काठमाडौं। खुमलटार भेट्रान फुटबल क्लबको अग्रता उल्ट्याउँदै झापा भेट्रान फुटबल क्लबले भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेकाे छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको फाइनल खेलमा झापाले खुमलटारमाथि २–१ को पुनरागमन जित निकाल्दै उपाधि जितेकाे हो ।
निकै रोमाञ्चक बनेको खेलमा खुमलटारले पहिलो हाफमा अग्रता लिएको थियो । तर झापाले खुमलटारको अग्रता उल्ट्याउँदै दोस्रो हाफमा २ गोल गरेर उपाधि उचाल्न सफल भएको हो । कडा प्रतिस्पर्धाबीच खुमलटारका लागि कप्तान नरेन्द्र लामाले २७ औं मिनेटमा गोल गर्दै खाता खोलेका थिए ।
त्यसपछि दबाबमा परेको झापा पहिलो हाफमा खेलमा फर्किन निकै कसरत गरे पनि सफल हुन सकेन । दोस्रो हाफमा रक्षात्मक रुपमा प्रस्तुत भएको झापा २ गोल गर्न सफल भयो । ३९औं मिनेटमा श्याम कुमार गोलेको गोलसँगै दोस्रो हाफको सुरुआतमा खेल बराबरीको अवस्थामा आएको थियो।
खुमलटारविरुद्ध रोमाञ्चक जित निकालेको झापाले उपाधिसहित नगद ५ लाख रुपैयाँ हात पार्दा उपविजेतामा चित्त बुझाएको खुमलटारले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो ।



लोकपाटी न्यूज

