काेराेनाविरुद्धको लडाइँमा हामी कहाँ चुक्यौं ?

Rajan subedi
लोकपाटी न्यूज

-राजन सुवेदी

आफ्नो नवीनतम ज्ञान र आविष्कारले प्रकृतिलाई नै चुनौती दिन उद्त मानव सभ्यता अहिले यो शताब्दिकै सबैभन्दा कठिन परिस्थितिको सामना गरिरहेको छ। चीनबाट युरोप अमेरिका हुँदै सारा विश्वलाई आक्रान्त पारेको कोरोना भाइरसको पहिलो लहरले नेपालमा पहिले सोचेजस्तो असर पार्न सकेन। महिनौं दिनसम्म चलेको लकडाउन,मास्क सेनिटाइजरको प्रयोग र सचेतनाको कारण यो महामारीलाई रोक्न हामी केही हदसम्म सफल पनि रह्यौ। हामी सबैले यसलाई एउटा रुघाखोकी कै प्रकार मान्न थालिसकेका थियौँ। यसै महामारीकाबिच चलेको राजनैतिक अस्थिरता र सरकारी उदासीनताले अहिलेको अवस्था पाँच छ महिनाअघि नै आउने सङ्केत गरेको थियो तर भाग्यवश कोरोना झनझन मत्थर हुँदै गयो।

हामी भौगोलिक हिसाबले मात्र होइन सामाजिक, सांस्कृतिक र संक्रमणको हिसाबले पनि भारतसँग धेरै नजिक छौँ। भारतमा भ्याक्सिन उत्पादन हुन थालेपछि त्यहाँको सत्तारूढ दल भाजपाले यसको धेरै प्रचार गर्‍यो। एकातिर कोरोना विरुद्धको खोप र बन्दाबन्दीको अन्त्य चुनावी नारा बन्न पुग्यो। राजनैतिक फाइदाका लागि गरिएका भाषणले जनतालाई खुल्लमखुल्ला बाहिर निस्कन प्रेरित गर्‍यो। यसै समयमा आयोजना हुने कुम्भ मेला र विभिन्न राज्यका चुनावमा भारत जोडतोडले लागिसकेको थियो। राजनैतिक अस्थिरताले गिजोलिरहेको नेपालमा पनि सरकारीस्थरबाट हुने उद्घाटन, सभा समारोह र विपक्षीका विरोध कार्यक्रम रोकिएनन्।

यसैबिच भारतमा भुसको आगोजस्तै सल्किएको कोरोना भाइरसको नयाँ भेरिएन्ट सतहमा देखिन थाल्यो। दिल्ली,महाराष्ट्र र पञ्जाब जस्ता राज्यहरूमा सयौँबाट हजारौँ र त्यसबाट दसौँ हजार संक्रमित पुग्न हप्ता दिन पनि लागेन। त्यति बेला हामीसँग कोरोना महामारीको दोस्रो लहर रोक्न पर्याप्त समय थियो। विज्ञहरुले पनि हामीलाई सचेत नगराएका होइनन्। तर कोरोनालाई साधारण रूपमा बुझेका हामी नत त सचेत भयौँ न त डरायौ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले अहिलेको अवस्थाको भविष्यवाणी एक महिना पहिल्यै गरेका थिए तर हामीले हाँसोमा उडायौँ। विज्ञहरुले सवारीसाधन र स्कुल कलेज बन्द गर्न दबाब दिइरहे तर नत सञ्चालकले नै उनीहरूको कुरा सुने नत सरकारले। सरकारले कोरोनालाई कम आँक्नु अहिले महँगो पर्दै छ।

छिमेकीले सहयोगमा दिएको ५/१० लाख डोज खोपको बढी प्रचार गर्नु र थप खोप ल्याउन तदारुकता नदेखाउनु अहिलेको अवस्थाको मूल कारण हो। तुलनात्मक रूपमा केही सस्तो भएकोले भारतीय खोप कुरिरहनु र सम्बन्धित देशले बारम्बार ताकेता गर्दा पनि चीन र रसियाको खोप ल्याउन कुनै चासो नदिनु हाम्रो लागि दुर्भाग्य बन्न पुग्यो। भारतको खोप भारतको त्यत्रो जनसङ्ख्यालाई आफैँ अपर्याप्त छ,त्यही पनि हाम्रो सरकार त्यसैको पछि किन भागेको होला बुझ्न सकिएन। अर्को सरकारले गठन गरेको सीसीएमसी अहिलेको अवस्थाको मुख्य जिम्मेवार हो। विज्ञहरूको कुरा नसुन्ने, स्वास्थ्य मन्त्रालयका र अस्पतालहरूले भनेबिपरित निर्णय गर्ने र बारम्बार भ्रष्टाचारमा मुछिनु यसको विशेषता नै बन्न पुगेको छ।

जब कोरोनाले दोस्रो लहरले भारतमा महामारीको रूप लियो त्यसको एक सातासम्म सीमानामा कुनै चेकजाँच गरिएन। भारतबाट कोरोना बोकेर आएकाहरु निर्बाध गाउँगाउँ छिरे। सरकारले मात्र होइन हामी सबैले यसलाई सहज रूपमा लियौँ। वैशाख महिना यसै पनि नेपालमा विवाह, व्रतबन्ध र पूजाआजाको लागि व्यस्त महिना मानिन्छ। विदेश तथा शहरबाट गाउँ छिरेकाहरू कुनै सावधानीबिना ती कार्यक्रमहरूमा सहभागी हुँदा कोरोनाको खतरनाक दोस्रो भेरियन्ट गाउँगाउमा फैलियो। पहिलो लहरसँग भन्दा दोस्रो लहरसँग लड्न हामीले पर्याप्त समय पाएकै हौँ तर त्यसलाई सदुपयोग गर्ने हामी चुक्यौं। तुलनात्मक रूपमा रोग प्रतिरोधात्मक क्षमता बढी भएका भनिएका युवा वर्ग नै यसबाट अत्यधिक संक्रमित हुनु र अक्सिजन र भेन्टिलेटरको माग पनि धान्नै नसक्ने गरी बढेको तथ्यांकले अबको एक दुई हप्तामै कोरोनाको विकराल अवस्थातर्फ सङ्केत गर्छ।

अहिलेसम्म के भयो भन्दा पनि अब के गर्ने भन्नेतर्फ हाम्रो ध्यान केन्द्रित हुन जरुरी छ। यो समयमा सरकारले धेरै भन्दा धेरै अक्सिजन कसरी उत्पादन गर्ने र सहज वितरण गर्नेतर्फ ध्यान दिनु जरुरी छ। जनताले पनि घरघरमा अक्सिजन साचेंर राख्नु हुँदैन।अस्पतालले बिरामीको चाप अब धान्न सक्दैन त्यसैले प्रत्येक प्रदेशमा रहेका रङ्गशाला,भवन, सभागृहहरूलाई आकस्मिक अस्पतालको रूपमा प्रयोग गर्नुपर्छ। समुदाय स्तरमा कोरोना फैलिन नदिन र सङ्क्रमण भइहाले पनि तुरुन्तै आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन स्थानीय निकायहरुले उल्लेख्य भूमिका खेल्नु जरुरी छ। यो देशमा बस्ने हरेक नागरिकको जीवन उतिकै अमूल्य छ।

हाम्रो सरकार र कूटनीतिक नियोगहरू यो महामारीसँग लड्न कसरी हुन्छ धेरै भन्दा धेरै अन्तर्राष्ट्रिय सहयोग जुटाउन तत्पर हुनुपर्छ। हामी साँच्चै भयावह स्थितिमा छौँ र यो कसैलाई लुकाउन जरुरी पनि छैन। हाम्रो जस्तो अवस्था अरू देशले सामना गरेरै आएका हुन,उनीहरूको अनुभव कोरोनाबिरुद्द्को यो युद्धमा हाम्रो हतियार बन्न सक्छ। एक दुई हजार महँगो नै किन नहोस् चीन, रसिया र युरोपबाट चाँडोभन्दा चाँडो खोप ल्याउन प्रयास गरौँ किनभने कसैको मृत्युले केबल एक जनाले संसार छोड्ने मात्र होइन एउटा परिवार नै तबाह गराउँछ। बरु अहिले बाटो नबनाउ, तलब नखाऔँ जति पैसा तिरेर हुन्छ खोप लगाऊँ भोलि बाचिएछ भने विकासका काम फेरि गरौँला। अहिलेलाई भने घरमै बसौँ,सुरक्षित रहौँ र स्वास्थ्य मापदण्डको पालना गरी यो कोरोनाबिरुद्धको महायुद्ध लड्न सरकारलाई सहयोग गरौँ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्