काठमाडौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा निष्कासन गर्न लागेको साधारण शेयर (आईपीओ) निष्कासन मिति परिवर्तन गरेको छ।कम्पनीले यसअघि माघ २८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएकोमा उक्त मिति परिवर्तन गरेर माघ ३० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको हो। आज एक सूचना जरी गर्दै कम्पनीले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले प्राविधिक कारण देखाउँदै कम्पीलाई मिति परिवर्तन गर्न गत २२ गते पत्रचार गरेको भन्दै माघ ३० गते शुक्रवारबाट आईपीओ जारी गर्ने जानकारी दिएको छ।
माघ ३० गतेदेखि खुला गरिएको आईपीओमा आवेदन दिने अन्तिम मिति छिटोमा फागुन ४ र ढिलोमा फागुन १४ गतेसम्म रहेको छ। कम्पनीले जारी पूँजी १० करोडको ४० प्रतिशतले हुन आउने रकम ४ करोड बराबरको प्रतिकित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो। निष्कासन गर्ने कुल शेयरमध्ये जारी पूँजीको शून्य दशमलव ५ प्रतिशत अर्थात् ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने सर्वसाधारणले बाँकी ३ लाख ७५ हजार कित्ता साधारण शेयरका लागि आवेदन दिन सक्नेछन्।
आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरोशेयर सफ्टवेयर प्रयोग गरी पनि आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी इस्यअर रेटिङ डबल बी’ प्रदान गरेको छ। उक्त रेटिङले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ। हाल कम्पनीको चुक्तापूँजी ६ करोड रहेको छ, आईपीओ निष्कासनपश्चात उक्त पूँजी १० करोड पुग्नेछ।



लोकपाटी न्यूज