एजेन्सी। आजदेखि १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरण सुरु हुँदै छ। अन्तिम १६ मा आज दुई वटा खेलहरु हुनेछन्। आज हुने पहिलो खेलमा वेल्स र डेनमार्क भिड्दा दोस्रो खेलमा इटाली र अष्ट्रिया प्रतिस्पर्धा गर्ने छन्। नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा हुने वेल्स र डेनमार्कबीच खेल राति ९ः४५ बजे सुरु हुनेछ।
डेनमार्क समूह ’बी’ को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो। डेनमार्कले ३ खेलमा ३ अंक जोडेको थियो । वेल्स समूह ’ए’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो। वेल्सले ३ खेलमा ४ अंक जोडेको थियो।
डेनमार्क र वेल्सबीच १० पटक प्रतिस्पर्धा भएको छ। जसमा डेनमार्क ६ पटक विजयी हुँदा वेल्सले ४ खेल जितेको छ। यस्तै, इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने इटाली र अष्ट्रियाबीचको खेल राती १२ः४५ बजे सुरु हुनेछ।
इटाली समूह ’ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो। इटालीले ३ खेलमा ९ अंक जोडेको थियो। अष्ट्रिया भने समूह ’सी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो। अष्ट्रियाले ३ खेलमा ६ अंक जोडेको थियो। इटाली र अष्ट्रियाबीच अहिलेसम्म १३ पटक प्रतिस्पर्धा भएको छ। इटालीले अष्ट्रियासँग हार्नु परेको छैन। इटालीले अष्ट्रियाविरुद्ध १० खेल जित्दा ३ खेल बराबरी खेलेको छ।



लोकपाटी न्यूज

