कठमाडौं। यमपञ्चक अन्तर्गत आज कुकुरलाई मिठा मिठा खानेकुरा दिएर, माला लगाएर कुकुरको पूजा गरिन्छ । शास्त्रमा कुकुरलाई यमराजको दूत तथा मानिसको सुरक्षाकर्मीको रूपमा हेरिन्छ। कुकुरको चर्चा धर्म शास्त्रमा पनि पटक पटक गरिएको छ । द्धापरपुगको अन्तमा महाभारतमा पाण्डवहरु स्वर्ग जाने बेलामा कुकुर पनि सँगै गएको चर्चा गरिएको छ। ऋग्वेदमा कुकुरले स्वर्गका राजा इन्द्रको हराएको वस्तु भेटाउन सहयोग गरेको कुरा उल्लेख गरिएको छ।
यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन परेको छ । तिहारको दोस्रो दिन आज बिहान कुकुर तिहार मनाइँदै छ। यस्तै साँझ लक्ष्मीपूजा पनि गरिने भएको छ। आज दिउँसो दिउँसो ३ बजेर १३ मिनेटसम्म चतुर्दशी तिथि रहेको र त्यस समयपछि औँसी लाग्ने पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। लक्ष्मीपूजा औँसीको साँझ वा रातिमा गर्ने विधान भएकाले आज नै लक्ष्मीपूजा परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए। यस्तै बिहान चतुर्दशी तिथि भएकाले आज बिहान भने कुकुरको पूजा गर्नुपर्ने भएको हो।
कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिन्छ। आजको दिन कुकुरको पूजा गरेमा यमलोक प्रवेश गर्दा यमराजको ढोकामा द्वारपाल रहेका कुकुरले बाटो छोडिदिने विश्वास गरिन्छ । पूजा गरि कुकुरलाई खाने कुरा दिइन्छ। आज नर्के चतुर्दशी पनि हो । आज बिहानै आकाशमा तारा हुँदै तेल लगाएर नुहाउने र नरक जानु नपरोस भन्दै नदीमा बत्ती बगाउने भएकाले आजको दिनलाई नर्के चतुर्दशी (नरक चतुर्दशी) भनिएको हो ।
यसैगरि आज साँझ लक्ष्मीपूजा गरिँदैछ। औँसीको साँझ (राति) धनकी देवी लक्ष्मीको दीपावली गरि पूजा गर्ने गरिन्छ । लक्ष्मीपूजा तिहारको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो। आज घर आँगनलाई लिप्ने वा सफा गरेर ढोका तथा झ्यालमा फूल इत्यादिले सजाइन्छ । धनकी देवी लक्ष्मीले सफा भएको स्थानमा मात्र बास बस्ने विश्वास गरिन्छ।
आज साँझ आँगनदेखि मूल ढोका हुँदै पूजाकोठासम्म लक्ष्मीको पाइला बनाएर बत्ती बालिन्छ । चारै तिर बत्ती बालेर दीपावली गरेपछि दीयो कलश र गणेशको पूजा गरी धनका देवता कुवेर र लक्ष्मीको पूजा गरिन्छ। विधिपूर्वक पूजा गरेमा लक्ष्मी प्रसन्न भई धन र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ।



लोकपाटी न्यूज

