१० अर्ब रिपो जारी गर्दै राष्ट्र बैंक, के हाे रिपाे र रिभर्स रिपो ?

Nepal-Rastra-Bank
लोकपाटी न्यूज

काठमाडाैं। बजारको विकराल तरलताको समस्या हल गर्न राष्ट्र बैंकले थप १० अर्ब रुपैयाँ रिपो जारी गर्ने भएको छ । बैंकले बिहीबार तीन बजेदेखि लागू हुने गरी एक हप्ताका लागि १० अर्ब अर्थात् एक सय करोड रुपैयाँ बराबरको रिपो जारी गर्न लागेको हो ।

उक्त रिपो राष्ट्र बैंकबाट स्वीकृत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले प्राप्त गर्न सक्नेछन् । हाल वित्तीय क्षेत्रमा तरलताको समस्याका कारण बैंकहरू तनावमा छन्।

बैंकहरु रकम संकलनकै लागि निक्षेपमा बढी ब्याजदर दिने होडमा अस्वच्छ प्रतिस्पर्धामा उत्रिरहेका पनि छन् । तर, यता नियामक निकाय राष्ट्र बैंकले भने सो कार्यलाई नियन्त्रणमा लिएको छ ।

के हाे रिपाे ?

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण “रिपो” हो ।

यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको अर्थात् बैंक तथा वित्तीय संस्थाहरूको नेपाल राष्ट्र बैंकमा रहेको खातामा नेपाल राष्ट्र बैंकले बाँडफाँट अनुसारको रकम जम्मा गरिदिने भएकोले तोकिएको समयावधिको लागि तरलता प्रवाह हुन जान्छ ।

बोलकबोल प्रक्रियाबाट निष्कासन हुने यस उपकरणमा बहु–ब्याजदर विधिको प्रयोग गरिन्छ । रिपो उपकरणको बोलकबोलमा सफल बोलकर्ताको खातामा रकम जम्मा गर्नु अघि ती बोलकर्ताले बाँडफाँट अनुसारको रकमको ११० प्रतिशत रकम बराबरको आफ्नाे स्वामित्वमा रहेको ट्रेजरी बिल वा विकास ऋणपत्र धितो स्वरूप नेपाल राष्ट्र बैंकमा बुझाउनु पर्दछ ।

भुक्तानी मितिका दिन रिपो रकम फिर्ता भुक्तानी भइसके पश्चात् धितो स्वरूप राखेको सुरक्षण पत्र सम्बन्धित बोलकर्तालाई फिर्ता गरिन्छ ।

रिभर्स रिपो के हाे ? 

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार बैंकिङ प्रणालीबाट अल्पकालीन अवधिको तरलता प्रशोचन गर्न प्रयोग हुने उपकरण “रिभर्स रिपो” हो ।

यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको नेपाल राष्ट्र बैंकमा रहेको खाताबाट रकम झिकिने भएकोले तोकिएको समयावधिको लागि तरलता प्रशोचन हुन्छ ।

बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा कम ब्याजदर बोल गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म बाँडफाँट गरिन्छ । तरलता प्रशोचन गर्ने प्रयोजनार्थ प्रयोग हुने रिभर्स रिपो उपकरणको बोलकबोल आह्वान तथा निष्कासन गर्दा नेपाल राष्ट्र बैंकले आफ्नाे स्वामित्वमा रहेको ट्रेजरी बिल धितो स्वरूप राख्नु पर्ने व्यवस्था छ ।

रिभर्स रिपो भुक्तानी मितिमा निष्कासन मितिका दिन सफल बोलकर्ताको खाताबाट खर्च गरी लिएको रकम सोही खाता जम्मा गरी एकमुष्ट साँवा ब्याज रकम भुक्तानी गर्ने गरिन्छ ।