बेलायत जाँदै सन्दीप

sandip lamichhane
लोकपाटी न्यूज

काठमाडौं। ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बेलायत जाँदै छन्। सो प्रतियोगिता खेल्न उनी आज राति टर्किस एयरबाट त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्। बेलायत पुगेपछि लामिछानेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए। सो अवधिमा दुई पटकका पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र लामिछानेले सो प्रतियोगितामा खेल्न पाउनेछन्।

द हन्ड्रेड क्रिकेट प्रतियोगिता उनले ओभलबाट खेल्नेछन्। द हन्ड्रेड प्रतियोगिता आगामी साउन ७ गतेदेखि शुरु हुँदैछ। लामिछाने सम्मिलित टोली ओभलले उद्घाटन खेल म्यानचेस्टर आर्जिनल्ससँग खेल्नेछ। सो प्रतियोगिता बेलायत र वेल्स क्रिकेटको आयोजनामा पहिलो पटक हुन लागेको हो।

गत वर्ष हुने भनिएको सो प्रतियोगिता कोरोना भाइरसको महामारीका कारण स्थगन भएको थियो। द हन्ड्रेड क्रिकेट प्रतियोगिताका लागि २० वर्षीय लामिछाने एक लाख पाउण्डमा अनुबन्धित भएका हुन्। द हन्ड्रेड प्रतियोगितापछि उनले क्यारेबीयन प्रिमियर लिग (सिपिएल) खेल्ने तय भएको व्यवस्थापक सिवाकोटीले जानकारी दिए। -रासस