काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा आएको बढोत्तरीसँगै सुनचाँदीको मूल्य फेरि उकालो लागेको छ। अघिल्लो दिनभन्दा ११ सय रूपैयाँ बढ्दै मंगलबार प्रतितोला ९६ हजार ४ सय रूपैयाँ पुगेको छ।अन्तर्राष्ट्रिय बजारमा पुनः बढेर कारोबार हुन थालेपछि सुन महंगिन पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार प्रतिऔंस १९२३.६० डलरमा कारोबार भएको अन्तर्राष्ट्रिय बजारमा मंगलबार बढ्दै १९३८.५६ डलर प्रतिऔंस पुगेको छ।
कोभिड(१९ को खोप विकास, परीक्षण, प्रयोग र अमेरिकी राष्ट्रपतीय निर्वाचनताका ओरालो लागेको भाउ अहिले पुनः बढ्न थालेको हो। सुन लगानी सुरक्षित गर्न चाहनेको रोजाइमा पर्छ। युरोपका बिभिन्न मुलुकमा कोभिड-१९ को नयाँ भाइरस देखिएपछि पुनः सतर्कतामा कडाइ छ। पुनः कोभिडको प्रभाव बढ्दा लगानीकर्ता सुनचाँदीतर्फ आकर्षित भएको बजारको अवस्थाले देखाएको छ।
नेपाली बजारमा आइतबार प्रतितोला ९४ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुन सोमबार ९५ हजार ३ सय रूपैयाँ पुगेको थियो। चालु महिनाको २१ दिनको अन्तरालमा सामान्य गिरावट देखिए पनि पुनः क्रमिक उकालो लागेको सुनको भाउ ३ हजार ३ सय रूपैयाँ बढिसकेको छ। चालु महिना प्रारम्भ पुस १ मा प्रतितोला ९३ हजार १ सय रुपैयाँ थियो।
गत शुक्रबार निर्धारण भएकै कारोबार मूल्य ९४ हजार ५ सय रूपैयाँ प्रतितोला आइतबारसम्म स्थिर थियो। त्यसअघि बिहीबार प्रतितोला ९४ हजार १ सय रूपैयाँ प्रतितोला थियो। चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। अघिल्लो दिनभन्दा १० रूपैयाँ बढेको चाँदी मंगलबार प्रतितोला १३ सय ३५ पुगेको छ। गत बिहीबारको कारोबार मूल्य प्रतितोला १३ सय आइतबारसम्म स्थिर थियो। २५ रूपैयाँ बढ्दै सोमबार १३ सय २५ रूपैञाँ पुगेको थियो।
अन्तर्राष्ट्रिय बजारमा गत शुक्रबार प्रतिऔंस २६।३८ डलरमा कारोबार भएको चाँदी सोमबार २७।०७ डलरमा उक्लिएको थियो। मंगलबार पुनः बढ्दै कारोबार मूल्य २७.२३ डलर प्रतिऔंसमा पुगेको छ।



लोकपाटी न्यूज