्दर्भिक छन्। आज पनि विश्व मजदुर आन्दोलनको वर्तमान अवस्था र हाम्रो आफ्नो अवस्थामा समेत समाजवादका पूर्वाधारको निर्माण वा समाजवादी क्रान्तिको सम्पन्नताका लागि वैचारिक र वस्तुगत आधार तयार गर्न त्यसको अध्ययन फलदायी छ। हो, हाम्रो समय र अवस्था सापेक्ष ती अनुभवहरूको उपयोग गर्नु पर्छ न कि तिनको अन्धानुकरण।
पेरिस कम्युन मजदुर आन्दोलनलाई नयाँ चरणमा प्रवेश गराउने त्यस्तो विश्वव्यापी महत्त्वको घटना हो। जसको जगबाट विकसित हुँदै विश्व मजदुर आन्दोलन विभिन्न चरण पार गर्दै आजको अवस्थामा पुगेको छ। एउटै छतमुनि काम गर्ने नीलो पोसाकधारी सर्वहारा आज स्वचालित इलेकट्रोनिक संयन्त्र सहितका आधुनिक कलकारखानामा काम गर्ने श्रमजीवीको अवस्थामा पुगेको छ। तर, पेरिस कम्युनबाट सुरु भएको सर्वहारा मुक्ति आन्दोलनको लक्ष्य आज पनि त्यही छ। श्रम र पूँजीका ती सम्बन्ध, जसको समाप्तिका लागि पेरिस कम्युन भएको थियो। आज पनि मजदुर वर्गका आन्दोलनको प्रमुख विषय नै छ। यद्यपि यस आन्दोलनका रूप फेरिँदै आएका छन्। तर, सार उही छ। जुनसुकै अवस्था भए पनि आफ्नो आर्थिक मुक्तिका लागि पूँजीवादविरुद्ध सर्वहारा वर्गका आन्दोलनको अपरिहार्यता सधैं रहने छ। समय र अवस्था सापेक्ष त्यसका रूप फेरिने छन् र फेरिनु स्वाभाविक प्रक्रिया हो।



लोकपाटी न्यूज

