इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

लोकपाटी न्यूज

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओमा आवेदन दिने मंगलवार अन्तिम दिन रहेको छ । ढिलो अवधि छिटोमा माघ ६ गते र ढिलोमा माघ १६ गतेसम्म विक्री अवधि तोकिएपनि मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्र विक्री बन्द हुन लागेको हो ।सोमवारसम्म कम्पनीको आईपीओ खरीदका लागि १ दशमलव ८७ गुणा बढी आवेदन परिसकेको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटललका अनुसार ११ लाख ७७ हजार ९२० जना आवेदकबाट १४ करोड १९ लाख ९६ हजार ४२० कित्ता शेयर खरीदको लागि आवेदन परिसकेको छ ।

कम्पनीले रू ८ अर्ब बराबरको ८ करोड कित्तामध्य ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर माघ २ गतेदेखि सार्वजनिक निष्कासन गरेको हो। कम्पनीले कुल कित्तामध्ये ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानीकोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ ।

खरीदर्ताहरुले विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट र मेरोशेयर सफ्टवेयरसँगै मेरोशेयर एपबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको आईपीओलाई इक्रा नेपालले बैंकको वित्तीय अवस्था मध्यम रहेको संकेत गर्ने “इक्राएनपी आईआर त्रिपल बी” रेटिङ्ग प्रदान गरेको छ। अधिकृत पूँजी रू ४० अर्ब र जारी पूँजी रू २० अर्ब रहेको कम्पनीको हाल चुक्तापूँजी रू १२ अर्ब रहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्