काठमाडौं,५ पुष, संसद विघटन गर्न मन्त्रीपरिषद्ले सिफारिस गरेसँगै शेयर बजारमा यसको नकारात्मक प्रभाव परेको छ। साताको पहिलो दिन आइतबार खुलेको बजार परिसूचक राजनीतिक अस्थिरताको संकेतसँगै घटेको हो।
विघटनको समाचार बाहिरिनुअघि प्रिओपनिङ सेसनमा १४ अंकले बढेको बजार नियमित कारोबार सुरु भएसँगै करिब ९० अंकले घटेको थियो । त्यसपछि बजार केही सुधार भए पनि फेरि परिसूचकले नकारात्मक बाटो समातेको हो। दिउँसो १ः २२ बजेसम्म नेप्से ५२ अंकले घटेर १९७९ अंकमा कायम भएको छ। सो बेलासम्म उत्पादनबाहेकका सबै समूह ओरालो लागेका छन्।
बजार घटिरहँदा हिमालय डिस्टिलरीको मूल्य भने १० प्रतिशतले बढेको छ। माउन्टेन इनर्जीको मूल्य ९ प्रतिशतले घटेको अवस्था छ। राजनीतिक घटनाक्रमका कारण यस दिन बजारमा प्रभाव परेको हो।
नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक कलहसँगै सरकारमा संकट देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएर संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन् । प्रधानमन्त्रीको यो कदमको चौतर्फी विरोध भइरहेको छ ।



लोकपाटी न्यूज