बुर्जुवाद दर्शनमा एउटा अतर्कबुद्धिवादी धारा, जसको उत्पत्ति बीसौं शताब्दीमा बुर्जुवा बुद्धिजीवीहरूको मानसिक अवस्थाको अनुरूप एउटा नयाँ विश्वदृष्टिकोणको रचना गर्ने प्रयासको रूपमा भयो। अस्तित्ववादका विचारधारात्मक स्रोत हुन्, जीवनदर्शन, हुस्सेर्लको सम्वृत्तिशास्त्र र किर्केगार्डका रहस्यवादी धार्मिक शिक्षा। अस्तित्ववाद धार्मिक अस्तित्ववाद (मार्सेल, यास्पर्स, बेद्र्यायेव) तथा निरीश्वरवादी अस्तित्ववाद (हाइडेगर, सात्र्र, कामू) मा विभक्त छ।
अस्तित्ववादले बुर्जुवा उदारतावादको संकटलाई प्रतिबिम्बित गर्दछ। यो उदारतावादले- आफ्नो सतही ढंगको आशावादी विश्वदृष्टिकोण र बुर्जुवा समाजको प्रगतिशील विकासमा आफ्नो श्वासहित- वर्तमान युगका आँधीमय घटनाहरूको सामु आफूलाई सम्हाल्न सकेन। निराशावादी विश्वदृष्टिकोणको रूपमा उत्पन्न भएपछि यसले आफ्नो सामु यो प्रश्न राख्यो : मानिसले, जसका उदारतावादी भ्रमहरूको जाल ऐतिहासिक विपत्तिहरुले नष्ट गरिदिएको हुन्छ, कसरी बाँच्नुपर्दछ ?
अस्तित्ववाद ज्ञान प्रसारण र शास्त्रीय जर्मन दर्शनको युगको तर्कबुद्धिवाद र साथसाथै कान्टवादी प्रत्यक्षवादी दर्शनको प्रतिक्रिया हो, जुन १९औं शताब्दी अन्त तथा २०औं शताब्दीको आरम्भमा व्यापक रूपले प्रचलित थियो। अस्तित्ववादीहरूको मतमा तर्कबुद्धि मूलक चिन्तनको मुख्य लक्षण के हो भने, त्यसले कर्ता तथा विषयको प्रतिपक्षको सिद्धान्तलाई आफ्नो प्रस्थान बिन्दु बनाउँदछ। फलस्वरूप मानिससहित सम्पूर्ण यथार्थता तर्कबुद्धिवादीको सामु केवल जाँच र व्यवहारमा मात्र संयोजन-वियोजनको विषय हो र त्यसैकारण यस्तो प्रवृत्ति अवैयक्तिक हो।
अस्तित्ववाद अवैयक्तिक वैज्ञानिक चिन्तनको प्रतिपक्ष हुनुपर्दछ। यस प्रकार दर्शनलाई विज्ञानको विरुद्धमा राखिन्छ। उदाहरणको लागि, हाइडेगर के भन्दछन् भने, दर्शनको विषय ‘सत्ता’ तथा विज्ञानको विषय ‘अस्तित्वमान’ हो। ‘अस्तित्वमान’ त्यो सबै हो, जुन इन्द्रियानुभविक जगतको हो र त्यसलाई स्वयं ‘सत्ता’बाट पृथक् गरिनुपर्दछ। ‘सत्ता’को ज्ञान मानिसले अप्रत्यक्ष रूपमा (तर्कबुद्धिमूलक चिन्तनको माध्यमबाट) होइन, बरु आफ्नो सत्ता, आफ्नो निजी अस्तित्वको माध्यमबाट प्रत्यक्ष रूपमा गर्दछ।
अस्तित्वमा नै कर्ता तथा विषयको अविच्छिन्न एकता निहित छ, जसको ज्ञान न त तर्कबुद्धिमूलक वैज्ञानिक चिन्तनबाट र न परिकल्पनात्मक चिन्तनबाट नै प्राप्त हुन सक्दछ। दैनिक जीवनमा मानिस अस्तित्वको रूपमा आफूसँग सदा अवगत हुन सक्दैन, यसको लागि उसले आफूलाई सीमावर्ती स्थितिमा, उदाहरणको लागि मृत्युको सामु पाउनुपर्दछ। अस्तित्वको रूपमा आफूलाई पाएपछि मानिसले पहिलोपटक आफ्नो स्वतन्त्रता पाउँदछ। अस्तित्ववादका अनुसार स्वतन्त्रता यसमा निहित हुन्छ कि मानिसले यस्तो वस्तु हुनुहुँदैन, जसलाई नैसर्गिक अथवा सामाजिक आवश्यकताको प्रभावअन्तर्गत ढालिन्छ, बरु उसले स्वयं आप्तmनो प्रत्येक कार्य र व्यवहारबाट आफूलाई ढाल्नुपर्दछ।
यस प्रकार स्वतन्त्र व्यक्तिले त्यो सबैको उत्तरदायित्व ग्रहण गर्दछ, जुन उसले गरेको छ, र आफ्नो कार्यलाई ‘परिस्थितिहरू’बाट न्यायोचित मान्दैन। जुन कुरा मानिसको वरिपरि भइरहेको छ, त्यसको लागि अपराध भावना एउटा स्वतन्त्र मानिसको भावना हो (बेद्र्यायेव)। स्वतन्त्रताको अस्तित्ववादी विचार यस्ता बुर्जुवा कूपमण्डूकको लागि विशेष अवसरवाद र अनुसरणवादप्रति विरोधको अभिव्यक्ति हो, जसले आफूलाई विराट नोकरशाही यन्त्रको एउटा अंश मात्र महसुस गर्दछ र जसले घटना प्रवाहमा केही केही बदल्न सक्दैन।
त्यसैकारण अस्तित्ववादले निरन्तर यो कुरामाथि जोड दिन्छ कि इतिहासमा जे हुन्छ, त्यसको लागि मानिस नै उत्तरदायी छ। तर स्वतन्त्रताको अस्तित्ववादी व्याख्या आत्मवादी बनिरहन्छ : अस्तित्ववादले स्वतन्त्रताको सामाजिक स्तरमा होइन, बरु विशुद्ध रूपले नैतिकताको स्तरमा विवेचना गर्दछ। अस्तित्ववादले तर्कबुद्धिमूलक संज्ञानलाई दर्शनको विषयको लागि अनुपयुक्त मानेर त्यसलाई अस्वीकार गर्दछ र मुख्यतया हुस्सेर्लको सिद्धान्त र आर्शिक र बेर्गसाँको अन्तःप्रज्ञावादको सहारा लिएर यथार्थताको प्रत्यक्ष अन्तःप्रज्ञात्मक संज्ञानको विधि प्रस्तुत गर्दछ।
अधिकांश अस्तित्ववादी (हाइडेगर, मार्सेल, कामू, आदि) ले आफ्नो क्रियाकलापको पछिको अवधिमा यो मान्दथे कि संज्ञानको आफ्नो विधिमा दर्शन विज्ञानको अपेक्षा कलाको धेरै नजिक छ। यो संयोगको कुरा होइन कि अस्तित्ववादले पश्चिमी कला तथा साहित्यमाथि र तिनीहरूको माध्यमबाट बुर्जुवा बुद्धिजीवी समुदायको धेरै ठूलो भागको मानसिक अवस्थामाथि अत्यधिक प्रभाव पारिरहेको छ। अस्तित्ववादका विभिन्न पक्षधरहरुका सामाजिक र राजनीतिक विचारहरू समान छैनन्।
-रमेश सुनुवारको दर्शन विश्वकोशबाट



लोकपाटी न्यूज

