कारोबार पहिलो दिन नेप्से परिसूचकले नयाँ अलटाइम हाइ रेकर्ड बनाएको छ। यस दिन नेप्से ८८.१२ अंक बढेर २१७५.३९ विन्दुमा पुगेसँगै नेप्सेले नयाँ अलटाइम हाइ रेकर्ड बनाएको हो।
आइतबार नेप्सेले अघिल्लो दिन अर्थात गत बिहीबारको अलटाइम हाइ रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएको हो। गत बिहीबार नेप्से २०८७.२७ विन्दुमा बन्द भएको थियो। जुन त्यो दिनसम्मको अलटाइम हाइ थियो।
यस दिन सेन्सेटिभ इण्डेक्स १७.१८ अंक बढेर ४१५.८८ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स ५.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.०७ अंक बढेको छ।
त्यसैगरी, यस दिन नेप्सेले इन्ट्रा डे अलटाइम हाइ रेकर्ड पनि बनाएको छ। नेप्सेले आइतबार यस अघिको इन्ट्रा डे अलटाइम हाइ २१२८.८५ विन्दुलाई तोडेर २१७५.९६ को नयाँ रेकर्ड बनाएको हो।
नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार देखिएको छ। यस दिन २१२ कम्पनीको ५४ हजार ६९८ पटकको कारोबारमा ६ अर्ब ३४ करोड ४० लाख १७ हजार रुपैयाँ बराबरको १ करोड ४० लाख २६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। गत बिहीबार नेप्सेमा ५ अर्ब ७० करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो।
यस दिन नेप्सेसँगै कारोबारमा आएका सबै उपसमूहको परिसूचक बढेका छन्। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९.६४ प्रतिशत बढेको छ भने अन्य उपसमूहको परिसूचक ६.१९ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकिङ्ग, उत्पादन तथा प्रशोधन र जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन विकास बैंक, हाइड्रोावर, निर्जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।
यस दिन कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ५० करोड ९५ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन प्राइम कमर्शियल बैंकको ५० करोड २६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
यस दिन ५ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। हिमालयन डिष्टिलरी, साल्ट ट्रेडिङ्ग कर्पोरेशन, नेपाल पुनर्बीमा कम्पनी र प्राइम कमर्शियल बैंकको साधारण तथा संस्थापक शेयर यस दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, कुमारी बैंक, गुराँस लघुवित्त र नेशनल माइक्रोफाइनान्सको शेयरमूल्य यस दिन ९ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबारमा आएको राधी विद्युत कम्पनीको शेयरमूल्य भने यस दिन सर्वाधिक ४.२९ प्रतिशत घटेको छ। त्यस्तै, शिवश्री हाइड्रोपावर र युनाइटेड फाइनान्सको शेयरमूल्य यस दिन ३ प्रतिशतभन्दा बढी घटेको छ।




लोकपाटी न्यूज