रुरु जलविद्युत् परियोजनाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

IPO Icon
लोकपाटी न्यूज

काठमाडौं। रुरु जलविद्युत् परियोजनाको आईपीओमा आवेदन दिने आज (मंगलवार) अन्तिम दिन रहेकाे छ। कम्पनीले शुक्रवारदेखि सार्वजनिक निष्कासन गरेकाे थियाे। सोमवार साझ ५ बजेसम्म मागभन्दा ४९ दशमलव ४९ गुणा अर्थात् करीब ५० गुणा बढी आवेदन परिसकेकाले कम्पनीले छिटो अवधिभित्रै आईपीओ विक्री बन्द गर्न लागेको हो।

छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेको खण्डमा ढिलोमा वैशाख ३ गतेसम्म आईपीओ विक्री गर्ने मिति कम्पनीले तय गरेको थियो। सिडिएस एण्ड क्यिरिङ लिमिटेडको अनुसार सोमवार साझसम्म यस आईपीओमा १३ लाख ८ हजार ९८५ जनाले १ करोड ८७ लाख ६५ हजार ६०० कित्ताका लागि आवेदन दिएका छन्।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ४ लाख ७ हजार ७०६ कित्तामध्ये ८ हजार १५४ कित्ता कम्पनीका कर्मचारीहरुलाई र २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो।

पहिलो चरणमा आयोजना प्रभावित स्थानियमा न्यूनतम अंकित मूल्य  १०० रुपैयाँमै आईपीओ जारी गरेको कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणमा भने प्रिमियम मूल्य सहित आईपीओ विक्री गरेको हो। कम्पनीले अंकित मूल्य  १०० मा  २० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १२० रुपैयाँमा सर्वसाधारणलाई आईपीओ विक्री गरेको हो। यो शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म मंगलवार बैंकिङ समयसम्म माग गर्न सकिने व्यवस्था छ।

कम्पनीको आईपीओलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम क्षमता रहेको संकेत गर्ने ग्रेट ३ रेटिङ प्रदान गरेको छ। आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ। विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ।

हाल ३२ करोड ६१ लाख ६४ हजार ४०० रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको आईपीओ बाँडफाँट पश्चात चुक्तापूँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ। यस कम्पनीले गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा ५ मेगावाट क्षमताको रु रु जलविद्युत् परियोजना निर्माण गरी २०७१ साल चैत ९ गतेदेखि व्यापारिक उत्पादन शुरु गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्