ग्लोबल आईएमई बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ३७.३२ प्रतिशत धेरै खुद नाफा कमाएको छ। चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा बैंकले अघिल्लो वर्षको तुलनामा ६२ करोड ९२ लाख रुपैयाँ धेरै नाफा कमाएको हो।
गएको साउन देखि पुस सम्म २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले अघिल्लो वषको सोही अबधिमा १ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कोरोना कहरका बीचमा पनि बैंकले खुद ब्याज आम्दानी ४ अर्ब ७७ करोड १८ लाख रुपैयाँ र संचालन मुनाफा ३ अर्ब २३ करोड ७६ लाख कमाएको छ। बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि अघिल्लो आर्थिक वर्षको तुलनामा १७ रुपैयाँ ७७ पैसाबाट बढेर २१ रुपैयाँ ४० पैसा पुगेको छ।
१४ प्रतिशतले पूँजी बढाएको बैंकले साढे ३७ प्रतिशत नाफा बढाउँदा २० प्रतिशत बढीले प्रतिशेयर आम्दानीमा सुधार आएको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४३ करोड २० लाख रुपैयाँ कमाएको छ।
बैंकको आधार दर ९.६४ प्रतिशतबाट ६।७६ प्रतिशतमा झरेको छ। त्यसैगरी, बैंकको स्प्रेड दर ५।३१ प्रतिशतबाट ४.६९ प्रतिशतमा झरेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ६३ पैसा तथा मूल्य आम्दानी अनुपात १५.८४ गुणा रहेको छ।
समीक्षा अवधिमा बैंकको निक्षेप २ खर्ब १२ अर्ब ३१ करोड रुपैयाँबाट बढेर २ खर्ब ३४ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको कर्जा लगानी १ खर्ब ९० अर्ब ३३ करोड रुपैयाँबाट बढेर २ खर्ब ३ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। बैंकको निक्षेप करिब साढे १० प्रतिशत तथा कर्जा ७ प्रतिशत बढीले वृद्धि भएको हो। कर्जाको आकार बढेसँगै बैंकको खराब कर्जा भने बढेर १.२० प्रतिशतबाट १.७२ प्रतिशतमा उक्लिएको छ।
चुक्ता पूँजी २१ अर्ब ६३ करोड २५ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ७० करोड ८ लाख रुपैयाँ तथा शेयरधनीकोषमा १ अर्ब ५२ करोड १० लाख रुपैयाँ रहेको छ।



लोकपाटी न्यूज

