काठमाडाैँ। मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेपाल इन्स्योरेन्स, ग्रीन डेभलपमेन्ट बैंक र मिथिला लघुवित्तको शेयरमूल्य समायोजन भएको हो। नेप्सेले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ७८१ रुपैयाँ तोकिएको छ।
त्यसैगरी, ग्रीन डेभलपमेन्ट बैंकको यस दिन ३.८ प्रतिशत बोनस शेयर समायोजना भएको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य १६९ रुपैयाँ निर्धारण भएको छ। नेप्सेले मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य १६४२ रुपैयाँ तोकिएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी तीन कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। सोमबार नेपाल इन्स्योरेन्सको शेयर प्रतिकित्ता ८४३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। त्यसैगरी, ग्रीन डेभलपमेन्ट बैंकको शेयर १७५ रुपैयाँमा र मिथिला लघुवित्तको १८३९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
नेपाल इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित २ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ। इन्स्योरेन्सले चैत २७ गते, शुक्रबार, एयरपोर्ट होटल, सिनामङ्गल काठमाडौँमा बिहान ११ बजे ७२ औँ वार्षिक साधारण सभा बोलाएको हो।
त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले ३.८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न चैत २८ गते, होटल बाराही, लेकसाइड, पोखरामा आठौँ वार्षिक साधारण सभा बोलाएको छ।
यता, मिथिला लघुवित्तले १२ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न चैत २९ गते १२ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा होटल राजदरबार एण्ड नवरंग रिसोर्ट, जनकपुरधाममा बिहान ११ बजे शुरु हुनेछ।



लोकपाटी न्यूज