२५५१५.०३ विन्दुमा नेप्से, ५ अर्ब ६९ करोडभन्दा बढीको शेयर कारोबार

Nepse mathi
लोकपाटी न्यूज

काठमाडौँ। पछिल्लो केही समय यता ओरालो लागिरहेको नेप्से परिसूचक, यस साताको दोस्रो कारोबार दिन भने बढेर बन्द भएको छ।घिल्लो कारोबार दिनको तुलनामा ४० अंक अर्थात् १ दशमलव ६४ प्रतिशतले वृद्धि भएको हो। कारोबार आएका २०९ ओटा कम्पनीको १ करोड १८ लाख ३८ हजार ४८८ कित्ता शेयरको ५ अर्ब ६९ करोड २३ लाख १६ हजार ८३१ बराबरको शेयर खरीदविक्री भएको छ।

अघिल्ला दुई कारोबार दिनमा भएको उच्च गिरावट पनि यस दिन बजार बढेकोले यसलाई केही लगानीकर्ताहरुले करेक्सनपछिको ‘बाउन्स ब्याक’ को रुपमा लिएका छन्।सोमबार नेप्से परिसूचक ४०.६४ अंक बढेर २५१५.०३ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ६.४७ अंक, फ्लोट इण्डेक्स २.८४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१५ अंक बढेको छ।

नेप्से उकालो लागेपनि यस दिन भोल्यूम अर्थात कारोबार रकम भने घटेको छ। यस दिन बजारमा २०९ कम्पनीको ७० हजार ३३९ पटकको कारोबारमा ५ अर्ब ६९ करोड २३ लाख रुपैयाँ बराबरको १ करोड १८ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। गत सातासम्म दैनिक औषतमा करिब ८ अर्बको कारोबार भइरहेको बजारमा यस दिनको भोल्यूमलाई कम नै मानिएको छ।

यस दिन कारोबारमा आएका १३ वटै उपसमूहका परिसूचकहरु बढेका छन्। जसमध्ये ब्याजार उपसमूहको परिसूचक सर्वाधिक ३.३२ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन होटल तथा पर्यटन, वित्त र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, जलविद्युत, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ४४ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन शिखर इन्स्योरेन्सको ३० करोडा रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

कारोबारमा आएको चन्द्रागिरी हिल्सको शेयरमूल्य यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ४१ रुपैयाँ बढेर ४५५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। त्यसैगरी, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ८.१२ प्रतिशत बढेको छ। यस दिन कुनै पनि कम्पनीको शेयरमूल्य २ प्रतिशतभन्दा बढी घटेको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्