काठमाडौं। ब्रोकर कमिसन दरमा पुनर्विचार गर्न माग गर्दै ब्रोकर व्यवसायीहरु नेपाल धितोपत्र बोर्ड पुगेका छन्।बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले लिने कमिसन नघटाई आफूहरुको कमाईमा मात्रै धावा बोलिएको भन्दै ब्रोकर असन्तुष्ट बनेका हुन्। बोर्डले गत शुक्रबार सेयर कारोबारमा लाग्ने कमिसन ३३ प्रतिशतले घटाएको थियो । कमिसन घटाउँदा बोर्ड र नेप्सेले लिने रकम घटाउनु पर्नेमा आफूहरुको व्यवसाय चल्नै नसक्ने गरी घटाएको उनीहरुको भनाई छ। बोर्डले आज आइतबारदेखि लागू गरेको ब्रोकर कमिसन दरमा पुनर्विचार गर्न माग राख्दै आफूहरुले धितोपत्र बोर्डमा ज्ञापनपत्र बुझाएको स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले जानकारी दिए।
बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई भेटेर एसोसिएसनका पदाधिकारीले आफुहरुसँग माग गरिएको सुझावलाई बेवास्ता गर्दै ब्रोकर कमिसन घटाइएको प्रति असन्तुष्टि व्यक्त गर्दै ध्यानाकर्षण गराएका हुन्। बोर्ड समक्ष बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ, ‘धितोपत्र दलाल व्यवसायीहरुको एकमात्र आम्दानीको स्रोत रहेको ब्रोकर कमिसनमा ३३‘% देखि ६०% सम्मले कटौती गरिएको निर्णयले हामी व्यवसायी अचम्मित, त्रसित र दुखी भएका छौं ।’
साथै, उनीहरुले सेयर खरिदबिक्री गरिएको रकमको सुनिश्चितताका लागि राफसाफ प्रत्याभूति कोष, अक्सन मार्केट लगायतको विकाससँगै ब्रोकरलाई प्रोप्राइटरी ट्रेडको व्यवस्था गर्न पनि बोर्डसँग माग गरेका छन्। त्यसैगरी, इन्ट्रा डे कारोबारको सुरुवात, ऋणपत्र कारोबारमा सहजता, सूचीकृत कम्पनीहरुको क्षेत्रगत विविधीकरण, सेक्युरिटिज लेण्डिङ एण्ड बरोइङ तथा सर्ट सेल खुला गर्न पनि उनीहरुले माग गरेका छन् ।
बोर्डले ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४ प्रतिशत, ५० हजार रुपैयाँभन्दा बढीदेखि ५ लाख रुपैयाँसम्म ०.३७ प्रतिशत, ५ लाख रुपैयाँभन्दा बढीदेखि २० लाख रुपैयाँसम्म ०.३४ प्रतिशत, २० लाख रुपैयाँभन्दा बढीदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.३ प्रतिशत र १ करोड रुपैयाँभन्दा बढीको कारोबारमा ०.२७ प्रतिशत कमिसन लाग्ने नयाँ व्यवस्था गरेको छ ।
यस्तो कमिसन सेयर कारोबार गर्दा लगानीकर्तासँग ब्रोकरले लिने गर्छन् । तर, ब्रोकरले लिएको रकमबाट कमिसन रकमको २० प्रतिशत नेप्सेले र ६ प्रतिशत बोर्डले लिने गर्छ । यस्तै, बोर्डले सेयर कारोबारमा कारोबार रकमको ०.०१५ प्रतिशत रकम कारोबार शुल्क लिने गर्छ ।
सेयर कारोबारमा लाग्ने कमिसन रकम ब्रोकरले कटाएर लिने भएकोले सबै रकम ब्रोकरले खाए जस्तो देखिने गरेपनि यथार्थ त्यस्तो नभएको ब्रोकरहरुको भनाई छ । अहिले तोकिए अनुसारको कमिसन रकमले आफूहरु व्यवसाय चलाउन नसक्ने उनीहरुले बताउँदै आएका छन् ।



लोकपाटी न्यूज