काठमाडौं। ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले माघ २३ गते (आज) देखि सर्बसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) विक्री खुला गरेको छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यको ३४ लाख ९६ हजार ४०० कित्ता शेयर विक्री खुला गरेको हो ।
यसअघि आयोजना प्रभावित स्थानियलाई आईपीओ विक्री खुला गर्दा वितरण हुन नसकेको १६ लाख ८६ हजार ४०० कित्तासमेत जोडेर कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्न लागेको हो। कुल कित्तामध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानीकोषको लागि र ६९ हजार ९२८ कित्ता शेयर कम्पनीका कर्मचारीमा बाँडफाँट गरी बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न लागिएको हो।
यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म छिटोमा माघ २७ गते र ढिलोमा फागुन ७ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी बी प्लस (आईएस) रेटिङग प्रदान गरेको छ। उक्त रेटिङ्गले निष्कासनकर्ता कम्पनी वित्तीय दायितव पुरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ।
यो आईपीओ विक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ। विक्री प्रबन्धसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ। साथै मेरो शेयर सफ्टवेयर र मेरोशेयर मोवाइल एपबाट पनि आवेदन दिन सकिनेछ।
यो आईपीओ विक्री गर्न कम्पनीले गत माघ २ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो। हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४४ करोड रहेको छ। सर्वसाधारणलाई पनि शेयर विक्री गरेपछि कम्पनीको चुक्तापूँजी रू। १ अर्ब ८० करोड पुग्नेछ।
आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.१० वर्ष तथा डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १७.८९ वर्ष छ।
कम्पनीले प्रदेश नम्बर ३, दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकामा बहने खानीखोला, हनापु खोला र नाप्के खोलाको पानी मिसाइ आयोजना निर्माण गरी ४० मेगावाट क्षमताको जलविद्युत आयोजनाबाट विजुली उत्पादन गरी उद्देश्य अनुरुप २०७८ वैशाखदेखि विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने गरी विद्युत खरिद बिक्री सम्झौता भएको छ। कम्पनीको कच्चा पदार्थको स्रोतको रुपमा खानीखोला, हनापु खोला र नाप्के खोलाबाट प्राकृतिक बहावमा आधारित पानी छ।
चालिस हजार किलोवाट क्षमताको जलविद्युत आयोजनामध्ये २५ हजार किलोवाटको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने १५ हजार किलोवाट क्षमताको विद्युत आयोजनाको आगामी १ वर्षभित्रमा उत्पादन प्रारम्भ हुने कम्पनीले जानकारी दिएको छ।
त्यस्तै ट्रान्समिसन लाइनको कार्य ७० प्रतिशत सम्पन्न भइसकेको छ। उत्पादित सम्पूर्ण विद्युत् शक्ति नेपाल विद्युत प्राधिकरणले खरिद गर्ने सम्झौता भएको छ।
कम्पनीको चुक्तापुँजी १ अर्ब ४४ करोड रुपैयाँ छ। सेयर निष्कासन भएपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ८० करोड हुनेछ।



लोकपाटी न्यूज