काठमाडौं। कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बुधबार यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ ।
बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए।
यस्तै, काठमाडौंको नारायणहिटी दरबार क्षेत्रमा २१ औँ ‘काग सम्मेलन’ गरिएको छ।
यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा नारायणहिटी दरबार क्षेत्रमा आज बिहान काग बोलाएर २१ औँ काग सम्मेलन गरिएको हो।
सम्मेलनमा कलाकार रमेश दुलालले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा जम्मा पारेका थिए। दुलालले कागको स्वर निकालेर बोलाउनु भएपछि कागहरु उनको आवाज भएको ठाउँसम्म आइपुगेका थिए।
दुलालले विगत २० वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आएका छन्। काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रुपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ।



लोकपाटी न्यूज

