‘वैदिक दर्शनमा भौतिकवादी तथा द्वन्द्वात्मक पक्ष’

Globe-दर्शन
लोकपाटी न्यूज

नेपाल, भारत जस्ता देशहरूका मार्क्सवादीहरूले तथा कम्युनिस्ट आन्दोलनका नेताहरूले द्वन्द्वात्मक भौतिकवादको अध्ययन गर्दा ग्रीकलगायत पश्चिमा दर्शन, त्यहाँको समाज र सामाजिक संरचना तथा ऐतिहासिक विकासलाई आफ्ना अध्ययनको प्रमुख विषय बनाए। हाम्रो आफ्नो पूर्वीय सामाजिक विशिष्टता, यस क्षेत्रको ज्ञान परम्परा, सामाजिक संरचना, ऐतिहासिक सामाजिक-आर्थिक संरचनाहरूका स्वरूप, वर्गीय विभाजन र सामाजिक संरचनाहरूको विशिष्ट चरित्र र सामाजिक विकास क्रम, हाम्रो प्राचीन दार्शनिक चिन्तन प्रणाली आदिबारे कहिले जान्न खोजेनन्। मार्क्सले आफ्ना दार्शनिक, आर्थिक र सामाजिक निचोड र राजनैतिक मान्यताहरू प्रमुखरूपमा पश्चिमा समाजको अध्ययनको आधारमा प्रस्तुत गरेका हुन्। जसको आधार प्रमुखरूपमा त्यहाँको विगत र वर्तमान थियो। मार्क्सवादको अध्ययन गर्दा हामीले आफ्नो विगत खोज्न चाहेनौं।

फलस्वरूप युरोपको सन्दर्भमा निकालेका र हाम्रो समाजका लागि पराया र अपरिचित कतिपय निचोडहरू हाम्रा राजनैतिक क्रियाकलाप र कार्यकर्ताहरूको शिक्षादीक्षाका लागि प्रयोग गर्दै आयौं। चाहे त्यो वर्गीय विभाजनको अवस्था र कारणबारेमा होस् अथवा धर्म र संस्कृतिका बारेमा। प्राचीन भारतीय दर्शनको अथाह ज्ञानको समुद्रमा डुबुल्की लगाउन त टाढाको कुरा, त्यसलाई बाहुनहरूले रचेको शोषणवादी धार्मिक ज्ञान भनी पन्छाएका मात्र होइनौं, त्यसलाई जलाउने अभियानसम्म चलायौं। आफ्नो सामाजिक विकासको इतिहास नबुझी त्यसलाई परिवर्तन गर्ने प्रयास गर्नु यस क्षेत्रका मार्क्सवादीहरूका चिन्तनको यस दरिद्रता भन्दा अर्को विडम्बना अरू के हुन सक्छ ?

एउटा युरोपेली विद्वानले भारतीय दर्शनको अनुसन्धानको क्रममा भनेका छन्- ‘प्राचीन हिन्दु दर्शन ईश्वर पूजक (God worshiper) दर्शन होइन बल्की ईश्वरको खोजीमा लागिपरेको खोजकर्ता (God seeking) दर्शन हो। अध्ययन गर्दा म आफूलाई त्यस भनाइको नजदीक पाउँछु। प्राचीन भारतीय दर्शनको अध्ययन गर्दा यसका वैदिक र वेदान्तिक प्रस्तुति र परिवर्तित प्रक्षिप्तिहरू (धर्म, ईश्वर, कर्मकाण्ड जस्ता प्रक्षेप)का बिचको विभेद बुझ्नु आवश्यक छ। वेद र वेदान्तकालीन अवधारणहरूमा प्रयुक्त शैवहरूको ‘शिव’ वेदान्तीहरूको ‘ब्रह्म’ शाक्तहरूको ‘शक्ति’ नैयायिकहरूको ‘कर्ता’ साकार चतुर्मुखी ब्रह्मा, बागम्बरधारी शिव, चतुर्भुज विष्णु, अष्टभुज देवी होइनन्। यी परवर्तीकालमा दर्शनसँग जोडिएका प्रक्षिप्ति र धार्मिक आस्थासँग जोडिएका कल्पित नाम संज्ञक विम्ब मात्र हुन्।

प्राचीन हिन्दु दर्शनमा प्रयुक्त ‘शिव’, ‘शक्ति’, ‘ब्रह्म’, ‘कर्ता’ जस्ता दार्शनिक अवधारणा अज्ञात, अगोचर, अकायिक, असंज्ञक, नित्य, नित्यनैमित्तक कारण नभएको, अक्षय, नित्यसंज्ञा, निर्विकल्प, अक्षय जस्ता शब्दावली आदितत्व (Primordial Matter)को सम्बोधनामत्क र त्यसैरूपमा परिभाषित दार्शनिक स्वयमसिद्ध संज्ञक अवधारणाहरू हुन र तिनलाई त्यसैरूपमा बुझ्नु आवश्यक हुन्छ। यिनलाई दार्शनिक अपरिभाष्य स्वयंसिद्धि संज्ञक (कुनै वस्तु वा कार्यका निम्ति अपरिभाष्य रूपमा प्रयोग हुने शब्द) दार्शनिक अवधारणा (Philosophical Category) आदितत्ववोधक शब्दको अर्थमा नै बुझ्नु आवश्यक हुन्छ।

अर्को कुरा भौतिकशास्त्रमा प्रयुक्त हुने शब्द ‘Matter’ (तत्त्व/पदार्थ) र दर्शनशास्त्रमा प्रयोग हुने शब्द ‘Matter’ (तत्त्व/पदार्थ) बिचको भिन्नता बुझ्नु आवश्यक हुन्छ। यो भिन्नता नबुझीकन भौतिकवादी दर्शनको सार र गहिराइ बुझ्न सकिँदैन। भौतिकशास्त्रको ‘Matter’ (तत्त्व/पदार्थ) वोधगम्य ‘भूत’ (Being) संज्ञक हो भने दार्शनिक ‘Matter’ (तत्त्व वा पदार्थ) स्वयंसिद्ध आदितत्व संज्ञक दार्शनिक अवधारणा (Philosophical Category) हो। यो सर्वव्यापक छ, तर, त्यहीरूपमा कतै अभिव्यक्त छैन। विभिन्न गुण, धर्म, सार र रूपमा मात्र अभिव्यक्त छ। जस्तो फलहरू विभिन्न स्वाद, रूप, रंगमा सर्वत्र छन् र पाइन्छन्। त्यसलाई खान सकिन्छ, छुन सकिन्छ, देख्न सकिन्छ, त्यसको गुणवत्ता, रूप, स्वादबारे अरूलाई भन्न सकिन्छ। तर, ‘फल’ आफैमा (In it self) कतै छैन र पाइँदैन। अर्थात् ‘फल’ विभिन्न गुणधर्मी नामसंज्ञक रूपबाट मात्र अभिव्यक्त छ। त्यस्तै मानिस सर्वत्र छ र थियो। तर, ‘मानिस’ कतै छैन। उ हरि, भानु, राम आदि विभिन्न नामसंज्ञक स्वत्वसहित अभिव्यक्त छ।

मार्क्स लगायतका पश्चिमा केही दार्शनिकहरूले स्वयंसिद्ध दार्शनिक अवधारणा (एPhilosophical Category)को रूपमा प्रयोग गरेको शब्द ‘Matter’ (तत्त्व/पदार्थ) र आदि हिन्दु दर्शनमा प्रयोग भएका आदितत्व बोधक ‘शिव’, ‘शक्ति’, ‘ब्रह्म’, ‘कर्ता’ आदि शब्दहरू स्वयंसिद्ध दार्शनिक अवधारणा हुन्। कुनै मूर्त, साकार, गुणधर्मयुक्त, व्यक्त रूप होइनन्। जस्तोः आदि शंकराचार्य ‘शिव’लाई परिभाषित गर्दै लेख्छन्ः-

अहम् निर्विकल्पो निराकार रूपो, विभूब्याप्त सर्वत्रसर्वेन्द्रियाणम्,, सदा मे समत्वो नबन्धोर्नमुक्त, चिदानन्दरूपो शिवोहम् शिवोहम्।

अर्थात्, म निर्विकल्प, कुनै रूप वर्ण नभएको, सर्वत्र व्याप्त छु। म सधैँ सम (क्षय वृद्धि भन्दा पर), न कुनै बन्धनभित्र छु, न मुक्त छु। म चिदानन्दरूप ‘शिव’ हुँ। ‘शिव’लाई परिभाषित गर्ने यस अभिव्यक्तिले कतै पनि त्यसको वागम्बरधारी वा नागधारी रूप दर्शाउँदैन। अथवा ब्रह्मको सार्वन्निकता र अभिव्यक्त हुने रूप बारे उपनिषद भन्छः ‘अणोरणिम्याम महतोमहीयान’ – रेणु देखी ठूलोभन्दा ठूलोसम्ममा (पदार्थ) ब्रह्म व्याप्त छ। स्मरणीय छ, त्यस वेलासम्म भारतीय चिन्तकहरूले विश्व संरचनाको आधारभूत सूक्ष्मातिसूक्ष्म तत्त्व अणुलाई मानेका थिए। अथवा ब्रह्म के हो ? भनी प्रश्न गर्दा ‘नेतिनेति ब्रह्म’- अर्थात् यो पनि ब्रह्म होइन र त्यो पनि होइन भन्दै विश्वचराचरमा अभिव्यक्त भइरहेका सबै पदार्थका रूप संज्ञक वस्तुहरूको निषेध गर्दै जाँदा जे बाकी रहन्छ, त्यही ब्रह्म हो। जसबाट सृष्टिको उत्पत्ति भएको छ। अथवा ‘अहम् ब्रह्मस्मि’ अर्थात् म नै ब्रह्म हुँ, अथवा ‘सर्वखल्मिदम् ब्रह्म’ अर्थात् जे छ, त्यो सम्पूर्ण नै ब्रह्म हो, आदि जस्ता ब्रह्मसंज्ञक परिभाषाहरूले सृष्टिकर्ता चतुर्मुख ब्रह्मा भनी जनाउँदैन। किनकि, सृष्टिकर्ता चतुर्मुख ब्रह्मको जन्म र आयु पनि निश्चित गरिएको छ। ब्रह्मालाई न अक्षय मानिएको छ न अविनाशी नै। उपनिषदले भन्छ, ‘पूर्णात पूर्णमिदम्…..पूर्णश्यपूर्णमादायः पूर्णमेव विशिष्यते’। अर्थात् यो सृष्टि संरचना आफैमा पूर्ण छ। यस पूर्णबाट सम्पूर्णलाई निकाले पनि यो पूर्ण नै रहन्छ। यस भनाई भन्दा पर भौतिकवादी चिन्तनलाई अन्यथा रूपमा कसरी बुझ्ने ?

मार्क्स र त्यसभन्दा पहिलेका पश्चिमा भौतिकवादी दार्शनिकहरूले तत्त्व ‘Matter’ (दर्शनशास्त्रमा पश्चिमा दार्शनिकहरूले आदि तत्त्वका लागि प्रयोग गर्ने शब्द) शब्दलाई परिभाषित गरेको पाइँदैन। यस शब्दलाई पहिलो पटक लेनिनले परिभाषित गरेको पाइन्छ। लेनिनका अनुसार ‘Matter’ एउटा त्यस्तो दार्शनिक स्वयंसिद्ध अवधारण (Philosophical categor) हो। जसले त्यस बस्तुगत सत्यलाई जनाउँछ। जसलाई मानिसका संवेगहरूले अनुभूत गराउँछन्। जसको उतार गर्न सकिन्छ, जसको तस्बिर लिन सकिन्छ र जसलाई हाम्रा संवेगहरूले प्रतिबिम्बित गर्न सक्छन्। जो मानिसभन्दा बाहिर स्वतन्त्र रूपमा अस्तित्ववान् छ। (संकलित रचना भाग १४)

केही पश्चिमा चिन्तक दर्शनमा भौतिकवादी चिन्तनको धारबारे उल्लेख गर्दा मुख्य रूपमा अठारौं शताब्दीको फ्रान्सेली भौतिकवाद वा फायरबाखको सहारा लिन्छन् वा भौतिकवादी दर्शनको विकासको इतिहास काल त्यसबाट गणना गर्छन्। तर, यो सोच वा भनाई सही होइन। भौतिकवादी दार्शनिक चिन्तन धाराको विकास प्राचीन ग्रीक दर्शनका साथै पूर्विया दर्शन र खास गरी प्राचीन भारती दर्शनको इतिहासमा इसाभन्दा सहस्राब्दीयौं पूर्व नै विकसित रूपमा रहेका पाइन्छ। ईश्वरवादी अनेकौं आलोचकहरूले बृहस्पति, नारद, भरद्वाज, कपिल, चारवाक, लोकायत दर्शन आदि जस्ता अनेकौं चिन्तकहरूलाई वामार्गी अर्थात् अनिश्वरवादी भनी सम्बोधन गरेको पाइन्छ।

यद्यपि यसका कतिपय वैचारिक धारहरूको ठिकठिक स्रोत, समय र क्रमिकता तथा रचयिताबारे सर्वस्वीकृत मान्यता स्थापित गर्न सकिएको छैन र धेरै जसो मूल स्रोत उपलब्ध पनि छैनन्। तर, प्राचीन ग्रन्थहरूमा यसको उल्लेख छ। कतिपय अवस्थामा पछि जोडिएका प्रक्षेपहरूले पनि अन्योल उब्जाएको छ। यसमा सम्यक अवधारणा बनाउन परवर्तीकालमा प्रसंगवश प्रयोग गरिएका उद्धरणहरूको सहारा लिनु पर्ने अवस्था आज पनि विद्यमान छ। तर यति अनुमान गर्न सकिन्छ कि यस्ता केही चिन्तन प्रणाली इसापूर्व केही हजार वर्ष पहिलेको वरिपरि विद्यमान थिए।

लोकायतको प्राचीनता तथा भारतीय दर्शनमा भौतिकवादी चिन्तकको प्राचीनता बारे यस. एन. दाशगुप्त आफ्नो अनुसन्धानमा भन्नुहुन्छः कात्यायनले (३००० ई.पू.)को ‘वन्तिका सूत्र’ मा कपिलको सांख्य दर्शनले सृष्टिको उत्पत्ति, आदितत्व, गतिको आन्तरिक श्रोत, काल तथा व्योम (Time and Space) आदिको एकत्व र स्वायत्तता र पारस्परिक परिपूरकताको पक्षलाई विस्तृत रूपमा व्याख्या गरेका छन्। कपिल, गौतम, बादरायण, कणाँदको अणुवाद अर्थात् प्रत्येक पदार्थका अस्तित्वको आधार अणु हो भन्ने प्रस्थापनाले सृष्टि संरचनाको आधार भौतिक तत्त्व हो भनी किटान गरेको छ। दार्शनिक भाष्यकार मध्वाचार्यका अनुसार चारवाक परम्पराको लोकायत शाखाको प्रमाणवाद, तत्वमीमांसा र नीतिशास्त्र, जहाँ लोकायतहरू प्रत्यक्ष इन्द्रीय ज्ञान बाहेक अन्य ज्ञान स्रोतलाई मान्यता दिँदैन र केवल ती तत्त्वहरूलाई सत्य मान्छन् जसको ज्ञान इंद्रियहरूबाट गर्न सकिन्छ।

लोकायत अनुसार ईश्वर र आत्माको अस्तित्व बारे कुनै प्रमाण छैन र न पुनर्जन्मको नै। त्सकारण अप्रमाणित परिकल्पनाको कुनै अर्थ छैन। जीवन सत्य हो। यसको ‘अस्ति’ प्रमाणित छ। बृहस्पतिको ‘बार्हस्पत्य’, पतञ्जलिको (१५०ई पू) ‘महाभाष्य’, भास्कराचार्य आदिका रचना भारतीय भौतिकवादी दर्शन पद्यतिका प्रमाण हुन्। गर्गको ज्योतिष शास्त्रमा वर्णित ग्रहहरूको अवस्थिति, गति, परिवर्तन, पारस्परिक एकत्व र सापेक्षताको सिद्धान्त आदि भारतीय दर्शनका भौतिकवादी परम्पराका उच्च परिचायक हुन। (हेर्नुहोस्-देवी प्रसाद चट्टोपाध्याय-लोकायत)। प्राचीन भारतीय दर्शनका यी पक्षको विस्तृत फेहरिस्त तथा हालसम्म विभिन्न विद्वानहरूका खोजमूलक अनुसन्धानबारे विस्तृतरूपमा लेख्ने यस लेखनको उद्देश्य होइन। समय मिलेमा अथवा शरीरले साथ दिएमा यसबारे पछि लेख्ने प्रयास गरिने छ। अहिलेलाई सांख्य दर्शन शाखाले प्रतिपादन गरेको सृष्टि विकासको क्रमिकताका केही अंश प्रस्तुत गर्न चाहन्छु।

सांख्य अनुसार सृष्टिको मूल आदितत्व (Primeval substance), जुन गन्ध, वर्ण, रूप आदि यावत विशिष्ट गुण रहित छ र शब्द, स्पर्श आदि भन्दा पर, नित्य, अविनाशी, सनातन धु्रवसत्य रूपमा आफैमा स्थित, अनन्त, अनादि बीजरूप, शाश्वत, अज्ञेय महत्तत्व ‘ब्रह्म’ सृष्टिको आदि कारण हो। यसलाई ‘प्रधान’ तथा ‘प्रकृति’ पनि भनिएको छ र यो सत् (नित्य) र असत् (अनित्य) जस्ता उभय रूपमा विद्यमान छ। यसमा अन्तरस्थ सत्त्व, रज, तम तीन गुण जबसम्म पारस्परिक सम अवस्था (Harmony)मा (अर्थात् कुनै घटी कुनै बडीको अवस्था नभै समान) अवस्थित रहन्छन् तबसम्म यस सर्वभूतमय अव्यक्त आदि कारणमा कुनै क्षोभ (गति) उत्पन्न हुँदैन र त्यस अवस्थामा यसले सृष्टि उत्पन्न गर्न सक्दैन। तर यस स्वत्वमा हुने स्वजात योग विग्रहका कारण यस आदि तत्त्व ब्रह्ममा विकार (Disorder) उत्पन्न हुन्छ र त्यो अवस्था क्षोभ (गति, हलचल)को कारण बन्छ। यो ‘ब्रह्म’ स्वयं क्षोभ उत्पन्न गर्ने र स्वयम् क्षुब्ध हुने प्रवृत्ति युक्त छ र यसमा उत्पन्न हुने क्षोभ (गति, हलचल) बाट उत्पन्न हुने विकारी (विकारबाट उत्पन्न भएको परिणाम)नै सृष्टि र प्रलयको कारक भएकोले यसलाई ‘प्रधान’ पनि भनिएको छ। यसमा निहित प्रधान पुरातन पुरुषमा उत्पन्न क्षोभ (गति)बाट प्रधान (प्रकृति) पुरुषात्मक महत् (आदि बीज)को आविर्भाव हुन्छ। यसै कारणले यसलाई (महद्वीज) आर्थात महान् आत्मा, मति, ब्रह्मा, प्रबुद्धि, प्रज्ञा, धृति, संविता आदि नामसंज्ञक रूपमा बोलाइन्छ। अर्थात् यी त्यसै पुरुषात्मक महद्का नाम संज्ञक रूप हुन्।

यहाँ स्मरणीय कुरा के छ भने, भौतिकवादमा तत्त्व/पदार्थ (Matter)लाई मात्र आदि तत्त्व मानिएको छ। तर, प्राचीन भारतीय दर्शनका केही गुरुकुलहरूले आदि पुरुष, आदि प्रकृति र आदि ब्रह्मलाई आदि सनातन सत्यको रूपमा मानेका छन्। यिनैलाई महत्ततत्व अर्थात् जीवतत्व र बुद्धितत्वको रूपमा मानिएको छ। यस महत्ततत्वलाई नै सम्पूर्ण प्राणी जगतको आदि कारण वैकारिक, तैजस र तामस तीन प्रकारका ‘अहंका’को उत्पत्तिको कारण मानिएको छ। कालान्तरमा यी अहंकारहरूमा विकार (परिवर्तन) उत्पन्न हुँदा पञ्च महाभूत-पृथ्वी, जल, वायु, तेज तथा आकाश र पाँच तन मात्र-शब्द, स्पर्श, रस, तथा गन्ध र इन्द्रियहरू- पाँच ज्ञानेन्द्री, पाँच कर्मेन्द्री र मन एघार इन्द्रियहरू (यसमा मनलाई उभय गुणधर्मा मानिएको छ। किनकि मनले संकल्प-किल्प तथा कर्म पनि गर्छ र खुख-दुःखको अनुभूति पनि गर्छ)को उत्पत्ति भएको मानिन्छ र यसैबाट सम्पूर्ण सृष्टिको उत्पत्ति मानिएको छ।

प्राचीन भारतीय दर्शनमा वेदान्तीहरूले ‘ब्रह्म’ र शैवहरूले ‘शिव’लाई सृष्टिको आदि कारण (Primordial substance) मानेका छन् भने शक्तिलाई गति, ऊर्जा आदि संज्ञक रूपमा लिएको पाइन्छ। ‘शक्ति’ विना ‘शिव’ निष्क्रिय (मृत)को रूपमा हेरिएको छ र जब ‘शक्ति’ र ‘शिव’को योग विग्रह हुन्छ तब ‘शिव’मा विकार (गति) उत्पन्न हुन्छ र सृष्टि विकासको प्रादुर्भाव हुन्छ। शैव दर्शन अनुसार शिव र शक्ति दुई विपरीत तत्त्वहरूको एकत्व सृष्टिको कारणका रूप मानिएको छ भने सांख्यले महत्ततत्वमा उत्पन्न हुने ‘विकार'(पदार्थको रूप, गुण आदिमा हुने परिवर्तन)बाट उत्पन्न वैकारिक (महत्ततत्वमा भएको विकारबाट उत्पन्न पदार्थ, गुण आदि)मा हुने क्रमिक नयाँ विकारबाट सृष्टिको उत्पत्ति भएको मानिएको छ। यी दुवैको सैद्धान्तिक प्रस्थापनाहरूमा यी आदि तत्त्वहरूको कुनै आकार, गुण, गन्ध, आयतन छैन न कुनै ठोस, ज्ञेय, परिमेय पहिचान छ न कुनै निर्माताको अवधारणा। यसलाई ‘स्वयम्भू’ (आफ्नो उत्पत्तिको कारण आफै) मानिएको छ। उदाहरणार्थ- ‘ब्रह्म’ जसलाई सृष्टिको आदितत्व मानिएको छ। त्यसलाई सृष्टिको बीजरूप, सनातन, अक्षय, ध्रुव, महाभूत, परमब्रह्म, महत्ततत्व, उत्पत्ति र प्रलयकोको स्थान, शाश्वत, अविज्ञेय आदि नामले सम्बोधन गरिएको छ। यी सब ब्रह्मसंज्ञक पर्यायवाची शब्दको रूपमा छन्। (कुर्मपुराण अध्याय ४)

जसरी रेन्टगेनद्वारा आविष्कारित अज्ञात किरणलाई अंग्रेजीको ‘एक्स’ अक्षरबाट नामसंज्ञक पहिचान दिइयो त्यसरी नै यी आदि कारक तत्त्वहरूलाई सम्बोधन गरेको देखिन्छ र सृष्टि विकासको अनुक्रमिकता प्रस्तुत गरेको पाइन्छ। जसअनुसार परिवर्तन र विकासको मूल कारण ‘वीजरूप सनातन आदितत्व’मा उत्पन्न हुने ‘विकार’ (गति, परिवर्तन) मानिएको छ र यी परिवर्तनबाट उत्पन्न हुने प्रत्येक नयाँ तत्त्व ‘विकारी’ले आफ्ना मूल तत्त्वको, (जुन तत्त्वमा उत्पन्न विकारबाट उसको उत्पत्ति भएको हो त्यसको) गुणसमेत आफूमा बोकेर ल्याएको (आफूभित्र समाहित गरेको) हुन्छ। ‘समष्टि’ (Univeral) मा ‘वेष्टि’ (Particular) का सबै गुण अन्तरनिहित छन्। तर ‘वेष्टि’ (Particular)मा ‘समष्टि’ (Univeral)का सबै गुण अन्तर निहित छैनन्। जस्तो भनौं, महत्ततत्व (ब्रह्म)को विकारबाट ‘अहंकार’ उत्पन्न भयो। जसलाई कर्ता, मन्ता, आत्मा, पुद्गल (दृश्य, स्पश्र्य यावत भाषित बस्तुहरू) तथा जीव विशिष्ट मानिएको छ। यस अहंकारबाट पाँच तन्मात्रा(रूप, रस, गन्ध, स्पर्श तथा शब्द) र ब्रह्म तत्त्वबाट उत्पन्न विकारी तत्त्व ‘अहंकार’ (वैचारिक, तैजस, तामस) मध्ये तामस अहंकारको विकारबाट उत्पन्न पञ्च महाभूत क्रमशः -पृथ्वी, जल, तेथ, वायु र आकाशको उत्पत्ति मानिएको छ। यी सब समष्टिका गुणधर्मसहित आ-आफ्ना विशिष्ट गुणयुक्त मानिएको छ।

रुसी महान् वैज्ञानिक मेण्डेलेभले सन् १८६९मा पदार्थहरूका भौतिक र रासायनिक गुणहरू उनको आणविक संख्या र भारअनुसार एउटा नियमित क्रमिकतामा रहेको पत्ता लगाई ‘पिरियोडिक टेबुल अफ एलिमेन्टस्’ प्रस्तुत गरे। यो वैज्ञानिक अनुसन्धानको क्षेत्रमा नयाँ क्रान्ति थियो। सांख्य दर्शनका तामस अहंकारका विकारी पञ्च महाभूत- पृथ्वी, जल, तेथ, वायु र आकाश तिनका गुणहरू पनि त्यस्तै क्रमिकतामा छन्। यी पञ्च महाभूत मध्ये पहिलो आकाशको एक मात्र गुण ‘शब्द’ छ भने त्यसको विकारबाट उत्पन्न दोस्रो महाभूत ‘वायु’मा आफ्नो गुण ‘स्पर्श’ र आकाशको गुण ‘शब्द’सहित ‘शब्द र स्पर्श’ दुई गुण छन्। तेस्रो तेज(अग्नि) आफ्नो गुण ‘रूप’ र पूर्ववर्तिहरूका गुण शब्द, स्पर्श सहित तीन गुणयुक्त, चौथो ‘जल’ आफ्नो गुण ‘रस’सहित चार गुण युक्त र पाँचौं पृथ्वी, पूर्ववर्तीका चार गुण र आफ्नो गुण ‘गन्ध’सहित पाँच गुण युक्त मानिएको छ। यी सब परस्पर एक अर्कामा प्रविष्ट र एक अर्काका परिपूरक र परस्पर आश्रित छन्। यिनको पारस्परिक परिपूरकता र निर्भरताबाट नै सृष्टि चलेको छ। यस सम्मिलन तथा सहअस्तित्व र पारस्परिक निर्भरता विना सृष्टि सम्भव छैन। (कूर्मपुराण अध्याय ४,५)।

यो सांख्य दर्शका सृष्टिको उत्पत्ति तथा विकास सम्बन्धी दृष्टिकोणको मुख्य सार हो। यस क्रमिकता र स्वतन्त्रता र पारस्परिक निर्भरता तथा एकत्व र भिन्नतालाई हेर्दा द्वन्द्वात्मक भौतिकवादको, सरलबाट जटिल, निम्नबाट उच्च सहित, एकबाट अनेकमा रूपान्तरणको अवधारणा जस्तै यस प्रक्रियामा तिनको द्वन्द्वात्मक चरित्र र द्वन्द्वात्मक सम्बन्ध बारे गहन भौतिकवादी अवधारणा प्रस्तुत गरिएको छ। कुर्मपुराणले परवर्ती कालमा दैवत्व प्रदान गरी सृष्टिकर्ता, पालक र संहारक मानिएका देवरूप ब्रह्मा, विष्णु, शंकर आदिलाई काल (समय)द्वारा सिर्जिएका र कालद्वारा नै यिनको संहार हुने नामसंज्ञकको रूपमा लिएको छ। काल (समय) नै सृष्टिकर्ता मानिएको छ। (अध्याय ५)

वैदिक साहित्यमा तत्कालीन समाजको जीवनदर्शन, जीवनशैली, सामाजिक मूल्यमान्यता, सामाजिक कार्य विभाजन, शासन व्यवस्था, शासनका गुणधर्मबारे मनुस्मृति, याज्ञवल्क्य स्मृति, सांख्य लिखित स्मृति, पराशर स्मृति जस्ता ग्रन्थहरूले तात्कालिक अवस्थामा समाजले पालना गर्नु पर्ने जीवनशैली, शासकका कर्तब्याकर्तब्य, सामाजिक सद्भाव र कर प्रणाली लगायत आर्थिक व्यवस्था आदिका मूल आधार प्रस्तुत गर्दै दण्ड संहिताको पनि व्यवस्थित रूपमा व्याख्या गरेका छन्। हिन्दु जीवनशैली आज पनि कमोवेश षड्दर्शनको यस परम्परा अनुसार चलिरहेको छ। यी दार्शनिक पद्धतिहरूका विविध पक्ष र कालक्रम बारे हामी कहाँ गहन अध्ययन भएको छैन। तर वेद, श्रुति र स्मृतिलाई सर्वाधिक पुरातन ज्ञान भनी सबैले मानेका छन्।

मार्क्स तथा ऐंगेल्स ज्ञानपिपासू थिए। तर, सायद पूर्विया दर्शको गहन अध्ययन गर्ने सुअवसर उहाँहरूले पाउनु भएन। यदि त्यो सम्भव भएको भए, प्राचीन भारतीय दर्शनमा सृष्टिको उत्पत्ति तथा विकासबारेका यी अवधारणा र निचोडहरू उहाँहरूको अध्ययनका गहन पक्ष हुने थिए होलान्। तर, हाम्रा मार्क्सवादीहरूका लागि यी दार्शनिक पक्ष सबभन्दा बढी तिरस्कार र बेकामका सामन्ती चिन्तनका विषय बनेका छन्। यिनलाई कुनै जाति विशेष, धर्म विशेषका चिन्तन भन्ने गरिएको छ। आफ्ना कार्यकर्तालाई दर्शनको प्रशिक्षण दिँदा फ्रान्सेली भौतिकवाद वा जर्मन तथा ग्रीक दर्शन सिकाउने गरिन्छ। किनकि मार्क्स, ऐंगेल्स् र लेनिनले आफ्नो लेखनमा तिनको प्रसंग उठाएका छन्। र, यहाँका मार्क्सवादी लेनिनवादीहरूका लागि उहाँहरूले नबोलेको, नलेखेको वा नदेखेको विषय ज्ञान होइन अस्पश्र्य विषय हो।

अर्को कुरा आफ्नो प्राचीन संस्कृति, जीवन पद्धति, सामाजिक विकासका विशिष्ट चरण र तिनका विशिष्टता बारे न यहाँका कम्युनिस्टहरूलाई ज्ञान भएको देखिन्छ न त्यसमा चाख नै देखिन्छ। जबकि मार्क्स ऐंगेल्सले यस्ता ऐतिहासिक पक्षहरूको ज्ञानमाथि विशेष जोर दिएका छन् र यिनको आधारमा कुनै पनि देश, जाति, समाजको विशिष्टता स्थापित हुन्छ भन्ने कुरा पटक-पटक भनेका छन्। हाम्रो यस क्षेत्रमा दाश युग कुन रूपमा थियो ? वा सामन्तवाद कुन रूपमा थियो ? अथवा श्रमिक वर्गको अवस्था र स्थान कस्तो थियो ? र, त्यसको विकासका विशिष्टता के थिए ? वर्ग संघर्ष, वैचारिक संघर्षको रूप के थियो ? कम्युनिष्टहरूले यसबारे ज्ञान प्राप्त नगरेर युरोपको श्रमिक आन्दोलन, रोम, इजिप्ट आदिको दाश व्यवस्था अथवा युरोपमा सामन्तवादको रूप र चर्चको स्थान तथा धार्मिक दासताको अवस्थाबारे पढाएर वा तिनका उदाहरण दिएर मात्र हामी आफ्नो समाज परिवर्तनका लागि आवश्यक चिन्तन, संस्कार, मनोविज्ञान, आस्था, वर्ग र वर्गसंघर्षको आफ्नो सामाजिक, राजनैतिक, आर्थिक र वैचारिक धरातल निर्धारण गर्न सक्दैनौं।

हाम्रो समाजमाथि उल्लिखित हाम्रा दार्शनिक परम्परासँग गहिरो रूपले जोडिएको छ र हामीले त्यसको अध्ययन नगरी फायरबाख वा हेगल आदि जस्ता पश्चिमा दार्शनिकहरूका भनाईमा मात्र टेक्ने हो भने त्यो हाम्रो आम श्रमजीवी जनताका लागि पराया हुने छ। उदाहरणका लागि भनौं मार्क्सले युरोपको सन्दर्भमा, जहाँ चर्च यो अथवा त्यो रूपमा राज्यसत्ताको अन्तिम निर्णायक, निर्देशक र नियन्त्रक शक्तिको रूपमा थियो र चर्चको धार्मिक साम्राज्य त्यहाँका राज्यसत्ताहरूको लागि पनि शासक, नियामक, दण्डाधिकारी थियो। त्यस सन्दर्भमा मार्क्सले धर्मलाई ‘अफिम’को संज्ञा दिएका थिए। के त्यही कुरा यहाँ थियो ? हामी कहाँ मन्दिरहरूले शासन गरेको अवस्था थिएन। हाम्रो लडाई धार्मिक साम्राज्यसँग नभै धार्मिक रुढीवाद, धार्मिक आडम्बर तथा धार्मिक विभेद र धर्मको नाममा गरिने शोषणविरुद्ध थियो र छ। जनता यसलाई सहज रूपमा बुझ्न र आत्मसात् गर्न सक्ने मात्र होइन यस विरुद्धको संघर्षमा सहयोगको हात बढाउन सक्ने अवस्था थिए र छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्