काठमाडौं। नेपाल राष्ट्र बैंकले २ अर्ब बराबरको नागरिक बचत पत्र २०८२ ‘क’ माघ २७ गते मंगलबारदेखि बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले वार्षिक ९ प्रतिशत ब्याज दिने गरी उक्त बचतपत्र बिक्री गर्न लागेको हो। ब्याजमा कर लाग्ने पनि बैंकले जनाएको छ। ब्याजको भुक्तानी ६-६ महिनामा हुनेछ। नागरिक बचतपत्र ५ वर्षे अवधिको हुनेछ। यसमा घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निशेष भाग जाने अंकमा खरिद गर्न पाउने सीमा निर्धारण गरिएको छ।
बैंकका अनुसार यस बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन्। बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन सकिनेछ। आगामी माघ २७ गतेदेखि १८ गतेसम्म बिक्री गरिने यस बचतपत्रको अन्तिम निष्कासन मिति भने आगामी फागुन २५ गतेका लागि तोकिएको छ । बैंकले २०८२ फागुन २५ गते साँवा भुक्तानी हुने मिति तय गरेको छ।
बचतपत्र खरिद गर्न चाहनेले नेपाली नागरिकता प्रमाणपत्र, नाबालकको हकमा बचतपत्र खरिद गर्ने भएमा संरक्षको नागरिकता र जन्मदर्ताको प्रतिलिपि तथा दुईप्रति पासपोर्ट साइजको फोटोसमेत पेश गर्नुपर्नेछ। नेपाल राष्ट्र बैंकका उपत्यकाका बाहिरका कार्यालय, सरकारी ऋणपत्रको प्राथमिक तथा दोस्रो बजार कारोबार गर्न इजाजतपत्र लिएका बजार निर्माताले उक्त बचतपत्रको बिक्री वितरण गर्न पाउनेछन्।



लोकपाटी न्यूज

