तिहारमा सप्तरङ्गी टीका नै किन ?

लोकपाटी न्यूज

काठमाडौं। आज देशभर चेलीबेटीले दाजुभाइलाई ‘सप्तरङ्गी’ टीका लगाइदिएर भाइटिका मनाउँदैछन् । नेपालीहरुको महान् चाडमध्ये भाइटीका एक हो । यस चाडले चेलीबेटी र दाजुभाइबीचको प्रगाढ सम्बन्धको महत्त्व प्रतिबिम्बित गर्छ ।

यता चेलीबेटीले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै दुबो, तेलले छेकेर, मखमली, सयपत्रीको मालासँगै सप्तरङ्गी टिका लगाइदिन्छन् भने उता दाजुभाइले पनि आफ्ना चेलीबेटीको आशीर्वादलाई खुल्ला हृदयले स्वीकार्छन् । त्यसैले यो दिन खास छ । दाजुभाई नभएका दिदीबहिनीले एकअर्कासँग टिका लगाउँछन् । भने दिदीबहिनी नभएका दाजुभाईले भावनात्मक साईनो जोडिएका दिदीबहिनीसँग टिका लगाउँछन् । वा विभिन्न मन्दीरमा पुगी एकअर्कासँग टिका लगाउँछन् ।

भाइटिका खास हुनुको अर्को कारण भनेको यसमा पूजा गर्ने विधि पनि हो । सामान्यतः कुनै धार्मिक वा सांस्कृतिक कार्यक्रममा अक्षता वा अविर, केशरीको टिका लगाउने हिन्दू संस्कृतिले यो दिन सातवटा छुट्टाछुट्टै रङ्गको टीका लगाउन भन्छ । त्यसैगरी, सयपत्री र मखमलीकै माला लगाइदिनुपर्ने, तेल र पानीले छेक्नुपर्ने, फूल अपर्ण गर्ने छुट्टै तरिका, ओखर फुटाउने, मसाला, रोटी लगायत मीठा खानेकुराहरु दिनुपर्ने आदिजस्ता प्रक्रियाले पनि भाइटिकालाई विशेष बनाउँछ ।

यमुनाले आफ्ना दाजु यमराजलाई कसैले मार्न नसकोस् भन्ने कामना गर्दै भाइटिका लगाइदिएकी थिइन् । उनले यमराजलाई आफ्नै घरमा आउन निम्तो दिइन् अनि तेल र दुबोले छेकेर, मखमली, सयपत्रीको माला लगाइदिएर भाइटीका लगाइदिइन् । यसरी भाइटीका लगाइदिने परम्पराको शुरुवात भयो । तर, समयसँगै भाइटीकामा सप्तरङ्गी टिका लगाइदिने चलनको विकास हुँदै गयो ।

सातै रङ्गका टिका किन ? 

सातै वटा रङ्गले तिहारसँग सम्बन्धित अरु तत्त्वलाई प्रतिबिम्बित गर्छन् । जे जसलाई हामी तिहारमा पूजा गर्छौं, जस्तै, पहिलो दिन काग, त्यसपछि कुकुर, अनि क्रमशः गाई, लक्ष्मी, गोवर्द्धन पर्वत र यमराज । टिकाकै प्रसङ्गमा दक्षिणा तथा उपहारको विषयलाई पनि जोडेर हेरिन्छ अहिले त । आजकल टिकालाई भन्दा पनि दक्षिणा र उपहारलाई प्राथमिकता दिने चलन छ । खासमा, माइतीले चेलीलाई आफ्नो हैसियत अनुसारको दक्षिणा वा उपहार दिने र चेलीले मीठामीठा परिकार बनाएर ख्वाउने मात्र हो ।

त्यस्तै, मखमली माला र दुबो कहिल्यै नओइल्याउने भएकाले र तेल कहिल्यै नसुक्ने भएकाले यी तीन तत्त्वको प्रयोगले आफ्ना दाजुभाइ पनि अजम्बरी हुन् भन्ने मनोकांक्षालाई प्रतिबिम्बित गर्दछ।

दाजुभाइलाई टीका लगाइदिनुभन्दा अघि ओखर फुटाउनु र अमिलोको पूजा गर्नुले नकारात्मक शक्तिहरु आफ्ना माइतीबाट टाढौ रहुन् भन्ने दर्साउँछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्