काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले संन्यास लिए पनि आफू क्रिकेटबाट भने नटाढिएको बताएका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा पूर्वकप्तान खड्काले आफू क्रिकेटबाट नटाढिएको र अब फरक भूमिकामा देखिने बताएका हुन्।
‘म क्रिकेटबाट टाढिएको होइन र टाढिने पनि छैन,’ उनले भने, ‘अब फरक भूमिकामा देखिन्छु । त्यसका लागि मैले यो समय उचित लागेर संन्यासको निर्णय लिएको हुँ।’ खड्काले आफूले यसअघि नै संन्यास लिन चाहे पनि टिमलाई सहयोग गरिरहन बसेको बताए।
‘दुई वर्षअघि नै संन्यासबारे सोचेको थिएँ’, उनले भने, ‘तर टिमलाई सहयोग गर्न मात्रै राष्ट्रिय टिममा बसिरहेको थिएँ। दुई वर्ष पूरा भयो, छाडेको छु।’ यस्तै खड्काले क्रिकेट व्यवस्थापनमा सफल भए राजनीतिमा आउन सक्ने बताए। उनले भने, ‘म क्रिकेट संघमा जान्छु। तर संघको भूमिकामा रहने भविष्यले बताउँछ। आजबाट मेरो करिअर र चुनौती सुरु भएको छ।’
पूर्व कप्तान पारसले सक्रिय खेल जीवन छाडेपछि क्रिकेट एकेडेमी बनाएर देशभर खेलाडी उत्पादन अभियान अघि बढाउने योजना पनि पत्रकारहरूलाई सुनाए। तर उनले अझै पनि घरेलु टिममा आफूले खेल्ने पनि संकेत गरे। ‘नेपाली क्रिकेटको अहिलेको गति छ कायम रहनुपर्छ’, उनले भने, ‘अहिलेको टिमले नेपाली क्रिकेटलाई अझै अगाडि लैजानेछ। नेपाली क्रिकेट टिमले सधैँ जित्नुपर्छ। जितोस् भन्ने कामना र प्रार्थना गरिरहन्छु।’



लोकपाटी न्यूज

