यस्ताे छ गोवर्द्धन पूजाको राेचक कथा, किन दिइन्छ ५६ भोग ?

लोकपाटी न्यूज

काठमाडाैं। गोवर्द्धन पूजाको शुरुवातका सम्बन्धमा ऐतिहासिक स्रोतहरुमा विभिन्न कुरा उल्लेख छ । विशेष गरी धार्मिक स्रोतमा उल्लेखित यो पर्व इन्द्र र कृष्ण एवं गोवर्द्धन पर्वतको कथासँग सम्बन्धित छ ।

दीपावलीको भोलिपल्ट अर्थात् कात्तिक शुक्ल प्रतिपदाको दिन हिन्दूहरूले गोवर्धन पूजा गर्ने गर्छन् । यसदिन भगवान श्रीकृष्णलाई गहुँ, चामल, चना, तरकारी लगायत अन्नको प्रसाद चढाइन्छ । यसको किंवदन्ती अनुसार प्राचीनकालमा भगवान कृष्णले आफ्नो कान्छी औंलामा गोवर्द्धन पर्वत उठाएर गोकुलवासीलाई सुरक्षा दिएको भन्ने धार्मिक कथाको आधारमा यो पर्व मनाउन थालिएको पाइन्छ ।

त्यही दिनदेखि गाईको गोबरबाट गोवर्द्धन पर्वत बनाएर अन्नकूटमा ५६ वटा भेटी अर्पण गरी यसको पूजा गर्न थालेको भन्ने ऐतिहासिक स्रोतमा उल्लेख छ । गोकुलवासीले वर्षाका देवता इन्द्रलाई मुख्य देवताको रुपमा पूजा गर्थे । तर, भगवान् कृष्ण यसप्रति सन्तुष्ट थिएनन् । गोकुलवासीको खाना र आश्रयको स्रोत गोवर्द्धन पर्वत नै थियो । त्यसैले श्रीकृष्ण त्यही पर्वतलाई भगवान् मानेर पुज्न गोकुलवासीसँग आग्रह गर्ने गर्थे ।

विस्तारै कृष्णको तर्कमा गोकुलवासी सहमत हुँदै गए । इन्द्रको साटो पर्वतको पूजा शुरु हुन थाल्यो । आफ्नो पूजा गर्न छाडेपछि इन्द्र झनै रिसाए, फलस्वरुप झन् झन् पानी पर्न थाल्यो । अन्ततः भगवान् कृष्ण मानिसहरूको उद्धारका लागि अघि सरे ।

आफ्नो कान्छी औंलाले गोवर्द्धन पहाड उठाएर, गोकुलवासीको जीवन बचाएको किंवदन्ती छ । यसरी इन्द्र कृष्णसँग पराजित भएको सम्झनामा गोवर्द्धन पूजालाई अन्नकूट पर्वका रूपमा पनि मनाइन्छ । यस पर्वमा अन्नकूट वा गोवर्द्धन पर्वतमा ५६ वटा भोगको प्रसाद चढाउने गरिन्छ । दैत्य राजा बलीलाई भगवान् विष्णुले वामन अवतारको रूपमा परास्त गरेको दिनको रुपमा यो पर्वलाई बली प्रतिपदाको रूपमा पनि मनाइन्छ ।

किन गरिन्छ गोवर्द्धन पूजामा ५६ भोग ?

भगवानलाई अर्पण गरिएको ५६ भोगको पछाडि धेरै रोचक कथाहरू छन् । हिन्दु मान्यताअनुसार भगवान कृष्णले दिनमा आठ पटक खाना खान्छन् । इन्द्रको क्रोधबाट सबै प्रजालाई बचाउनका लागि भगवान् कृष्णले गोवर्द्धन पर्वत उठाएपछि भगवानले लगातार सात दिनसम्म भोजन र पानी लिन पाएका थिएनन् ।

त्यसैले, ७ दिन ८ पटकको दरमा ५६ भोग चढाउने चलन छ । त्यस यता गोवर्द्धन पूजाको दिन कृष्णलाई ५६ वटा भोग अर्पण गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ । त्यसैले हिन्दु धर्ममा गोवर्द्धन पूजाको विशेष महत्व रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्