रमेश भुसाल/सुनवल, २६ फागुन। पश्चिम नवलपरासीको सुनवलमा जारी चौथो मेयर कप फुटवलको विजेता वडा नम्वर ८ बनेको छ। वडा नम्वर ८ ले वडा नम्वर १२ लाई पराजित गरेको हो।
निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुवै समूहबाट दुई दुई गोल गरी बराबरीको स्थिती भएपछि खेललाई पेनाल्टी सुटआउटमा लगिएको थियो। पेनाल्टी सुटआउटमा वडा नम्वर ८ ले वडा नम्वर १२ लाई ३ का विरुद्ध ५ गोल गरेको थियो।
प्रतियोगिताको विजेता समूह वडा नम्वर ८ ले १ लाख २० हजार रुपैयाँ नगद प्राप्त गरेको छ भने उपविजेता समूह वडा नम्वर १२ ले ६० हजार रुपैयाँ नगद प्राप्त गरेको छ। त्यस्तै सेमिफाइनलमा जाने २ समूह वडा नम्वर १ र वडा नम्वर ५ ले नगद २० हजार रुपैयाँ प्राप्त गरेका छन्।
नगरपालिकाले विजेता र उपबिजेता तथा उत्कृष्ट खेलाडीलाई मेडल र प्रमाण पत्र हस्तान्तरण गरेको छ भने विजेताको कपसहित सम्पुर्ण पुरस्कार राशि नगर स्थापना दिवसको अवसरमा यहि फागुन २७ गते शिबरात्रिको दिन प्रदान गर्ने जनाएको छ।
खेलकुद संयोजक तथा वडा नम्वर ६ का वडाध्यक्ष रामप्रसाद लामाको अध्यक्षता रहेको फाइनल खेलको समापन समारोमा बोल्दै सुनवल नगरपालिकाका नगर प्रमुख भीम वहादुर थापाले नगरपालिकाले फुटवल खेललाई नगरको गौरवको खेलको रुपमा सुरुवात गरेको बताए।
समापन समारोहमा नगर उपप्रमुख दधिराम अर्याल, नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु पौडेल, माओवादी केन्द्रका जिल्ला संयोजक भविश्वर तिवारी, नेकपा एमालेका जिल्ला सहसंयोजक थान प्रसाद गैरे, अखिल नेपाल फुटवल संघका प्रकाश पंगेनी लगायतले शुभकामना व्यक्त गर्दै खेलकुद स्वास्थ्यका लागि र राष्ट्रका लागि हुने भएकाले सुनवल नगरपालिकाले फुटवल, भलिवल लगायतका खेललाई प्रथमिकता दिएको भन्दै प्रशंसा गरेका थिए।



लोकपाटी न्यूज

