यस्ताे रह्याे याे साताकाे सेयर बजार

nepse
लोकपाटी न्यूज

काठमाडौं। यो साता बजारका महत्वपूर्ण सूचकहरु नकारात्मक रहेका छन्। गत साताको भन्दा यो साता नेप्से परिसूचक, सेन्सेटिभ इन्डेक्स, कारोबार रकम तथा कित्ता र कुल बजार पूँजीकरण रकममा कमी आएको हो। यो साता नेप्से परिसूचक गत साताभन्दा ३६ दशमलव ९० अंक तल झरेको छ। गत साताको अन्तिम कारोबार दिन बिहीवार २ हजार ६४८ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ६११ दशमलव १० विन्दुमा झरेको हो।

गत साता पनि दुई ओटा कारोबार दिन मात्र बढेको बजार यो साता पनि दुई दिन मात्र बढेको छ। गत साता र यो सातानै पाँच कारोबार दिनमा तीन कारोबार दिन बजार घटेको हो। यो साता पहिलो कारोबार दिन ७५ दशमलव ७९ अंक, दोस्रो दिन ६५ दशमलव ५८ अंक र चौंथो दिन १३ दशमलव ७९ अंकले बजार घटेको हो। तेस्रो कारोबार दिन ९२ दढशमलव ४६ अंक बढेको बजार पाँचौ दिन २५ दशमलव ८२ अंकले बढेको हो।

यो साता ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ५८ अंकले घटेको छ । गत साता ४७६ दशमलव ६ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४६९ दशमलव शून्य २ विन्दुमा झरेको हो । गत साताभन्दा यो साता कारोबार रकम पनि  ५ अर्ब ४६ करोड २९ लाख ४२ हजार कम भएको छ। गत साता पाँच कारोबार दिनमा ३२ अर्ब ७९ करोड ४६ लाख १३ हजार बराबरको शेयर कारोबार भएकोमा यो साता  २७ अर्ब ३३ करोड १६ लाख ७० हजार बराबरको शेयर कारोबार भएको हो।

कारोबार रकमसँगै कारोबार कित्ता पनि यो साता कम भएको छ। गत साता ७ करोड २९ लाख १८ हजार ९६६ कित्ता शेयर कारोबार भएकोमा यो साता ५ करोड ६५ लाख ८८ हजार २९४ कित्ता शेयर कारोबार भएको हो। गत साताभन्दा यो साता १ करोड ६३ लाख ३० हजार ६७२ कित्ता कम शेयर कारोबार भएको हो। यो साता सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावरको शेयर कारोबार भएको छ।

अपर तामाकोशीको यो साता  १ अर्ब १५ करोड १० लाख ७३ हजार बराबरको शेयर कारोबार भएको हो। यो साता अपर तामाकोशीको शेयरमूल्य पनि गत साताभन्दा बढेको छ। गत साताको अन्तिम कारोबार दिन प्रतिकित्ता  ८५७ रहेको कम्पनीको शेयरमूल्य यो साता प्रतिकित्ता  ८६३ पुगेको छ। सातामा कम्पनीको शेयरमूल्य प्रतिकित्ता  ६ ले बढेको हो।

तीन दिन बजार घटेको यो साता लगानीकर्ताहरुको सम्पत्तिको मूल्य ४५ अर्ब ८७ करोड १० लाख २७ हजार कम कायम भएको छ। गत सातासम्म ३६ खर्ब ६६ अर्ब ६९ करोड ९० लाख १९ हजार रहेको कुल बजार पूँजीकरण रकम यो साता ३६ खर्ब २० अर्ब ८७ करोड २० लाख ९२ हजारमा झरेको हो। कुल बजार पूँजीकरणमा हालसम्म पनि नेपाल दूरसञ्चार कम्पनीले नै पहिलो स्थान सुरक्षित गरेको छ। कम्पनीको दोस्रो बजारमा १५ करोड कित्ता शेयर सूचीकृत रहेको छ। गत साताभन्दा यो साता नेपाल दूरसञ्चार कम्पनीको कुल बजार पूँजीकरण रकम बढेको छ। गत साता  १ खर्ब ९४ अर्ब ५ करोड ५० लाख रहेको कम्पनीको कुल बजार पूँजीकरण रकम यो साता  १ खर्ब ९६ अर्ब ८० करोड कायम भएको हो।

यो साताको अन्तिम कारोबार दिन कम्पनीको अन्तिम शेयरमूल्य १ हजार ३१२ कायम भएको छ। कुल बजार पूँजीकरणमा यो साता नेपाल लाईफ इन्स्योरेन्सलाई नेपाल पुनर्बीमा कम्पनीले उछिनेको छ । कुल बजार पूँजीकरणमा गत साता तेस्रो नम्बरमा रहेको नेपाल लाईफ इन्स्योरेन्स यो साता चौंथो नम्बरमा झरेको छ। यो साता नेपाल पुनर्बीमा कम्पनीको कुल बजार पूँजीकरण  १ खर्ब ४४ अर्ब १० करोड र नेपाल लाईफ इन्स्योरेन्सको १ खर्ब ४४ अर्ब ७ करोड १० लाख रहेको छ। नेपाल पुनर्बीमा कम्पनीको कुल बजार पूँजीकरण गत साताको भन्दा यो साता ३ अर्ब ८० करोड बढी भएको हो भने नेपाल लाईफ इन्स्योरेन्सको  २ अर्ब ८० करोड ८० लाख कम भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्