निर्धन उत्थान लघुवित्तकाे नाफा ७१ कराेड ४८ लाख भन्दा बढि

लोकपाटी न्यूज

काठमाडौं। निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको तेस्रो त्रैमाससम्म  ७१ करोड ४८ लाख ६३ हजार खुद नाफा गरेको छ। यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ५१ प्रतिशत बढी हो। गत वर्ष कम्पनीले  ४७ करोड ३२ लाख ७३ हजार खुद नाफा गरेको थियो।

यस वर्ष १२ प्रतिशतले कम  ६५ करोड ६९ लाख २० हजार सञ्चालन नाफा गरेको कम्पनीले खराब कर्जा संकलन गरेसँगै खुद नाफा बढेको हो। गत वर्ष शून्य रहेको खराब कर्जा संकलन यस वर्ष  ४७ करोड ७५ लाख ५१ हजार भएको छ। खराब कर्जा संकलन बढेसँगै कम्पनीको खुद ब्याज आम्दानी गत वर्ष  १ अर्ब १७ करोडभन्दा बढी भएकोमा यसवर्ष  १ अर्ब ५९ करोडभन्दा बढी भएको छ।

१३ प्रतिशत बोनस शेयरमार्फत चुक्तापूँजी बढेर  १ अर्ब ६९ करोड ५० लाख पुगेको छ। गत वर्षभन्दा ६२ प्रतिशत बढी  २ अर्ब ६२ करोड ३४ लाख ७३ हजार जगेडा कोष रकम यस वर्ष कायम भएको छ। कम्पनीको निक्षेप संकलन २० प्रतिशत र कर्जा प्रवाह १७ प्रतिशत बढेको छ। यस वर्ष कम्पनीले  १५ अर्ब ३८ करोड ३२ लाख ८८ हजार निक्षेप संकलन गरेको हो भने २४ अर्ब २७ करोड ८१ लाख ६६ हजार कर्जा प्रवाह गरेको हो। गत वर्षभन्दा यस वर्ष कम्पनीले २ प्रतिशत कम ६ अर्ब ७३ करोड ९१ लाख ७४ हजार कर्जा सापटी लिएको छ।

खराब कर्जा संकलन बढेपनि कम्पनीको निष्क्रिय कर्जा अनुपात गत वर्ष १ दशमलव ७६ प्रतिशत रहेकोमा यस वर्ष ५ दशमलव ८९ प्रतिशत पुगेको छ। कम्पनीको प्रतिशेयर आम्दानी  ५६ दशमलव २३ र प्रतिशेयर नेटवर्थ  २५४ दशमलव ७८ रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्