काठमाडौं। ६ महिनामा शतप्रतिशत बढी दोस्रो बजारमा सेयर बढेको नेपाल टेलिकमको नाफा ३३ प्रतिशतले घटेको छ।
नेपाल टेलिकमले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधीको वित्तीय विवरण अनुसार टेलिकमको नाफा ३३ प्रतिशतले घटेको छ। नेपाल टेलिकमले पुस मसान्तसम्ममा ३ अर्ब ३२ करोडले नाफा गरेको छ । अघिल्लो वर्ष टेलिकमको नाफा ४ अर्ब ९३ करोड थियो।
टेलिकमको आम्दानीको मुख्य स्रोत नै घट्दा नाफा घटेको हो। टेलिकमले ६ महिनामा ग्राहकबाट गरेको आम्दानी १७ अर्ब ७२ करोड छ भने अन्य आम्दानी २ अर्ब ८५ करोड छ। अघिल्लो वर्ष १८ अर्ब ग्राहकबाट र ३ अर्ब ८८ करोड अन्य आम्दानी गरेको थियो।
भ्वाइसबाट हुने आम्दानी घट्दै गएपछि सेयर बजारमा सूचिकृत सबैभन्दा बढी पूँजीकरण भएको टेलिकमको नाफा भने हरेक वर्ष घट्दो क्रममा छ।
सेयर बजारमा भने यसको असर देखिएको छैन । ६ महिना अगाडि टेलिकमको सेयर मूल्य दोस्रो बजारमा ६६६ रुपैयाँ थियो। बिहीबार कारोबार बन्द हुँदा यसको सेयर मूल्य प्रतिकित्ता १४१० रुपैयाँ पुगेको छ । १४५० रुपैयाँसम्म यसको सेयर मूल्य पुगेको थियो।
टेलिकमले गतवर्षको नाफाबाट लाभांश भने वितरण गरेको छैन। नगद लाभांश मात्र दिइरहेको टेलिकमले गतवर्षको नाफबाट बोनस सेयर दिने हल्ला बजारमा छ।
टेलिकमको वार्षिक उत्सवमा संचारमन्त्री पार्वत गुरुङले सर्वसाधारणको हिस्सा बढाउने बताएका थिए। यसको लागि एफपीओ आउने अनुमान गरिएको छ।



लोकपाटी न्यूज