रुरु जलविद्युतको आईपीओमा आजदेखि आवेदन दिन सकिने

IPO Icon
लोकपाटी न्यूज

काठमाडौं। रुरु जलविद्युत् परियोजनाले आज (शुक्रवार)देखि आम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ। पहिलो चरणमा आयोजना प्रभावित स्थानियमा आईपीओ जारी गरिसकेको कम्पनीले गत फागुन ७ गतेदेखि २१ गतेसम्म आयोजना प्रभावित गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ६ र ७ का स्थानीयहरुका लागि ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ विक्री गरी चैत ९ गते बाँडफाँट गरिसकेको छ।

कम्पनीले सर्वसाधारणमा ४ लाख ७ हजार ७०६ कित्ता आईपीओ जारी गर्न लागेको हो। कुल कित्तामध्ये ८ हजार १५४ कित्ता कम्पनीका कर्मचारीहरुलाई र २० हजार ३८५ कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो।

स्थानियमा न्यूनतम अंकित मूल्य  १०० रुपैयाँमै आईपीओ जारी गरेको कम्पनीले सर्वसाधारणमा भने प्रिमियम मूल्यसहित आईपीओ जारी गर्न लागेको हो। कम्पनीले अंकित मूल्य  १०० मा  २० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १२० रुपैयाँमा सर्वसाधारणलाई आईपीओ विक्री गर्न लागेको हो।

यो आईपीओ छिटोमा चैत २४ गते र ढिलोमा वैशाख ३ गतेसम्म विक्रीमा रहनेछ। माग बमोजिम आवेदन परेमा छिटो अवधिसम्म मात्र विक्रीमा रहने कम्पनीको भनाइ छ। यो शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आइआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी ३२ करोड ६१ लाख ६४ हजार ४०० रुपैयाँ रहेको छ। स्थानिय बासिन्दा तथा सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्