उपत्यकामा बैंक तथा वित्तिय संस्थाका बढिमा ६ वटा शाखामात्रै खाेल्न पाईने

लोकपाटी न्यूज

काठमाडौं। कोरोना संक्रमणको दोस्रो लहर थप फैलिएपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थहरुको शाखा कमभन्दा कम खोल्ने नीति लिएको छ। कोभिड-१९ को दोस्रो संक्रमणका कारण बैंक तथा वित्तीय संस्थाका करिब १० हजार कर्मचारी संक्रमित छन्। संक्रमणमा पर्ने सर्वसाधारणको संख्या पनि बढ्दो छ।

यसैलाई ध्यान दिँदै संख्या घटाउन लागेको हो। अब काठमाडौंमा वाणिज्य बैंकका ३, विकास बैंकका २ र फाइनान्स कम्पनीका एक शाखा मात्र खुल्ने छन्। ललितपुर जिल्लामा बैंकको २, विकास बैंक र फाइनान्सको एक/एक शाखा खुल्ने छन्। भक्तपुरमा सबैको एक/एक वटा मात्र शाखा खुल्ने छन्। शाखाहारु रोटेसन गरेर खुल्ने छन्। उदाहरणका लागि आज कान्तिपथको खुल्यो भने भोलि अर्को शाखा खुल्ने छ। यसअघि एक चौथाइ शाखा खोल्न दिइएको थियो।

राष्ट्र बैंकले सर्वसाधारणलाई पैसाको अतिआवश्यक नभइ बाहिर ननिस्कन भनेको छ। राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले पैसा झिक्ने कुनै पनि सीमा नतोकिए पनि आवश्यक नपरी बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेका छन्। पैसा जम्मा गर्नका लागि भने सीमा तोकिएको छ। बैंकहरुले ५० हजारभन्दा बढीको निक्षेप मात्र स्वीकार गर्ने निर्णय गरेका छन्। यो निर्णयलाई राष्ट्र बैंकले पनि समर्थन गरेको छ।

‘स-सानो रकम जम्मा गर्न गइरहनु त्यति ठिक होइन। अहिले असुरक्षित समय छ। स्वास्थ्यमा ख्याल गर्दै बैंकहरुले गरेको निर्णयलाई हामीले स्वीकृति दिएको हो,’ उनले भने, ‘पैसा झिक्न पनि आवश्यक नपरी नजान अपिल गरिएको हो। किनभने बैंक गइरहँदा त्यहाँबाट संक्रमण सर्न सक्छ।’