काठमाडौ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले माइक्रो म्यानेजमेन्ट गर्यो भन्ने आरोपको खण्डन गरेका छन्। उनले आफ्नो नीतिमा कुनै परिवर्तन नभएको बताएका छन्।
बैंकर्स संघको वार्षिक साधारणसभाका अवसरमा बोल्दै गभर्नर अधिकारीले राष्ट्र बैंकको नीतिमा कुनै बिचलन नआएको र बजारले व्यवहारमा उतारेका कतिपय विकृतिलाई सम्बोधन गर्न केही इक्विपमेन्ट तथा इन्स्ट्रिुमेन्टहरुलाई चलाएको विषयलाई बैंकले नीति नै परिवर्तन गर्यो भन्न नमिल्ने उनले बताएका छन् ।
गभर्नर अधिकारीले असहज परिस्थीतिमा पनि राज्य लिएको नीति र राष्ट्र बैंकले दिएको सहुलियतलाई गलत भावले बैंकर्स तथा सरोकारवालाहरुले बुझ्न नहुने बताएका छन्। कोरोनाले थलिएको अर्थतन्त्रलाई पुनरउत्थान गर्न राष्ट्र बैंकले लिएको करेक्टिभ एक्सनलाई सरोकारवालाहरुले गलत रुपमा बुझ्दा समस्या देखिएको उनको भनाई थियो।।
उनले पछिल्लो समयको राजनीतिक विकासको कारणले कतिपय विकासका कुराहरुलाई असर पार्न सक्ने भन्दै बैंकिङमा असर हुन नदिन अझ सुरक्षित भएर काम गर्नुपर्ने बताए। ‘राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिकको समीक्षा गरिहँदा बजारमा भएका र बजारले व्यवहारमा उतारेका कतिपय विकृतिहरुलाई सम्बोधन गर्न केही इक्विमेन्टहरुलाई चलाएको हो । यहि कुरालाई यहाँहरुले नीति नै परिवर्तन गर्यो भनेर बजारमा म्यासेज दिनु ठिक होइन्,’ उनले थपे, ‘हाम्रो नीति पोलिसी कन्सिस्टेन छ, उपकरणहरुको प्रयोग आवश्यकता अनुसार तलमाथि गर्नु पर्छ।’
उनले भने- ‘हामीलाई कुनै किसिमको माइक्रो म्यानेजमेन्ट गर्नु छैन । त्यहाँभित्र छिरेर बैंकको व्यवस्थापन गर्नु छैन । हाम्रो पहिलो प्राथमिकता बैंकको साउण्डनेश हो । बैंकले सुरक्षित हिसावले आफ्नो काम कार्वाही गर्नुपर्छ ।’ देशको आर्थिक अवस्थाको बारेमा बोल्दै गभर्नर अधिकारीले बाह्य क्षेत्र एकदमै उत्साहजनक रहेको र यसले भविष्यमा काम गर्न ठूलो आधार दिएको उल्लेख गरे।
उनले मूल्यवृद्धि दर नियन्त्रणभित्र रहेको, चालु खाता र शोधनान्तर अवस्थामा बचतमा रहेको तथ्यांक प्रस्तुत गर्दै विदेशी मुद्राको सञ्चिति पनि निकै राम्रो अवस्थामा रहेको बताए। उनले बैंकहरुको निक्षेपसँगै बढेको ऋणका बारेमा चर्चा गरेका थिए।
उनले सुरुवातमा ऋण सुस्त भएपनि अहिले निकै राम्रो वृद्धि रहेको बताउदै राज्यको प्राथमिकतामा रहेको राष्ट्रिय उत्पादन र उत्पादकत्वमा लगाउन निर्देशन पनि दिए। कार्यक्रममा कार्यक्रममा बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले राष्ट्र बैंकको ‘माइक्रो म्यानेजमेन्ट’ गर्दा बैंकहरुमा असहज परिस्थीति सिर्जना भएको बताएका थिए।
त्यस्तै सोही कार्यक्रममा बोल्दै संघका अध्यक्ष भुवन दहालले राष्ट्र बैंकले लिएको नितिका कारण अर्थतन्त्र पुनरउत्थानको क्रममा रहेको उल्लेख गरे।



लोकपाटी न्यूज

