रुरु जलविद्युत् परियोजनाकाे नाफा गत बर्षभन्दा १३ प्रतिशत बढि

लोकपाटी न्यूज

काठमाडौं। चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रुरु जलविद्युत् परियोजना लिमिटेडले  ६ करोड १३ लाख १२ हजार रुपैयाँ खुद नाफा गरेको छ। गत वर्ष यो अवधिसम्म कम्पनीको खुद नाफा  ५ करोड ४३ लाख ४९ हजार रुपैयाँ थियो। गत वर्षभन्दा करीब १३ प्रतिशत बढी नाफा कम्पनीले गरेको हो।

यस वर्ष खुद नाफा बढेसँगै कम्पनीको जगेडा कोष रकम १५० प्रतिशत बढी  १२ करोड २७ लाख ५८ हजार रुपैयाँ कायम भएको छ। कम्पनीले विद्युत् विक्रीबाट यस वर्ष  १२ करोड २ लाख ९५ हजार रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष यो आम्दानी  ११ करोड ७० लाख ९२ हजार रुपैयाँ रहेको छ।

यस कम्पनीले चैत २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो। कम्पनीले प्रिमियम सहित प्रतिकित्ता  १२० रुपैयाँमा सर्वसाधारणमा आईपीओ विक्री गरेको हो। आईपीओ पश्चात कम्पनीको शेयरपूँजी  ३६ करोड ६९ लाख ३४ हजार रुपैयाँ पुगेको छ।

धितोपत्र दोस्रो बजारमा वैशाख २० गतेदेखि कारोबार शुरु भएको कम्पनीको शेयरमूल्यमा निरन्तर उच्च वृद्धि भइरहेको छ। आइतवार कम्पनीको शेयरमूल्य ९ दशमलव ८२ प्रतिशतले बढेर  ५४८ रुपैयाँ पुगेको छ। गत वर्ष  १६ दशमलव ८५ रहेको प्रतिशेयर आम्दानी यस वर्ष १८ दशमलव ६१ पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १३३ दशमलव ४६ रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्