द्वन्द्वात्मक भौतिकवादी दर्शनको सार्वभौम महत्त्व

internet marxism science
लोकपाटी न्यूज

मार्क्सवाद केवल एउटा भौतिकवादी दार्शनिक चिन्तन पद्धति मात्र होइन। यो भौतिकवादी सामाजिक दर्शन, राजनीतिक अर्थशास्त्र तथा वैज्ञानिक साम्यवाद जस्ता सामाजिक जीवनका अन्योन्याश्रित पक्षहरूकासाथै मानिसका राजनैतिक क्रियाकलाप र सामाजिक परिवर्तनका आधारभूत पक्ष र सामाजिक गतिको समन्वीकृत सर्वांगीण जीवन दर्शन हो। मार्क्सद्वारा प्रतिपादित ऐतिहासिक भौतिकवाद सामाजिक गतिका द्वन्द्वात्मक चरित्रको भौतिकवादी विश्लेषण पद्धति हो भने त्यस गतिसँगै विगत सामाजिक परिपाटीको आमूल परिवर्तन गरी साम्यवादी अवस्थामा संक्रमणका लागि मानवले गर्नुपर्ने सचेतन राजनैतिक क्रियाकलापको मार्ग निर्देशक सिद्धान्त पनि हो। यो भौतिकवादी दर्शनको फाँटमा मार्क्सको नितान्त नौलो देन हो।

सामाजिक विकासको द्वन्द्वात्मक भौतिकवादी विश्लेषणको यस पद्धतिलाई समष्टिगत रूपमा नबुझी मार्क्सवादी दार्शनिक पद्धतिलाई बुझ्न सकिँदैन। मार्क्सवाद पढ्ने वा घोक्ने विषय होइन यसलाई सारभूत रूपमा बुझ्नु र आत्मसात् गरी जीवनको संस्कार बनाउन सके मात्र यस समाज विज्ञानलाई गहराईका साथ जीवनमा लागू गर्न सकिन्छ र सचेत रूपमा सामाजिक विकासको चरित्र र सामाजिक गतिको दिशालाई मानव समाजको सुखद भविष्य निर्माण गर्ने दिशामा मोड्न सकिन्छ।

मार्क्सवादका तीन अंगः द्वन्द्वात्मक भौतिकवाद, राजनैतिक अर्थशास्त्र, वैज्ञानिक साम्यवाद

मार्क्सवाद कम्युनिस्टहरूको सामाजिक दर्शन, क्रान्तिकारी क्रियाकलापहरूको मार्ग निर्देशक सिद्धान्त तथा राजनैतिक चिन्तनको आधार भएकोले मार्क्सको जीवन, वहाँका देन र वहाँको वैज्ञानिक विश्लेषण पद्धति तथा मानव इतिहासको भौतिकवादी चरित्रका आधारभूत पक्षहरू बारे सामान्य जानकारी पाउन उहाँको द्वन्द्वात्मक भौतिकवादी दार्शनिक पद्धति र सामाजिक विज्ञानका सम्पूर्ण पहलहरूको सामान्य ज्ञानका लागि यसका आधारभूत पक्षहरूलाई गहराइका साथ बुझ्नु आवश्यक हुन्छ। विश्व ब्रह्माण्डको उत्पत्ति, विकास, मानव जीवन र उसको चेतना तथा दैनिकीसँगका सम्बन्धको व्याख्या गर्ने अनेक दार्शनिक सिद्धान्त र त्यसका शाखा प्रशाखा छन्। तर यहाँ हाम्रो अध्ययनको विषय मार्क्सवादी दार्शनिक पद्धति हो र त्यसबारे सामान्य जानकारी प्राप्त गर्नु हो।

मार्क्सका सम्मुख मानव समाजका विकासको मूल प्रवृत्ति र दिशा तथा यसका इतिहासको सम्यक ज्ञान प्राप्त गर्नु एउटा जटिल विषय हो। किनकि सामाजिक गति केवल प्राकृतिक सार्वभौम नियमबाट मात्र निर्देशित छैन बल्की यसको आफ्नै गतिका विशिष्ट नियमहरूबाट पनि निर्देशित छ। यसको समष्टिगत ज्ञान केवल भौतिकवादी द्वन्द्वात्मक विश्लेषण पद्धति अपनाएर मात्र वैज्ञानिक सत्यापन सहित प्रतिपादित गर्न सकिने अवस्था थियो। त्यस कारण इतिहासको भौतिकवादी व्याख्या सहित पूँजीवादी समाजमा सर्वहारा वर्ग र पूँजीपतीवर्गको परस्पर विरोधी चरित्र सहितको एकत्व र संघर्षको अवस्था र एकत्वमा रहेका परस्पर विरोधी वर्गहरू बिच वर्गसंघर्षको द्वन्द्वात्मक चरित्रको व्याख्या गर्न मार्क्सले द्वन्द्वात्मक विश्लेषण पद्धति अपनाए। केवल द्वन्दवादको माध्यमबाट मात्र आफ्ना प्रस्थापनाहरूलाई वैज्ञानिक आधार दिनु सम्भव थियो।

समष्टिमा मार्क्सवादी दर्शनको अध्ययनका मुख्य तीन क्षेत्र छन्- द्वन्द्वात्मक भौतिकवाद, राजनैतिक अर्थशास्त्र र वैज्ञानिक साम्यवाद। जसमध्ये द्वन्द्वात्मक भौतिकवादी दर्शनको अध्ययन क्षेत्रका दुई वटा पक्ष छन्- क. द्वन्द्वात्मक भौतिकवाद। ख. विशिष्ट रूपमा सामाजिक गतिका यावत् पक्षको अध्ययन गर्ने ऐतिहासिक भौतिकवाद। विश्वब्रह्माण्डीय प्रकृतिको भौतिकता र त्यसको नैसर्गिक द्वन्द्वात्मक चरित्र, प्रकृतिको शाश्वत द्वन्द्वात्मक गति, गतिको चरित्र, कारण र परिणाम, पदार्थ (Matter), व्यौम (Matter) र काल (Time) तथा गति (Motion)को सार्वभौम सनातन अनश्वर चरित्र र तिनका अन्तर सम्बन्ध र पारस्परिक निर्भरता तथा मानव चेतना र ज्ञानका विकासको द्वन्द्वात्मक चरित्रको अध्ययन र व्याख्या गर्ने वैज्ञानिक दार्शनिक पद्धति- द्वन्द्वात्मक भौतिकवाद हो भने मानव समाजका विकासको भौतिकवादी चरित्र र सामाजिक गति तथा त्यसको कारण, प्रकृति र मानवबीचका सम्बन्ध, जीवनका लागि भौतिक उत्पादनको अपरिहार्यता र त्यस दौरान मानिस-मानिसबीच स्थापित हुने उत्पादन सम्बन्ध, सामाजिक-आर्थिक संरचना र उत्पादन सम्बन्धको द्वन्द्वात्मक चरित्र, आर्थिक वर्ग र वर्ग संघर्ष, सामाजिक क्रान्ति र त्यसको द्वन्द्वात्मक चरित्र र त्यसको मूल दिशा, सामाजिक अन्तर्द्वन्द्व र अन्तर निर्भरता आदि सहित यावत सामाजिक परिघटना (Social Phenomena)हरुको समष्टिगत अध्ययन र विश्लष गर्ने वैज्ञानिक भौतिकवादी दार्शनिक पद्धति ऐतिहासिक भौतिकवाद हो। यो मार्क्सको विशिष्ट दार्शनिक देन हो।

सामाजिक संरचनाको मूल आधारको रूपमा रहने आर्थिक संरचनाको अध्ययन राजनैतिक अर्थशास्त्रको प्रमुख विषयवस्तु हो। जस अन्तरगत उत्पादक शक्ति र उत्पादन प्रणालीका सम्बन्ध, पूँजी तथा अतिरिक्त पूँजीको निर्माण, उत्पादन र उपभोगको परिपाटी, वस्तु उत्पादन र त्यसको चरित्र, मूल्यको सिद्धान्त र नाफा, श्रम शोषण, पूँजीका विविध क्षेत्र, चरित्र र प्रवाह, पूँजी बजार, श्रम, पूँजी तथा उत्पादनको अन्तर्राष्ट्रियकरण आदि सामाजिक उत्पादन र विनिमय सम्पूर्ण पक्षहरूको अध्ययन र विश्लेषण पर्छ। वर्गीय समाजमा राजनैतिक अर्थशास्त्रको चरित्र पनि वर्गीय नै हुन्छ। पूँजीवादी उत्पादन प्रणालीमा यसको चरित्र पूँजीवादी छ। जसले पूँजीपति वर्गको वर्गीय स्वार्थको परिपूर्ति गर्छ भने मार्क्स तथा लेलिनद्वारा प्रतिपादित समाजवादी उत्पादन प्रणालीको आर्थिक व्यवस्था श्रमजीवी वर्गका वर्गीय हितको संरक्षण गर्ने छ। श्रमजीवी वर्गका राजनैतिक अर्थशास्त्रको सैद्धान्तिक पक्ष मार्क्सले प्रतिपादित गरेका हुन भने लेनिनले यसलाई व्यवहारमा उतारेका हुन्। राजनैतिक अर्थशास्त्रका विविध पक्षहरू सन्दर्भगत रूपमा तल लेखिएका भए पनि राजनैतिक अर्थशास्त्रका सम्पूर्ण पक्ष यस लेखनमा समेटिएका छैनन्। त्यो आफै विस्तृत अध्ययनको क्षेत्र हो, जुन कुरा यहाँ सम्भव छैन।

वर्गसंघर्षको सिद्धान्त मार्क्सको मौलिक अनुसन्धान हो र वैज्ञानिक साम्यवादको सिद्धान्त वर्गसंघर्ष र त्यसको परिणाम स्वरूप सामाजिक-आर्थिक संरचनाहरूमा हुनै परिवर्तनका वस्तुगत नियमहरूको अनिवार्य तार्किक परिणाम हो। यसै वस्तुगत नियमको आधारमा मार्क्सले मानिसको कविलाई अवस्थापछिका प्रत्येक वर्गीय उत्पादन प्रणालीमा स्थापित हुँदै आएका शत्रुतापूर्ण विभेदकारी उत्पादन सम्बन्धको फलस्वरूप निरन्तर वर्ग संघर्षको इतिहास र त्यसको कारण सामाजिक-आर्थिक संरचहरूमा भएका परिवर्तनहरूको वैज्ञानिक विश्लेषण र विवेचन गर्दै अन्ततोगत्वा मानव समाज वर्ग र वर्गीय शोषण विहीन तथा शासक र शासितको अवस्था नरहने साम्यवादी संरचनामा प्रवेश गर्ने अपरिहार्यता हो भन्ने निष्कर्ष निकालेका हुन् र त्यसको प्राप्तिका लागि सर्वहारा वर्ग र मार्क्सवादीहरूले गर्नुपर्ने राजनैतिक, वैचारिक र संगठनात्मक क्रियाकलापको दिशा निर्देशन गर्ने सिद्धान्त नै वैज्ञानिक साम्यवादको सिद्धान्त हो।

मार्क्सवादी दर्शनका दुई वटा अंग अर्थात् द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादले, प्रकृति तथा मानव समाजको परिवर्तनशीलताका सामान्यीकृत (Social Phenomena) आम नियम र मानव समाजको जन्म, विकास र परिवर्तनको क्रमिकता र सामाजिक उत्पादन प्रक्रिया बिचको अन्योन्याश्रित सम्बन्ध र सामाजिक परिवर्तनको गतिका आम नियमको वैज्ञानिक विश्लेषण गर्छन् भने तेस्रो संघटक अंग- वैज्ञानिक साम्यवाद, समाज विकासका द्वन्द्वात्मक प्रवृत्ति र गतिका दिशा तथा वर्गसंघर्षका नियमको अनिवार्य तार्किक परिणामको रूपमा परिपुष्टि गरिएको वैज्ञानिक विश्लेषण हो। तर, वैज्ञानिक साम्यवादलाई समाज विकासका अनन्त प्रवाहको अन्तिम विन्दुको रूपमा परिभाषित गरिएको अवस्था भने होइन। यो केवल समाज विकासका वस्तुगत नियमहरूको तार्किक परिणामको रूपमा सामाजिक विकासको एउटा चरणमा समाजले पार गर्नुपर्ने एउटा खास चरण र विशिष्ट अवस्था मात्र हो, जसले विगत आर्थिक-सामाजिक संरचनाका सामाजिक अन्तरद्वन्द्वका रूप र सारको निषेध गर्छ। तर, त्यही विन्दुबाट नयाँ प्रतिपक्षहरूको जन्म र नयाँ प्रवृत्ति र सार सहितका अन्तर्द्वन्द्व जन्मिन्छन् र विकसित हुन्छन्। यही मानव इतिहासका विकासको द्वन्द्वात्मक प्रवृत्ति हो।

वैज्ञानिक साम्यवादको सिद्धान्तका मुख्य सैद्धान्तिक प्रस्थापनहरूको श्रोतहरूमा केवल मार्क्सका पूर्ववर्ती काल्पनिक समाजवादी र कम्युनिष्टहरूका विचार मात्र होइन स्वयम मार्क्स र एंगेल्सद्वारा दर्शनशास्त्र, इतिहास तथा अर्थशास्त्रको गहन अध्ययन, अनुसन्धान र तत्कालीन अवस्थाको यथार्थताले दिएको ज्ञानको निचोड पनि निहित छ। जर्मन दर्शनमा विकसित भएको द्वन्द्ववाद र भौतिकवाद तथा फ्रान्समा विकसित भएको काल्पनिक समाजवाद तथा ब्रिटेनमा विकसित भएको अर्थशास्त्रका सारहरूको समुचित ज्ञान हासिल नगरेको भए सायद नत द्वन्द्वात्मक भौतिकवादको र न वैज्ञानिक साम्यवादका सिद्धान्तको प्रतिपादन सम्भव हुने थियो होला।

सत्य हो, पूर्ववर्ती कम्युनिजम र काल्पनिक समाजवादको अवस्थाबाट दर्शनलाई वैज्ञानिक आधार दिनु र त्यसलाई मानव समाजका विकासको नियन्ता सिद्धान्तको रूपमा प्रतिपादित गर्नु त्यति सजिलो थिएन। त्यसका लागि समाज विकासको आधारभूत चरित्र बुझ्न नयाँ वैज्ञानिक विश्लेषण पद्धतिको आवश्यकता थियो। त्यसका लागी उहाँहरूले द्वन्द्वात्मक विश्लेषण पद्धति अपनाउनु भयो र यसका लागि आवश्यक ज्ञान इतिहासको भौतिकवादी व्याख्याबाट र पूर्ववर्तीहरूका प्रस्थापनहरूबाट प्राप्त गर्नु भयो। एंगेल्स भन्नुहुन्छ- हामी जर्मन शोसियल डेमोर्क्याटहरू आफ्नो उत्पत्तिलाई सेन्ट सेमोन, फ्यौरर, र ओनसँग मात्र होइन कान्त, फिच्टे र हेगलसँग जोडन पाएकोमा गौरव गर्दछौं। (मार्क्स-एंगेल्स कलेक्टेड वर्कर, बर्लिन १९६२)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्