काठमाडौं। यो साता शेयर बजार ८७ दशमलव ३९ अंकले घटेको छ। गत साताको अन्तिम कारोबार दिन वैशाख २ गते २ हजार ७३५ दशमलव ३९ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन वैशाख ९ गते २ हजार ६४८ विन्दुमा बन्द भएको हो।
पाँच दिन कारोबार भएको यो साता तीन दिन बजार घटेको छ भने दुई दिन बढेको छ। साताको पहिलो कारोबार दिन ३५ दशमलव ८९ अंक, दोस्रो दिन ३७ दशमलव ५८ अंक र चौंथो दिन ३२ दशमलव ४१ अंकले बजार घटेको हो। साताको तेस्रो कारोबार दिन २ दशमलव ६८ अंकले र अन्तिम कारोबार दिन १५ दशमलव ८० अंकले बजार बढेको छ।
चैत १७ गतेदेखि निरन्तर उकालो लागेको बजार यो साता अल्पकालिन लगानीकर्ताहरुले नाफा बुक गर्दा प्रभावित भएको ब्रोकरहरु बताउँछन्। आम लगानीकर्ताहरुको उत्साह कायमै रहेको बजारमा परिसूचक घटेपनि कारोबार रकम भने बढेको ब्रोकरहरुको भनाइ छ। गत साता दुई दिन सार्वजनिक विदा परेकाले तीन दिनमात्र खुलेको बजारमा २३ अर्ब ३९ करोड ६ लाख ४७ हजार रुपैयाँ बराबरको ४ करोड ७५ लाख ३३ हजार ७४४ कित्ता शेयर खरीदविक्री भएको थियो । यो साता पाँच कारोबार दिनमा ३२ अर्ब ७९ करोड ४६ लाख १३ हजार रुपैयाँ बराबरको ७ करोड २९ लाख १८ हजार ९६६ कित्ता शेयर खरीदविक्री भएको छ।
साताको पहिलो कारोबार दिन आइतवार ८ अर्ब ८० करोड भन्दा बढीको शेयर कारोबार भएको थियो भने दोस्रो दिन ६ अर्ब ७६ करोडभन्दा बढी, तेस्रो दिन ५ अर्ब ५३ करोडभन्दा बढी, चौंथो दिन ५ अर्ब ७७ करोडभन्दा बढी र पाँचौ दिन ५ अर्ब ९१ करोडभन्दा बढीको शेयर कारोबार भएको हो। यो साता सर्वाधिक रकमको शेयर कारोबार एनआईसी एशिया लघुवित्तको भएको छ। एनआईसी एशिया लघुवित्तको सातामा १ अर्ब २९ करोड ५० लाख ८ हजार बराबरको शेयर कारोबार भएको हो। यस कम्पनीको अन्तिम शेयरमूल्य बिहीवार प्रतिकित्ता १ हजार ८३७ कायम भएको छ। गत साताको अन्तिम कारोबार दिन यो मूल्य १ हजार ८६८ थियो। गत साताको भन्दा यो साता कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३१ ले घटेको हो।
तीन दिन बजार घटेको यो साता लगानीकर्ताहरुको कुल सम्पत्ति अर्थात् कुल बजार पूँजीकरणमा १ खर्ब २० अर्ब ८० करोड ९० लाख ८८ हजारको कमी आएको छ। गत सातासम्म ३७ खर्ब ८७ अर्ब ५० करोड ९० लाख ७ हजार रहेको कुल बजार पूँजीकरण रकम यो साताको अन्त्यसम्म ३६ खर्ब ६६ अर्ब ६९ करोड ९० लाख १९ हजार कायम भएको हो।
कुल बजार पूँजीकरणमा हालसम्म पनि नेपाल दूरसञ्चार कम्पनीले नै पहिलो स्थान सुरक्षित गरेको छ। कम्पनीको दोस्रो बजारमा १५ करोड कित्ता शेयर सूचीकृत रहेको छ। दोस्रो बजारमा सर्वाधिक २० करोड कित्ता शेयर सूचीकृत रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक भने छैठौं नम्बरमा रहेको छ। पहिलो स्थानमा रहेको नेपाल दूरसञ्चार कम्पनीको कुल बजार पूँजीकरण यो साता १ खर्ब ९४ अर्ब ५ करोड ५० लाख कायम भएको छ। कम्पनीको अन्तिम शेयरमूल्य १ हजार २९७ रहेको छ। गत साता यो मूल्य १ हजार ३२८ थियो। नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य यो साता प्रतिकित्ता ३१ ले नै घटेको छ।



लोकपाटी न्यूज