काठमाडौं। ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ६६ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ।
कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। बोर्डबाट स्वीकृती पाएसँगै कम्पनीले ६६ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। विक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्व ५४ करोड रहेको छ। आईपीओ निष्कासन पछि पूँजी २ अर्ब २० करोड पुग्नेछ। कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुनलामा चालू आवको सोही अवधिमा ५६ प्रतिशत वृद्धि भएको छ।
गत आवको दोस्रो त्रैमासमा ६ करोड ८९ लाख नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गरेर १० करोड ७८ लाखभन्दा बढी पुर्याएको छ।
कम्पनीको आम्दानी चालू आवको दोस्रो त्रैमासमा ५४ प्रतिशतले वृद्धि भएकाले नाफामा वृद्धि भएको हो। सोही अवधिमा कम्पनीले १ अर्ब ४४ करोड ५४ लाख बीमाशुल्क आर्जन गरेको छ।
यो बीमाशुल्क गत आवको दोस्रो त्रैमासको तुलनामा ९२ प्रतिशतले वृद्धि भएका हो। कम्पनीले गत आवको दोस्रो त्रैमासमा ७५ करोड १३ लाख बीमाशुल्क आर्जन गरेको थियो।
चुक्तापूँजी १ अर्ब ५४ करोड रहेको कम्पनीले जगेडा कोषमा ४८ करोड २४ लाखभन्दा बढी सञ्चित गरेको छ। चालू आवको दोस्रो त्रैमासमा कम्पनीको जीवन बीमा कोषमा २ अर्ब ९१ करोड ७९ लाख जम्मा भएको छ। सोही अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १४ र प्रतिशेयर नेटवर्थ १३४ दशमलव ८१ रहेको छ।



लोकपाटी न्यूज