अहिले मार्क्सद्वारा प्रतिपादित द्वन्द्वात्मक भौतिकवादका विभिन्न पक्ष प्राकृतिक विज्ञानका विभिन्न फाँटको अध्ययन क्षेत्रका विषय भएका छन्। ती अध्ययनहरूबाट यसमा नयाँ-नयाँ आयाम थपिँदै छन्। तर, ऐतिहासिक भौतिकवादको राजनैतिक अर्थशास्त्र तथा सामाजिक अन्तरसम्बन्ध र अन्तर्द्वन्द्वको क्षेत्रमा थपिएका नयाँ आयामहरूको अध्ययन र समय सापेक्ष तिनलाई मार्क्सवाद सम्मत ढंगले परिभाषित गर्नु वर्तमान समयका मार्क्सवादीहरूको दायित्व हो। अन्यथा मार्क्सवाद जड सिद्धान्तमा परिणीत हुने छ।
ऐतिहासिक भौतिकवाद सामाजिक गतिका आधारभूत चरित्र र सामाजिक परिवर्तनका नियमहरूको अध्ययन र व्याख्या गर्ने भएकोले समाजको गतिसँगै सामाजिक अवस्था र सामाजिक अन्तरसम्बन्ध र अन्तर्द्वन्द्व पनि गतिमान र परिवर्तनशील छन्। यससँगै ऐतिहासिक भौतिकवादको अध्ययन क्षेत्रमा समेत विभिन्न पक्ष अगाडि आएका छन्। यिनलाई जडसूत्रवादी भएर हेर्नु, बुझ्नु मार्क्सको गतिवादी चिन्तन प्रणालीको विपरीतको चिन्तन र व्यवहार हो। मार्क्सका अनुयायीहरूले ऐतिहासिक विकासको प्रत्येक चरणमा हुने ऐतिहासिक परिवर्तनसँगै यसको मूल चरित्रलाई मध्यनजर राखी नयाँ आयामहरूलाई समय सापेक्ष परिभाषित गर्दै आफ्ना क्रान्तिकारी दृष्टिकोण र क्रियाकलापहरूलाई अद्यावधिक र समय सापेक्ष परिभाषित गर्दै जानु पर्छ। यो मार्क्स र लेनिनको शिक्षा हो र मार्क्सवादको क्रियात्मक प्रयोगको सही परिपाटी हो।
मार्क्सको समाज विज्ञान मानव समाजको गतिशीलता र परिवर्तनको विज्ञान हो। यो सामाजिक उत्पादन प्रणाली र उत्पादन सम्बन्धहरूको परिवर्तनशीलतासँग अभिन्न रूपमा जोडिएको हुँदा मार्क्सवादीहरूले आफ्ना चिन्तन र व्यवहारको गति त्यससँग मिलाउन सक्नु पर्छ। ‘हामी मार्क्सको सिद्धान्तलाई कुनै अलंघ्य, अविच्छेद र पूर्ण भैसकेको विषयको रूपमा लिँदैनौं, बल्की त्यसको विपरीत यसले केवल सामाजिक विज्ञानको शिलान्यास मात्र गरेको छ। जसको चौतर्फी विकास समाजवादीहरूले गर्नै पर्छ। यदि उनीहरू सामाजिक जीवनसँग कदम मिलाएर हिँड्न चाहन्छन् भने। (लेनिन- संकलित रचना रसियन संस्करण भाग ४ पेज २११ -१२)। यस सन्दर्भमा एंगेल्स लेख्नु हुन्छ- ‘दार्शनिक भौतिकवाद प्रकृति विज्ञानको प्रत्येक नयाँ ऐतिहासिक अनुसन्धानसँगै नयाँ रूप लिन्छ र यसले नयाँ रूप लिनै पर्छ। सामाजिक-आर्थिक संरचनाको परिवर्तनले पनि दर्शनको विकास प्रक्रियामा प्रभाव पार्छ।’ (संकलित पत्राचार मस्को)।
मार्क्सको ‘…आवश्यकता छ विश्वलाई परिवर्तन गर्ने’ भन्ने भनाई आफू बाँची रहेको समाजलाई परिवर्तन गर्नु पर्छ भन्ने हो। कुनै काल्पनिक समाजलाई होइन। त्यस कारण प्रत्येक ऐतिहासिक विकासको चरणका मार्क्सवादीहरूले आफू बाँचिरहेको समाजलाई परिवर्तन गर्न त्यसलाई आजको यथार्थ सहित बुझ्नु पर्छ। तदनुरूप आफ्ना राजनैतिक गतिविधि सञ्चालन गर्नु पर्ने हुन्छ, हिजोको आधारमा होइन। त्यसका लागि ऐतिहासिक भौतिकवादका कतिपय पक्षमा नयाँ ऐतिहासिक चरण सापेक्ष नयाँ भाष्यको आवश्यकता पर्न सक्छ र त्यो गर्नु पर्छ। जडसूत्रवादी रटानले परिवर्तनसँग पाइला मिलाउन सक्दैन।
समाज विकासको प्रत्येक चरणले सामाजिक जीवनका सम्पूर्ण पक्षमा नयाँ आयाम र नयाँ पक्षहरू प्रस्तुत गर्नु सामाजिक गतिको नियमितता नै हो। सामाजिक चिन्तकले र राजनैतिक कर्मीले कुनै एक ऐतिहासिक कालखण्डको सामाजिक चारित्रिक विशेषता र सामाजिक सम्बन्धहरूलाई सधैंका लागि स्थिर, नित्य, वा सर्वकालिक रूपमा हेर्नु समाजलाई गति शून्य रूपमा हेर्नु हुन्छ। वर्गीय समाजमा वर्गसंघर्ष, पूँजीवादी समाजमा ज्यालादारी श्रम तथा पूँजीबीचको अन्तर विरोध, वस्तु उत्पादनको दौरान कायम हुने सामाजिक उत्पादन सम्बन्धहरू आदि जस्ता अवधारणा मात्र सार्वभौम र सर्वकालिक वस्तुगत चरित्रका हुन्। तर, यिनका अन्य पक्ष समय सापेक्ष परिवर्तनशील हुन्।
अतः हामीले समाजको अध्ययन र विश्लेषण गर्दा तिनलाई समय सापेक्ष र त्यस ऐतिहासिक चरण सापेक्ष हेर्नु पर्दछ। तब मात्र हामी ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट आ-आफ्नो समाजको अवस्था, ऐतिहासिक विकासको चरण र त्यसका चारित्रिक विशेषताहरूलाई बुझ्न सक्दछौं। आफ्ना अग्रगामी क्रान्तिकारी गतिविधिलाई सामाजिक विकासको गतिसँग मेल खाने गरी निर्धारित र निर्देशित गर्न सक्दछौं। सामाजिक गतिमा सक्रिय हस्तक्षेप गर्दै क्रान्तिकारी प्रक्रियालाई बढी त्वरित गर्न सक्छौ। क्रान्ति वा सामाजिक आन्दोलनको अग्रगमनलाई सुनिश्चित गर्न सक्दछौं। यो मानवका सक्रिय र सचेत क्रियाकलापबाट सम्भव छ।
मार्क्स-एंगेल्सले वैज्ञानिक समाजवादको सिद्धान्त प्रतिपादित र विकसित गरेको वेला पूँजीवादबाट समाजवादमा सोझै संक्रमण व्यवहारिक रूपमा नै सम्भव थिएन। लेनिनले मार्क्सवादलाई नयाँ ऐतिहासिक विकासको चरण र नयाँ अवस्था सापेक्ष, अर्थात्, पूँजीवादको ‘उच्चतम अवस्था’ अर्थात् साम्राज्यवादी अवस्था, जुन चरणबाट व्यवहारिक रूपमा नै माझवादमा संक्रमण सम्भव थियो, नयाँ प्रस्थापना प्रस्तुत गर्नु भयो। तत्कालीन वस्तुगत अवस्थाले मार्क्सवादीहरूबाट त्यस नयाँ चरणका विशिष्टताहरूको विश्लेषण गरेर श्रमिक वर्गका आन्दोलनको आधारभूत प्रश्न र संघर्षको नयाँ रणनीति र कार्यनीतिलाई नयाँ रूपमा परिभाषित गर्नु पर्ने माग गर्दै थियो। लेनिनले त्यो गरे। अन्यथा मार्क्सवाद एउटा जीवित गतिशील सिद्धान्त र क्रान्तिकारीताको दर्शन नभएर एउटा निर्जीव कथ्यको रूपमा सीमित हुनसक्ने थियो। लेनिनका शब्दमा- ‘मार्क्सवादको जन्म विश्व सभ्यताको राजमार्गभन्दा बाहिरबाट भएको होइन। यो सामाजिक विकासको तार्किक परिणाम हो। यसले सधैं आलोचनात्मक रूपले छानबिन र परिमार्जन गरेर सबै प्रगतिशील विचारहरूलाई समेटेको छ। मोमजान (रेनिगेट ग्राउडी मस्को १९७४)
विश्वका क्रान्तिकारी प्रक्रियाहरूको गहिरो अध्ययन र विश्लेषण, विद्यमान वैज्ञानिक उपलब्धि तथा तिनको सामाजिक प्रभाव, समाज विशेषको राजनैतिक चिन्तनको स्तर, सामाजिक मनोविज्ञान तथा वर्गीय संरचना र वर्गसंघर्षको अवस्था आदिको विश्लेषण, अवस्था सापेक्ष साहसिक क्रान्तिकारी निर्णय सहित मार्क्सवादलाई समय र अवस्था सापेक्ष व्यवहारिक रूपमा लागू गर्नु नै मार्क्सवादको रचनात्मक विकास र व्यवहारिक प्रयोगको कसौटी हो। यसले जस्तोसुकै अवस्था र समयमा पनि आफ्ना क्रान्तिकारी दायित्व पुरा गर्न क्रान्तिकारीहरूको मार्ग प्रशस्त गर्छ र यसबाट मार्क्सवादको ज्ञान भण्डारमा निरन्तर वृद्धि हुँदै जान्छ। कुनै पनि दार्शनिक विचारधारालाई उसका अनुयायीहरूले सामाजिक अवस्था सापेक्ष जीवन व्यवहारमा लागू गरी विकसित गर्दै लगेका हुन्छन् र त्यसमा नयाँ अध्याय थप्छन्। मार्क्सवादी वैज्ञानिक दर्शनमा पनि नयाँ अध्याय थप्नु र नयाँ चुनौतीहरूको समाधान खोज्नु समयको आवश्यकता हो। यस प्रक्रियामा सार्थक अवधारणाहरूलाई समय सापेक्ष परिभाषित गर्दै आफ्ना क्रान्तिकारी क्रियाकलापमा प्रयोग गर्नु र सामाजिक नयाँ उपलब्धिसँग मेल नखाने अवधारणा र व्यवहारहरूको परित्याग गर्नु मार्क्सवादको समयसापेक्ष रचनात्मक विकासको सार हो।
वैज्ञानिक सिद्धान्त र मान्यता, विज्ञान र प्रविधि, सामाजिक दर्शन, ऐतिहासिक विकासको प्रत्येक नयाँ चरणहरूले हासिल गरेका सामाजिक उपलब्धि र प्राप्त ज्ञानसँगै नयाँ विकसित चरणमा प्रवेश गर्छन्। डाल्टनको सिद्धान्तलाई रदरफोर्डले अगाडि बढाए, आज क्वान्टम सिद्धान्त नयाँ उँचाइमा पुगेको छ। डार्विन, मोर्गनका सिद्धान्तहरूमा नयाँ आयाम थपिँदै गएका छन्। यिनको विकास शून्यबाट होइन, पुरानै जगमा उभिएर भएको हो। नयाँ विकसित अवस्था पुरानोको नकार मात्र होइन नयाँ विकासको आधार पनि हो। मार्क्सवादी दर्शन आफैमा विज्ञान हो। यसले पनि विकासका नयाँ चरणहरूसँगै अगाडि आउने नयाँ सामाजिक अन्तर्द्वन्द्व र अन्तरसम्बन्धहरूको समाधानका लागि नयाँ अनुसन्धानको माग गर्छ। बस्तुगत अवस्थाले माग गरे बमोजिम त्यसका समाधानको लागी समयोचित अनुसन्धान मार्क्सवादको निषेध होइन विकास हो। यस्तो निरन्तर विकास, परिवर्तन, परिमार्जन, नयाँ अनुसन्धान तथा प्रयोगको माध्यम बाटै मार्क्सवाद अगाडि बढ्ने छ। यसमा कुनै दुई मत हुन सक्दैन। यसभन्दा अन्यथा चिन्तन गल हो र विज्ञानलाई जडतामा बाँध्नु हो। यसै प्रक्रिया अन्तरगत मार्क्सवादी दर्शनको अग्रविकास हुनेछ।
पूँजीवादको वर्तमान चरणमा देखिएका सामाजिक, आर्थिक, वैज्ञानिक, परिवर्तनहरूबाट उत्पादन सम्बन्धहरू र उत्पादक शक्तिबीचका अन्तर सम्बन्धनहरूको रूपमा तथा वर्ग र वर्गसंघर्षको चरित्रमा देखिएका जटिलताहरूले यिनलाई आजको अवस्थामा परिभाषित गर्नुपर्ने माग प्रस्तुत गरेको छ । आजका मार्क्सवादी चिन्तक, अनुसन्धाता तथा राजनैतिककर्मीहरूले यसमा ध्यान केन्द्रित गर्नु पर्ने समय आएको छ । आज पनि वर्ग छन्, वर्गसंघर्ष छ, पूँजी र श्रमबीचका सम्बन्ध शोषक र शोषितको रूपमा यथावत् छन्, अतिरिक्त मूल्य उत्पादनको प्रक्रियाले झन् जटिल र बहुआयामिक रूप लिएको छ र यो विश्वकृत भएको छ, वितरण प्रणाली झन् केन्द्रीकृत र मोनोपोलाइज्ड भएको छ । यी अवस्थाहरूबाट मार्क्सद्वारा प्रतिपादित राजनैतिक अर्थशास्त्रका मूल अवधारणा र पूँजीवादका विकासको दिशाबारे भनेका कुरा सत्य साबित भएका छन् । यी अवस्थाहरूले पूँजीवाद विरोधी संघर्षलाई नयाँ रूपमा संगठित गर्न नयाँ चिन्तन र व्यवहारिक क्रियाकलापको माग गरिरहेका छन् । यो काम पूरा गर्नु पर्ने दायित्व मार्क्सवादी चिन्तकहरूको नयाँ पीढीको काँधमा आएको छ ।
समयसँगै सृजनात्मक विकास विज्ञानको आधारभूत चरित्र हो। मानव सभ्यताका पछिल्ला उपलब्धिसँगै स्थापित हुने नयाँ अवस्था, नयाँ परिवेश र त्यससँगै विकसित हुने मानव चेतनाले नयाँ विकासका लागि नयाँ चिन्तन र नयाँ अनुसन्धान गर्न जीवनलाई उत्प्रेरित गर्छ। यो चैतन्य मानवको प्रकृति प्रदत्त नैसर्गिक चरित्र हो। कुनै पनि नौलो खोज तथा उपलब्धि न अन्तिम सत्य हुन्छ, न यसलाई नै पूर्ण उपलब्धि मानेर मानव वर्तमान यथार्थतासँग निरपेक्ष रहेर निष्क्रिय बस्नु सक्छ। मानिसले सधैँ आफूलाई नयाँ परिवेश, नयाँ उपलब्धि र अनुभवको आधारमा यथार्थसँग तालमेल मिलाउँदै तिनलाई जीवनोपयोगी बनाइ उपभोग गर्दै आएको छ। त्यसै जगमा अगाडिको बाटो निर्माण गर्दै आएको छ। यो नै मानव इतिहासको भौतिकवादी विकासको यथार्थता हो। नयाँ परिवर्तनका लागि नयाँ चिन्तन र तदनुरूपका निश्चित उद्देश्य सहितका अग्रगामी क्रियाकलापबाट नै मार्क्सवादको विकास हुने छ।
सामाजिक उत्पादनको निरन्तर विकासको प्रतिक्रियाले पुनः अग्रगामी परिवर्तनको माग अगाडि सार्छ। यो सिद्धान्त केवल मानव र प्रकृतिबीचका सम्बन्धहरूमा मात्र लागू हुँदैन, बल्की मानवको राजनैतिक चिन्तन, क्रान्तिकारी क्रियाकलाप, दार्शनिक प्रस्थापना, संस्कृति र संस्कार आदि जीवनका यावत क्षेत्रहरूमा पनि लागू हुन्छ। सामाजिक उत्पादन र पूनर्उत्पादनको प्रक्रिया सामाजिक भौतिक विकासको आम नियम हो। त्यस प्रक्रियासँगै मानव चेतनाको विकास, सामाजिक आर्थिक राजनैतिक र वैचारिक परिवर्तन आदि यसका परिणाम हुन्। समाजलाई यस आधारमा हेर्नु इतिहासलाई हेर्ने भौतिकवादी दृष्टिकोण हो। यसमा परिवर्तन र प्राप्तिको कुनै अन्तिम विन्दु छैन। कुनै पनि आर्थिक-सामाजिक संरचना, यहाँसम्म कि कम्युनिजम पनि पहिलेदेखि नै निर्धारित गरिएको रूपमा सर्वत्र एकनासले विकास हुन सक्दैन भन्ने मार्क्सको महान शिक्षाको सारलाई आत्मसात् गरी मार्क्सवाद सम्मत र वर्तमान परिवर्तित अवस्था सापेक्ष हरेक सामाजिक, आर्थिक, राजनैतिक प्रश्नहरूको समाधान खोज्नु आजको आवश्यकता हो। यो सम्भव छ र गर्नु पर्छ।



लोकपाटी न्यूज

