काठमाडौं। फागुन २१ गते (शुक्रवार)देखि विक्री खुला भएको ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने बुधवार अन्तिम दिन रहेको छ। मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले छिटो अवधिभित्रै विक्री बन्द गर्न लागेको हो। मंगलवार साझसम्म यस कम्पनीको आईपीओ खरीदका लागि १६ लाख ४ हजार १४९ जनाले आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ।
यी आवेदकहरुबाट ३ करोड ४१ लाख २१ हजार ७८० कित्ताको खरीद माग भएको सिडिएससीको भनाइ छ। जुन मागभन्दा ५ दशमलव ७४ गुणा बढी हो। कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ६६ लाख कित्तामध्ये ५९ लाख ४० हजार कित्ता मात्र सार्वजनिक निष्कासन गरेको हो। कुल कित्तामध्ये ५ प्रतिशत दरको ३ लाख ३३ हजार कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषको लागि सुरक्षित राखेको छ।
ऊक्त आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ। विक्री प्रबन्धकसँगै आस्बा सेवा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ।
कम्पनीको यस आईपीओलाई केयर रेटिङले वित्तीय दायित्व समयमै पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित अवस्थाको संकेत गर्ने केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ प्रदान गरेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने तोकिएको चुक्तापूँजी २ अर्ब कायम गर्न कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्न लागेको हो।
हाल ७० प्रतिशत संस्थापक तर्फबाट चुक्ता भएको पूँजी १ अर्ब ५४ करोड रहेको कम्पनीको आईपीओ निष्कासन पश्चात चुक्तापूँजी २ अर्ब २० करोड पुग्नेछ। कम्पनीको अपरिस्कृत वित्तिय विवरण अनुसार गत आर्थिक वर्ष ०७६र७७ सम्म प्रतिशेयर नेटवर्थ १३२ दशमलव ९४ र प्रतिशेयर आम्दानी १२ दशमलव ६५ रहेको छ। यस अवधिसम्म कम्पनीको खुद नाफा २८ करोड ६४ लाख १ हजार रहेको छ।



लोकपाटी न्यूज