काठमाडाैं। देउसी भैलाेमा भनिने एउटा लाइन छ– हामी त्यसै आएनौं वली राजाले पठाएका भन्ने । यो यम पञ्चकको पाँच दिनसम्म पौराणिक वली राजाको पनि कथा जोडिएको छ । तर ती बली राजा पौराणिक नभएर नेपालका राजा नै हुन् ।
एक हजार बर्षअघि, पूर्व मध्यकालमा यो चलन आएको हो । लिच्छवीकाल सकिएपछि पश्चिम नेपालमा बली राजा आए । त्यसबेला ‘सहपाद्य लक्ष स्वदेश’ भनिन्थ्यो । यो भनेको सवा लाख मान्छे भएको देश । त्यो खस राज्य अवसान भएपछि जुम्लामा बली राजा आए ।
त्यसबेला देवदास र देवदासीहरुको प्रचलन थियो । देउकीको रुपमा अहिले कानुनले मान्यता नदिए पनि यो प्रचलन नेपालको पश्चिम भागतिर पाइन्छ । तिनै दासीहरुलाई यही यम पञ्चकको समयमा, बलिराजाले ‘जाउ तिमीहरु मागेर खाउ’ भनेर आज्ञा दिए । उनीहरु देउसी भैलो खेलेर अन्न बटुल्न थाले ।
देवदासीहरुले भैलेनी खेले र देवदासहरुले देउसुरे खेले । हामी त्यसै आएनाैं बली राजाले पठाए भनेपछि सबैले धान, चामल, रोटी, रक्सि पैसा जसले जे सक्यो त्यही दिने गरे । पछिपछि अन्यलाई पनि राम्रो लागेर त्यो बेला पैसा चामल उठाउन पाइने भएर अरुले पनि खेल्न थाले । पश्चिमतिरबाट पूर्व र पूर्वबाट सबैतिर फैलियो । अहिले त राजनीतिक दलले पनि धेरै पैसा उठाउन देउसी भैलो खेल्ने गरेका छन् ।
तर, त्यसबेला देउसी भैलो खेल्दा दिएको रोटी र रक्सि त्यसैबेला चलन थियो । जम्मा भएको अन्न र पैसा बटुलेर राख्ने र पछि पुस १५ गतेको दिन खुवा खाने चलन थियो । बूढाबूढी हैन युवतीहरुले खेल्छन् यस्तो देउसी । गण्डकी प्रदेशका मगर समुदायका युवायुवतीहरुमा पुस १५ को दिन खुवा खाएर आफ्नो जीवनसाथी रोज्ने चलन छ ।
पुस १५ लाई गुरुङहरुले ल्होछारको रुपमा पनि मनाउँछन् । नयाँ वर्ष मनाउने आयश्रोत पनि त्यही देउसी भैलो हो । राई लिम्बुमा कतिपयको तिहारसम्म पनि दशैंको टीका लगाउने चलन छ । यसरी विभिन्न जात र ठाउँमा चलन फरक भए जस्तै तिहारको पनि कहीँ कतै चलन फरक हुन सक्छ । तर यसको मूल मूल्य चाहिँ एउटै हो । – विभिन्न एजेन्सीबाट



लोकपाटी न्यूज

