काठमाडौं। चैत ६ गतेदेखि सार्वजनिक निष्कासनमा आएको सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने म्याद मंगलवारसम्म रहेको छ। कम्पनीको आईपीओमा तेस्रो दिन आइतवार साँझ ५ बजेसम्म मागभन्दा पाँच गुणा बढी आवेदन परिसकेको छ। मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि चैत १० गतेसम्म मात्र विक्री खुला गर्न लागेको कम्पनीको भनाइ छ।
छिटो अवधिभित्र आवेदन नपरेको खण्डमा ढिलो अवधि चैत २० गतेदेखि यो शेयर निष्काशनमा रहने थियो। आइतवार साँझ ५ बजेसम्म उक्त कम्पनीको आईपीओमा ८ लाख ८३ हजार ७५ जनाले आवेदन दिएका छन्।
यी आवेदकहरुबाट १ करोड ३९ लाख ८० हजार ५२० कित्ता शेयर खरीदको माग भएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ। जुन मागभन्दा ५ दशमलव १८ गुणा बढी हुन आउँछ।
कम्पनीले आम सर्वसाधारणका लागि २६ लाख ९७ हजार कित्ता शेयर सार्वजनिक निष्कासमा ल्याएको हो। सर्वसाधारणका लागि छुट्याएको कुल २९ लाख कित्ता आईपीओमध्य ५८ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ४५ हजार सामूहिक लगानीकोषको लागि बाँडफाँट गरी बाँकी शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो।
आयोजना प्रभावित स्थानियलाई पहिलो चरणमा आईपीओ विक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको हो। स्थानियमा कम्पनीले गत माघ ४ गतेदेखि फागुन ३ गतेसम्म १४ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको थियो।
आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ। यो आईपीओ विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहमागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । साथै सिडिएससीको मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ।
उक्त कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले औषतभन्दा कम आधारहरुको संकेत गर्ने केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ्ग प्रदान गरेको छ। उक्त कम्पनीले २५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ। उक्त आयोजनको निर्माण लागत निर्माण अवधिको ब्याजसहित प्रतिमेगावाट २२ करोड हुने प्रक्षेपण गरिएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ रहेको छ।



लोकपाटी न्यूज