ग्लोबल आइएमईकाे ऋणपत्रमा मागभन्दा बढी आवेदन

लोकपाटी न्यूज

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले जारी गरेको ऋणपत्रमा मागभन्दा बढी आवेदन परेको छ। कम्पनीले गत चैत्र १ गते ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/ ८७ निष्काशन गरी विक्री खुला गरेको थियो। कम्पनीले ३ अर्ब रुपैयाँ बराबरको १ हजार प्रतिऋणपत्र अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो । ऋणपत्र निष्काशन तथा विक्री गत चैत १६ गतेसम्मका लागि तोकिएको थियो।

उक्त ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको थियो। १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याज दर रहेको छ भने अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुने कम्पनीद्वारा जारी गरिएको प्रेसनोटमा उल्लेख छ।

कम्पनीले ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडलाई तोकेको थियो। यसका साथै लगानीकर्ताले मेरो शेयरमार्फत अनलाइन र नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू एवम् तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन पाउने व्यवस्था रहेको थियो।