काठमाडौं। नेपाल आयल निगमले नयाँ योजनाहरु अघि सारेर काम अगाडि बढाएको छ। महत्वपूर्ण योजनाका रुपमा हेरिएको मोतीहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको सफलतापछि निगमले अन्य योजनाहरुमा काम थालेको छ। अहिले निगमले मुख्य ६ योजनाहरु अघि सारेर काम अगाडि बढाइरहेको निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए।
निगमले जनकपुरमा एलपीजी ग्यासका लागि भण्डार गृह बनाउने भएको छ। अहिलेसम्म निगमसँग एलपी ग्यासको भण्डारण गृह रहेको छैन्। त्यस्तै पोखरामा ५-५ हजार किलोलिटरको दुई फ्युल डिपोको निमार्ण कार्य सुरु भइसकेको छ। यस्तै, निमार्णाधीन पोखरा र गौतमवुद्ध विमानस्थलमा पनि आधुनिक हवाइ इन्धन डिपो बनाउने योजनामा निगमले काम अगाडि बढाएको छ। अत्याधुनिक कर्पोरेट अफिस बनाउने तयारीमा समेत निगम रहेको छ।
यस्तै अमलेखगञ्जको पाइपलाइनलाई चितवनसम्म विस्तार गर्ने र सिलगुडीबाट झापासम्म अर्का अन्तरदेशीय पाइपलाइन निमार्ण गर्ने लगायतका योजनामा निगमले गृहकार्य थालेको छ। सिलगुडीबाट झापासम्मको रुट पहिचानको लागि सर्वे भइसकेको छ। निगमलाई अझ व्यवस्थित, पारदर्शी, बनाउन सूचना प्रबिधिको सहयोग लिएर अटोमेशनको काम अगाडि बढाएको छ।
डेढ अर्ब जोगियो
मोतीहारी-अमलेखगञ्ज पाइपलाइनबाट इन्धन ढुवानी हुन थालेपछि चुहावट, प्रदुषण, ढुवानीमा ढिलाइ हुने समस्या घटेको छ। यति मात्रै हैन्, यसै पाइपलाइनबाट इन्धन आपुर्ति सुरु गरेपछि १ वर्षमा १ अर्ब ४७ करोड रुपैयाँ ढुवानी खर्च समेत जोगिएको निगमको दावी छ। १५ महिनादेखि सञ्चालनमा रहेको पाइपलाइनले निगमको इन्धन ढुवानीका लागि हुने भाडा एवं अन्य खर्च गरी साढे दुई अर्ब रुपैयाँ जोगिएको निगमले जानकारी दिएको छ। अहिलेसम्म पाइपलाइनबाट करिब ७८ करोड लिटर डिजेल ढुवानी भएको छ। वार्षिक २० लाख हजार किलोलिटर ढुवानी क्षमता रहेको पाइपलाइनबाटै ढुवानी अझैं बढी गर्ने निगमको तयारी छ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको माहामारीले सबै क्षेत्रमा ठूलो क्षति गरायो। मुख्यरुपमा लकडाउनले सवारी साधन ठप्प रहँदा आयल निगमको बिक्री निक्कै नै कमी भयो। आयातमा पनि कमि आयो। तर पनि व्यवस्थापनलाई चुस्त राखेको कारण उपभोक्ताले कमी महसुश गर्न नपाएको निगमको दावी छ। आर्थिक वर्ष २०७६/७७ को पछिल्ला चार महिना (गत चैतदेखि असारसम्म) मा निगमको बिक्री करिब करिव शुन्यमा नै झर्यो। तर, पनि निगमले आर्थिक वर्ष २०७६/७७ मा १२ अर्ब ८७ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
भारतबाटै पेट्रोलियम पदार्थ ल्याएर भारतले उसका उपभोक्तालाई दिने भन्दा सस्तो दरमा नै नेपाली उपभोक्तालाई निगमले पेट्रोलियम पदार्थ बिक्री बितरण गरिरहेको जनाएको छ। निगमले बिगत ५ वर्षयता निरन्तर नाफा कमाउँदै आएको छ। अन्तर्राष्ट्रिय बजार अनुसार मूल्यमा घटबढ भइरहे पनि निगमले यसरी निरन्तर प्रगति गर्नुमा कर्मचारी एवं व्यवस्थापन पक्षको ठूलो मेहनत रहेको निगम बताउँछ। आर्थिक वर्ष २०७२/७३ मा भारतीय नाकाबन्दी हुँदा समेत निगमले नाफा कमाएको थियो। सो वर्ष निगमले १९ अर्ब ३६ करोड नाफा कमाएको थियो।
बोनस पाउन सकस
पाँच वर्षदेखि निगम नाफामा गए पनि ऐनले तोकेको बोनस कर्मचारीले पाउन सकेका छैनन्। विसं २०७४ मा संसोधनपछि निगमले कुल नाफाको १ प्रतिशत रकम कर्मचारीलाई बाँड्न पाउने ऐनमा व्यवस्था रहेको छ। जस अनुसार आर्थिक वर्ष २०७४/७५ ४ करोड र २०७५/७६ को करिब ९ करोड रुपैयाँ बोनस कर्मचारीले पाउनु पर्नेछ। बोनसका लागि छुट्याइएको सबै रकम पनि निगमका कर्मचारीले नपाउने निगमका अधिकारी बताउँछन्।
बोनस भनेर छुट्याइएको रकममध्ये प्रत्येक कर्मचारीले दर्जा अनुसार वार्षिक ४५ देखि ६० हजार रुपैयाँ पाउनेछन्। बाँकी बचेको मध्ये ८० प्रतिशत रकम सरकारी कर्मचारी कल्याणकोषमा जम्मा हुने निगमका एक अधिकारीले बताए। बाँकी बचेको २० प्रतिशत भने, निगमकै कर्मचारीहरुको कल्याणकारी कोषमा जम्मा हुनेछ।
कर्मचारीहरुको मेहनतले निगम नाफामा गएको हुँदा बोनस पाउनु पर्ने प्रवक्ता उपाध्याय बताउँछन्। तर, अहिले पछिल्ला २ वर्षको १ प्रतिशत नाफा त्यसमा पनि वार्षिक ४५ देखि ६० हजार मात्रै बाड्न भने सहज छैन्। यस्तो कोभिडको कारण अफ्यारो परिस्थितिमा समेत रातदिन नभनि कर्मचारी खटेका छन्। यस्तो अवस्थामा ऐनले व्यवस्था गरेको बोनस नदिने हो भने कर्मचारी निरास हुने निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले बताए। तर कतिपयले भने पेट्रोलियम पदार्थमा एकाधिकार जमाएको निगमले कर्मचारीहरुलाई बोनस बाड्न नहुने बताउदै आएका छन्।
निगमले के दियो ?
पछिल्लो मूल्य अनुसार नेपालमा भारतको भन्दा ३७ रुपैयाँ सस्तोमा डिजेल र ३१ रुपैयाँ सस्तोमा पेट्रोल बेचिरहेको प्रवक्ता उपाध्यायको दावी रहेको छ। ‘उपभोक्तालाई चाहिने पहिलो कुरा भनेकै मूल्य र गुणस्तर हो,’ उनले भने। भारतबाटै ल्याएको इन्धन भारतको भन्दा सस्तो मूल्यमा निगमले बिक्री गरिरहेको छ। यसबाहेक इन्धनको गुणस्तरको विषयमा पनि निगमले स्तरीयता रहेको बताएको छ। पछिल्लो समय अमलेखगञ्ज पाइपलाइनबाट इन्धन ढुवानी गर्दा झनै गुणस्तरीय इन्धन बजारमा आपूर्ति हुने गरेको बताए।
नाफा कसरी बढ्यो ?
अघिल्ला वर्षको नाफाको ब्याज, पाइपलाइन हुँदा बचेको ढुवानी खर्च र गत वर्ष ग्याँसमा भएको बचतले लकडाउनमा इन्धन खपत कम हुँदा पनि यो वर्ष पनि नाफामा निगम गएको निगमले बतायो। अमलेखगञ्ज पाइपलाइनबाट इन्धन ढुवानी हुँदा एक वर्षमा करिब १ अर्ब ४७ करोड जोगिएको छ। यस्तै १ अर्ब ७७ करोड ब्याज आम्दानी र करिब ३ अर्ब रुपैयाँ ग्यासबाट भएको बचतले यस वर्ष पनि निगमलाई फाइदामा जान मद्दत पुगेको हो।



लोकपाटी न्यूज