काठमाडौं। यो साता शेयर बजार २ हजार ६३१ दशमलव ८९ विन्दुमा बन्द भएको छ। गत साताको अन्तिम कारोबार दिन चैत १२ गतेको तुलनामा नेप्से परिसूचक ८२ दशमलव ९३ अंक माथी उक्लिएको हो। गत साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २ हजार ५४८ दशमलव ९६ विन्दुमा थियो।
यो साता पहिलो कारोबार दिन आइतवार होली पर्वको सार्वजनिक बिदा परेकाले चार कारोबार दिनमात्र शेयर कारोबार भएको छ। चार कारोबार दिनमा नेप्से परिसूचक सोमवार ५ दशमलव ४५ अंकले घटेको छ भने पछिल्लो तीन कारोबार दिन निरन्तर बढेको छ। मंगलवार नेप्से परिसूचक ३२ दशमलव १५ अंक, बुधवार ४३ दशमलव ३६ अंक र बिहीवार १२ दशमलव ८८ अंकले बजार बढेको हो। यो साता कारोबार रकम र कारोबार कित्ता बाहेकका अन्य महत्वपूर्ण सूचकहरु सकारात्मक रहेका छन्।
चार कारोबार दिनमा तीन दिन बढेको बजारको कुल बजार पूँजीकरण रकम ३६ खर्ब ३५ अर्ब ४८ करोड ५० लाख ८७ हजार रुपैयाँ कायम भएको छ। कुल बजार पूँजीकरण हालसम्मकै उच्च कायम भएको हो। गत साता यो रकम ३५ खर्ब २० अर्ब २२ करोड ७० लाख ५४ हजार रुपैयाँ थियो। कुल बजार पूँजीकरणमा सर्वाधिक हिस्सा ओगटेको नेपाल दुरसञ्चार कम्पनीको शेयरमूल्य यो साता बढेको छ। कम्पनीको अन्तिम शेयरमूल्य चैत १९ गते १ हजार २८० रुपैयाँ कायम भएको छ।
गत साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्य १ हजार २१७ रुपैयाँ रहेको थियो। साताको चार कारोबार दिनमा नेपाल दुरसञ्चार कम्पनीको शेयरमूल्य प्रतिकित्ता ६३ रुपैयाँले बढेको हो। गत साता १ खर्ब ८२ अर्ब ५५ करोड रुपैयाँ रहेको कम्पनीको कुल बजार पूँजीकरण यो साता १ खर्ब ९२ अर्ब रुपैयाँ कायम भएको छ।
नेप्से परिसूचकसँगै यो साता ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स १६ दशमलव ११ अंक माथि पुगेको छ। गत साता ४५० दशमलव ३१ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४६६ दशमलव ४२ विन्दुमा पुगेको छ।
गत साताको तुलनामा यो साता कारोबार रकम र कारोबार कित्ता भने कम भएको छ। चार कारोबार दिनमा यो साता २४ अर्ब १ करोड ३८ लाख २८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। गत साता पाँच कारोबार दिनमा यो रकम २९ अर्ब ५८ करोड ८२ लाख ८९ हजार रुपैयाँ रहेको थियो। कारोबार रकम यो साता ५ अर्ब ५७ करोड ४४ लाख ६० हजार रुपैयाँ कम भएको हो।
एक दिन कारोबार नहुँदा कम्पनीको कारोबार रकम र कित्ता घटेको हो। गत साता उक्त रकम बराबरको ६ करोड ३१ लाख २१ हजार ६४ कित्ता शेयर कारोबार भएकोमा यो साता ४ करोड ७० लाख २१ हजार ७४ कित्ता शेयर कारोबार भएको छ। यो साता १ करोड ६० लाख ९९ हजार ९९० कित्ता कम शेयर कारोबार भएको छ।



लोकपाटी न्यूज